
बैंकिङ खबर/ खातामा पैसा नभए पनि कार्डबाट भुक्तानी गर्न सकिने सेवासहितको क्रेडिट कार्डको प्रयोगमा नेपालीको ‘क्रेज’ बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ७ महिनाको वित्तीय विवरणमा नेपालीले कुल ६ अर्ब माथिको ऋण क्रेडिट कार्डबाट लिएको उल्लेख छ। माघ मसान्तसम्म आइपुग्दा नेपालीहरुले क्रेडिट कार्डबाट ६ अर्ब १२ करोड रुपैयाँ ऋण लिएका हुन्।
गत वर्ष सोही अवधिमा ५ अर्ब ३५ करोड रुपैयाँ लिएका थिए। चालू आवको सात महिनामा भने क्रेडिट कार्डबाट ७७ करोड रुपैयाँ ऋण लिएका हुन्। माघ मसान्तमा मात्रै क्रेडिट कार्डवाहकहरुले २ लाख ५१ पटकमा १ अर्ब ८५ करोड रुपैयाँको कारोबार गरेका छन्। सीमित शर्तसहित बैंकहरुले आफ्ना ग्राहकलाई प्रदान गर्ने उक्त कार्डबाट खातामा पैसा नभएको अवस्थामा पनि भुक्तानी गर्न सकिन्छ।
कार्डमा खर्च भएको रकम कार्डवाहकले निश्चित समयपश्चात् सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई तोकिएको ब्याजसहित ऋण चुक्ता गर्नुपर्ने हुन्छ। कुनै वस्तु तथा सेवा खरिद गर्दा पैसा नभएको खण्डमा पनि सहजै भुक्तानी गर्न सकिने हुँदा पछिल्लो समय बैंकहरुले जारी गर्ने क्रेडिट कार्डको प्रयोग बढ्न थालेको छ।
क्रेडिट कार्ड
क्रेडिट कार्ड पनि बैंकले उपलब्ध गराउने प्लाष्टिक पेमेन्ट कार्ड हो, जसबाट खातावालले आफ्नो खातामा रकम उपलब्ध नभएको अवस्थामा पनि ऋणको रूपमा रकम निकाल्ने वा रकम भुक्तानी गर्न सक्दछ । यस्तो कार्डबाट प्रयोगकर्ताले भविष्यमा रकम भुक्तानी गर्ने शर्तमा ऋणको रूपमा रकम उपभोग गर्न सक्दछ भने बैंकले तोके अनुरूपको समयावधीमा प्रयोगकर्ताले उक्त उपभोग गरेको रकमलाई भुक्तानी गर्नु पर्दछ ।
क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गरिन्छ । ग्राहकले कुनै वस्तु वा सेवा खरिद गरेपछि क्रेडिट कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्नेगरि यो कार्ड जारी गरिएको हुन्छ ।
कुनैपनि व्यक्तिले भविश्यमा तिर्न सक्ने क्षमतामा राख्छ भन्नेमा विश्वास गरेपछि बैंकले क्रेडिट कार्ड जारी गर्न सक्छ । यो एक प्रकारको बिना धितो बैंकले दिने र ग्राहकले निश्चित समयका लागि उधारोमा खर्च गर्न सक्ने रकम हो ।
क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । नेपालमा क्रेडिट कार्ड कम मात्रामा प्रयोग हुन्छ । बैंकहरूले पनि क्रेडिट कार्ड जारी गर्न खासै चासो देखाएको पाईंदैन । नेपालमा यस्तो प्रणालीको विकास क्रमशः भइरहेको छ ।
क्रेडिट कार्ड लिनुभन्दा पहिले ध्यान दिनुपर्ने विषय
१. क्रेडिट कार्डमा क्यासब्याकको अप्सन
क्रेडिट कार्डमा कयौँ कम्पनीले क्यास ब्याक दिने गर्दछन्। यस्तोमा तपाइँले कुन बैंक वा वित्तीय संस्थाले कुन कार्डमा कति क्यासब्याक दिइरहेका छन् भन्नेबारे जानकारी लिनुपर्दछ। यसका साथै तपाइँले लिने क्रडिट कार्ड लामो अवधिसम्म फाइदाजनक छ कि छैन भन्नेबारे पनि जानिराख्नु पर्दछ।
२. कति छ ब्याजदर
क्रेडिट कार्डसँग जोडिएको अर्काे महत्वपूर्ण पाटो भनेको ब्याजदर हो। प्रायः क्रेडिट कार्डमा लिइने ब्याजदर अलि बढी नै हुने गर्दछ। यदि तपाइँ डेडलाइनभित्र पैसा तिर्न असमर्थ हुनुभयो भने तपाइँले तोकिएको ब्याज तिर्नुपर्ने हुुन्छ। कहिलेकाहीँ तोकिएको बेला पैसा तिर्न नसकिने अवस्था पनि आउन सक्छ। त्यसैले क्रेडिट कार्ड लिँदा कम ब्याजदर भएको क्रेडिट कार्ड लिनुपर्दछ।
३. कस्तो प्रकारको छुट पाइन्छ
कयौँ कम्पनीले आफ्नो बिक्री बढाउनलाई क्रेडिट कार्डमा छुटको व्यवस्था गरेका हुुन्छन्। यस्तोमा तपाइँले उपलब्ध भएका छुुट कुन प्रकारका हुन् र तिनले तपाइँलाई कस्तो फाइदा पुर्याउँदछन् भन्नेबारे विस्तृृत जानकारी लिनुपर्दछ।
४. कति तिर्नुपर्छ महसुल
क्रेडिट कार्ड लिँदाखेरी त्यसमा विभिन्न प्रकारका महसुल पनि समावेश गरिएका हुन्छन्। जस्तै यानुअल चार्ज, रिवार्ड प्वाइन्ट चार्ज, क्रेडिट लिमिट चार्ज, इन्टरनेसनल कम्युनिकेसन चार्ज, क्यास एड्भान्स चार्ज र अन्य। क्रेडिट कार्ड लिँदा यस्ता महसुलबारे जानकार हुनु पर्दछ।
५. भुक्तानीका बारेमा कस्ता छन् सर्तहरु
क्रेडिट कार्डमा भुक्तानीको भूमिका पनि महत्वपूर्ण रहेको हुन्छ। त्यसैले क्रेडिट कार्ड लिने निर्णय गर्नुभन्दा पहिले कम्पनी वा क्रेडिट कार्ड जारी गर्नै संस्थाको न्यूनतम पुनः भुक्तानी भ्यालुका बारेमा पनि ध्यान दिनु पर्दछ। बिनाब्याजमा भुक्तानी गर्दा कति समय उपलब्ध भइरहेको छ भन्नेबारेमा पनि थाहा पाइरहनुपर्दछ।
६. रिवार्ड प्वाइन्टमा पनि ध्यान दिन जरुरी
क्रेडिट कार्डमा प्रयोगकर्तालाई रिवार्ड प्वाइन्टका रुपमा फाइदा मिल्ने गर्दछ। फरक–फरक संस्थाले आफ्ना विशेष ग्राहकलाई रिवार्ड प्वाइन्ट लिने सुविधा दिएका हुन्छन्। त्यसैले आफ्नो आवश्यकता र खर्च गर्ने प्राथमिकताका आधारमा क्रेडिट कार्ड चुुन्नुपर्दछ।