बैंकिङ खबर/ बैंकवित्तीय संस्थाबाट लोन लिएर नतिर्नेको संख्या झन् – झन् बढ्दै गएको तथ्यांकले देखाएको छ । कर्जा सूचना केन्द्रका अनुसार पछिल्लो साढे ६ वर्षमा एक लाख ५ हजार ६ सय ऋणी कालोसूचीमा परेका हुन् । वि.सं २०७५ सालदेखि २०८१ को फागुन २५ गतेसम्म उक्त संख्यामा ऋणीहरूले ऋण नतिरेका हुन् ।
केन्द्रको तथ्यांक हेर्दा २०७५ यता कालोसूचीमा पर्ने ऋणीहरूको संख्या अत्यधिक बढेको देखिएको छ । २०७५ सालमा एक हजार तीन सय ऋणी कालोसूचीमा परेका थिए । २०७६ मा तीन हजार रहेको त्यस्तो सङ्ख्या २०७७ मा तीन हजार २ सय नाघ्यो ।
बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्न नसकेर २०७८ सालमा ७ हजार ९ सय ऋणी कालोसूचीमा परे । यस्तो संख्या २०७९ मा झनै बढेको देखिन्छ । यो वर्ष कालोसूचीमा पर्ने ऋणीको संख्या १९ हजार भन्दा बढी पुगेको थियो ।
वि.सं २०८० मा ३३ हजार २ सय ऋणी कालोसूचीमा परे । २०८१ सालमा यो संख्या झन् बढ्ने देखिन्छ । २०८१ को वैशाखदेखि फागुन २५ गतेसम्म ३७ हजार ५ सय ऋणी कालोसूचीमा परेका छन् ।
कालोसूचीमा पर्नेहरूमध्ये अधिकांश खातामा पर्याप्त रकम नभएर चेक बाउन्स भएका व्यक्ति रहेको कर्जा सूचना केन्द्रले जनाएको छ । पछिल्लो समय दैनिक दुई सयको हाराहारीमा ऋणीहरू कालोसूचीमा परिरहेका छन् ।
यही फागुन २५ गते २२० ऋणी कालोसूचीमा परेका थिए । यस्तो सङ्ख्या फागुन २३ गते १९९, फागुन २२ गते १३६, फागुन २१ गते २२६ र फागुन २० गते १५६ थियो ।