March 24th, 2025

राष्ट्र बैंकमा गभर्नरसहित उच्च तहका कर्मचारीको धमाधम अवकास

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका १७औं गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिन केही दिन मात्रै बाँकी छ । उनको कार्यकाल यहि चैत २४ गते सकिन लागेको हो । अधिकार चैत ५ गतेबाट ‘फोर्स लिभ’मा बसेका छन् । गभर्नरसँगै राष्ट्र बैंकका उच्च तहका कर्मचारीले धमाधम अवकास लिँदैछन् ।

यस्तै राष्ट्र बैंकका ४ कार्यकारी निर्देशक अवकासका लागि बिदामा बसेका छन् । मंसिरयता केन्द्रीय बैंकका २ कार्यकारी निर्देशक अवकास भइसकेका छन् भने चैतमा थप ४ जना कार्यकारी अवकासमा जान लागेका हुन् ।

नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक पदमा १८ जनाको दरबन्दी छ । ५८ वर्षको उमेरहद वा केन्द्रीय बैंकमा ३० वर्षको सेवा अवधि बाहेक कार्यकारी निर्देशकमा बढुवा भएको ७ वर्षमा अवकाश हुने व्यवस्था छ ।

राष्ट्र बैंकमा आन्तरिक बढुवा भएर पुग्ने उच्च पद कार्यकारी निर्देशक हो । कार्यकारी निर्देशकमध्येबाट दुई जनालाई नेपाल सरकार मन्त्रिपरिषद्ले डेपुटी गभर्नरमा नियुक्त गर्छ ।

गभर्नरले कार्यकारी निर्देशक मध्येबाट ४ जनालाई डेपुटी गभर्नर नियुक्तका लागि सिफारिस गर्ने व्यवस्था छ । ५ वर्ष कार्यकाल हुने डेपुटी गभर्नर कार्यकारी निर्देशकमध्येबाट नै नियुक्त हुने भएपनि त्यो राजनीतिक नियुक्ति हो ।

गत मंसिरबाट राष्ट्र बैंकको अधिकृत विशिष्ट पदमा सुरु भएको अवकाशको सिलिसिला अनुसार आगामी १ वर्षमा धेरै जनाले अवकास पाउने देखिन्छ । चैतमा मात्रै ४ जना कार्यकारी निर्देशकले अवकास पाउँदैछन् ।

गत ६ मंसिरमा कार्यकारी निर्देशक देवकुमार ढकाल ५८ वर्ष उमेर हदका कारण अवकाश भए । २६ माघमा कार्यकारी निर्देशक नेफिल मताङ्गी मास्केले कार्यकारी निर्देशकका रूपमा ७ वर्ष सेवा अवधि पूरा गरी अवकाश पाए ।

२ चैतबाट ५८ वर्षको उमरहदका कारण कार्यकारी निर्देशक राम बहादुर मनान्धरले अवकास पाएका छन् । २४ चैतमा अर्का कार्यकारी निर्देशक सुमनकुमार अधिकारी पनि ५८ वर्षको उमेरहदका कारण अवकासमा जाने भएका छन् । उनी १ महिना अघि अर्थात् २५ फागुनबाट नै बिदामा बसेका छन् ।

त्यस्तै २८ चैतमा एकसाथ कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री र पिताम्बर भण्डारी पनि अवकाश पाउँदैछन् ।
सोही दिन कार्यकारी निर्देशकका रूपमा उनीहरूको ७ वर्षे कार्यकाल पूरा हुँदैछ । उनीहरु अवकासमा जानु अघि बिदामा बसेका छन् ।

५८ वर्ष उमेर हदकै कारण जेठ २०८२ मा कार्यकारी निर्देशकहरू प्रकाशकुमार श्रेष्ठ र तुलसीप्रसाद घिमिरेले अवकाश पाउनेछन् । हालै मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका रामप्रसाद गौतम २०८२ असारमा अवकास हुँदैछन् ।

यस्तै प्रदीपराज पौड्याल र ऋषिकेश पनि साउन २०८२ मा कार्यकारी निर्देशकमा ७ वर्षको सेवा हदका कारण अवकास पाउँदैछन् ।

असोज २०८२ मा कार्यकारी निर्देशकका रूपमा ७ वर्ष अवधि पूरा गरी डा. गुणाकर भट्टले अवकाश पाउनेछन् । यस्तै अर्का कार्यकारी निर्देशक विमलराज खनालले पनि पुस २०८२ मा अवकाश पाउनेछन् । चैत २०८२ मा हाल निर्देशकमा कार्यरत रोशनकुमार सिग्देल पनि कार्यकारी निर्देशकमा बढुवा भएर अवकाश पाउनेछन् ।

२०८३ मा हालका निर्देशक चेत प्रसाद उप्रेती कार्यकारी निर्देशक भएर अवकास पाउनेछन् । त्यस्तै कार्यकारी निर्देशकहरु दयाराम शर्मा, रेवती प्रसाद नेपालले पनि २०८३ को अन्तिममा अवकास पाउनेछन् ।