March 21st, 2025

बैंकका कर्मचारीलाई तार्गेट पुर्‍याउनै कठिन

बैंकिङ खबर/ खराब कर्जा बढ्दा बैंकका कर्मचारीलाई तार्गेट पुर्‍याउनै कठिन भएको छ । मुलतः नगद जम्मा गर्ने र जम्मा भएको रकमलाई ऋण लगानी गर्ने बैंकहरुको तार्गेट रहेको हुन्छ । प्राइभेट बैंकहरुमा एउटा बैंकको ग्राहक अर्कोमा नजाओस् भनेर ग्राहकलाई छिटो छरितो सेवा दिनुपर्छ । छिटो छरितो सेवा दिने बहानामा कर्मचारीहरु बढी नै खटिनुपर्ने हुन्छ ।

नाफा कमाउनु प्राइभेट बैंकलाई अनिवार्य हुन्छ । नभए बैंक घाटामा जान्छ, अनि तलब र बोनस पाउँदैनन् । त्यसैले कर्मचारीलाई यत्तिसम्म कमाउने र यति कमाउन यति नगद डिपोजिट पुर्याउने, यति कर्जा दिने भनेर माथिबाट नै टार्गेट दिएको हुन्छ ।

बैंकका कर्मचारीलाई माथिबाट डिपोजिट भएन, यति पुर्याउनु पर्यो, लोन भएन, यति बढाउनु पर्यो भनेर दिनरात प्रेसर आउने गरेको छ । ऋणीले लिएको साँवा ब्याज उठाउन हम्मेहम्मे पर्दा बैंकरमाथि तनाव बढ्दै गएको बैंकका कर्मचारी बताउँछन् । अधिकांश बैंकहरूको खराब कर्जा ५ प्रतिशतनजिक छ ।

बैंकहरूको खराब कर्जा ५ प्रतिशतमाथि पुगेको भन्दै राष्ट्र बैंकले कर्मचारीको रकम लगानी गर्ने व्यवस्था ५ प्रतिशतबाट ८ प्रतिशत पुर्याएको छ । खराब कर्जा घटाउन यसबेला बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरु नै दौडधुपमा छन्।

ऋणीहरुलाई प्रत्यक्ष भेटर कर्जाको साँवा ब्याज भुक्तानी गरिदिनका लागि आग्रह र एक तहसम्म दबाब नै पनि दिइरहेका छन्। पुँजीकोष सहज रहेका र खराब कर्जा न्यून भएकाबाहेक अधिकांश बैंकका सीईओहरू असुली बढाउन देशदौडाहामा छन्।

असुली बढाउन प्रयास गर्नुका साथै बैंकका सीईओहरू धितो बिक्री तथा लिलामी प्रकृयाका लागि पनि देशभर यात्रा गरिरहेका हुन्। तर बैंकका प्रमुखहरूको ताकेताबाबजुत न त ऋणको साँवा ब्याज नै उठ्छ न त गैरबैंकिङ सम्पत्ति बिक्री नै भएको छ।

भनसुनबाट ऋण लगेकाहरुको धितो छैन । जसका कारण सहजै ऋण असुल हुन सक्दैन । बैंकको पेलानमा परेका कर्मचारीहरु सहन नसकी राजीनामा दिने, अन्य पेसा व्यवसाय गर्ने र नभए विदेश पलायन हुने स्थिति छ ।

अहिले बैंकका काम गर्ने रुची गर्ने मात्रै होइन बैंकमा जागिर गरिरहेका व्यक्तिसमेत टिक्ने क्रम घट्दो छ । प्रायः ३० वर्षभन्दा कम उमेर समूहका कर्मचारीहरुले राजीनामा गर्दै विदेश जाने चाहना राख्न थालेकोे विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरु नै बताउँछन् ।

वार्षिक १५ लाख रुपैयाँसम्मको सुविधा प्राप्त गर्ने अधिकृत तहका कर्मचारीले पनि राजीनामा गर्दै विदेशी जान खोजेका छन् । बैंकरसंघका अनुसार गत वर्षमात्रै बैंकमा काम गरिरहेका ३५ सय भन्दा बढी कर्मचारी जागिर छाडेका छन् ।

बैंक वित्तीय संस्थाले विगतमा कर्जा लगानी गर्न दबाब दिएको अहिले व्यवसायीक वातावरण विग्रेको अवस्थामा जसरी पनि कर्जा असूल गर्न टार्गेट दिँदा काम गर्न समस्या भएको कर्मचारीहरु बताउँछन् ।

अर्कोकुरा मर्जरपछि अर्को बैंकबाट आएका संस्थालाई व्यवस्थापनले बढी पेल्न थालेको छ । यसरी व्यवस्थापनको पेलाइ खाएर बस्नुभन्दा जागिरै छाडेर विदेशिनेहरु धेरै छन् ।