Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर धितो कर्जा प्रवाहमा बैंकहरु आक्रामक

२०८१ फाल्गुन २७ गते

बैंकिङ खबर/ सेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंकहरु आक्रामक देखिएका छन् । बैंकहरुले ७ महिनामा ९३ अर्ब बढी सेयर धितो कर्जा प्रवाह गरेका छन् । मार्जिन प्रकृतिको सेयर धितो कर्जा झन्डै ४० प्रतिशत वृद्धि भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको ७ महिनामा बैंकहरुले ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो गत आवको माघ मसान्तसम्मको तुलनामा भने ३९.८४ प्रतिशत बढी हो । गत आवको सो अवधिमा बैंकहरुले ६६ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

सेयर धितो कर्जा प्रवाहमा नबिल र ग्लोबल आइएमई बैंक शीर्ष सूचीमा छन् । समिक्षा अवधिमा नबिलले १२ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । यो गत आवको तुलनामा भने १०.७० प्रतिशत बढी हो । यता, ग्लोबल आइएमईले पनि ७५.७२ प्रतिशत बढाएर ११ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ पुर्याएको छ ।

समिक्षा अवधिमा अधिकांश बैंकहरुको सेयर धितो कर्जा दोहोरो अंकमा वृद्धि भएको छ । तर, एनआइसी एशियाको ४३.६१ प्रतिशत र हिमालयन बैंकको २०.६२ प्रतिशत घटेर क्रमशः २ अर्ब ५३ करोड ८२ लाख र १ अर्ब ९० करोड ७२ लाख रुपैयाँ कायम भएको छ ।

सेयर धितो कर्जा प्रवाहमा नेपाल एसबिआई, माछापुच्छ्रे, कुमारी बैंक निकै एग्रेसिभ देखिएका छन् । समिक्षा अवधिमा यी बैंकहरुको यस्तो शीर्षकको कर्जा १९५५.९८ प्रतिशत, १९२.९७ प्रतिशत र १०८.३५ प्रतिशत वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार सिद्धार्थ बैंकको सेयर धितो कर्जा प्रवाह पनि ७७.५२ प्रतिशत, एनएमबि बैंकको ७१.२७ प्रतिशत, कृषि विकास बैंकको ६६.४८ प्रतिशत, सानिमाको ६५.६१ प्रतिशत, नेपाल बैंकको ६१.२५ प्रतिशत, प्राइमको ५६.५४ प्रतिशत, सिटिजन्सको ४२.५२ प्रतिशत र एभरेष्टको ४०.५८ प्रतिशत वृद्धि भएको छ ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि यस्तो शीर्षकको कर्जा प्रवाह ३७.४६ प्रतिशत, प्रभूले २९.९६ प्रतिशत, लक्ष्मी सनराइजले २४.९७ प्रतिशत, राष्ट्रिय वाणिज्य ४.०८ प्रतिशत बढाएका छन् ।