March 17th, 2025

मंगलबारदेखि ‘फोर्स लिभ’मा गभर्नर, कामुको जिम्मा नीलमलाई

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकार मंगलबारबाट ‘फोर्स लिभ’मा बस्ने भएका छन्। ०७६ चैत २४ मा नियुक्ति पाएर पाँच वर्षे कार्यकालको अन्तिम समयमा रहेका गभर्नर अधिकारी १० दिन अनिवार्य विदामा बस्न लागेका हुन्। ५ वर्ष राष्ट्र बैंकको नेतृत्व गरेका अधिकारीको कार्यकाल चैत २४ गते सकिँदै छ।

कार्यकालको अन्तिम प्रहरमा रहेका उनले राष्ट्र बैंकमा १० दिने विदा लिएका हुन्। भोलिबाटै विदामा बस्ने भएपछि कायममुकायम जिम्मा डेपुटी गभर्नर डा. नीलम ढुंगानालाई दिइएको छ।

गभर्नर अधिकारी अनिवार्य बिदामा बस्न लागेका हुन्। राष्ट्र बैंकले आयोजना गरेको ग्लोबल मनि विकको एक कार्यक्रममा वित्तीय साक्षरता विद्यालय तहमै लागू गर्न छलफलमा रहेको बताएका अधिकारी भोलिबाट विदामा बसेर चैत १५ गते राष्ट्र बैंकमा फर्किनेछन्। त्यसपछि कार्यकालको बाँकी रहेको ९ दिनमा उनले राष्ट्र बैंकबाट विदा लिने कार्ययोजना छ।

कार्यकाल सकिन लागेसँगै गभर्नर अधिकारीले अत्यावश्यक बाहेकका अन्य निर्णय यसअघि नै गर्न छोडेका थिए । आफ्नो कार्यकालको कम अवधि मात्रै बाँकी भएकोले गभर्नर अधिकारीले अत्यावश्यकभन्दा बाहेकका कम र निर्णय गर्न छोडेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

यसैबीच सरकारले नयाँ गभर्नर नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा सिफारिस समिति गठन भएको हो । समितिमा मन्त्री पौडेलका साथै नेपाल राष्ट्र बैंककै पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल रहेका छन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ । समितिमा पूर्वगभर्नरमध्ये एक जना र आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन क्षेत्रका विज्ञमध्ये एक जना सदस्य रहन्छन् ।