बैंकिङ खबर/ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय परासीले आफ्ना करिब ७५ जना सेवाग्राही सदस्यहरूलाई एकदिने सीपमूलक व्यावसायिक बाख्रापालन तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको शाखा कार्यालय परासीद्वारा संचालित केन्द्र नं १८.०४६ की सदस्य लक्ष्मी कुमारी चौधरीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा रामग्राम नगरपालिकाको कार्यबाहक नगरप्रमुख सम्झना चौधरी प्रमुख अतिथि रहेकी थिइन् ।
कार्यक्रममा वडा नं ५ को वडाध्यक्ष रामवृक्ष यादव, जिल्ला प्रहरी कार्यालय नवलपरासीको प्रतिनिधि गुरुप्रसाद न्यौपाने, प्रशिक्षक डा.सुमित सिंह जी.सी, संस्थाको केन्द्रीय कार्यालयको तर्फबाट आन्तरिक लेखा परीक्षक अन्तर्गत रही स्टेशन कार्यालय सुनवलमा कार्यरत बिमल कोइराला तथा सोहि स्टेशनको अनुगमन अधिकृत जय कृष्ण जोशी र शाखा कार्यालय परासीका शाखा प्रमुख कृष्ण मुरारीलाल माली लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाको शाखा कार्यालय गोपिगंजको शाखा प्रमुख बिष्णुप्रसाद भण्डारीले स्वागत मन्तब्य राखेका थिए । अधिकृत बिमल कोइरालाले संस्थाको परिचय दिएका थिए ।
शाखाको अनुगमन अधिकृत जयकृष्ण जोशीले सदस्य कल्याण कोष तथा संस्थागत समाजिक उत्तरदायित्व कोषबारे जानकारी दिएका थिए । शाखा प्रमुख कृष्ण मुरारीलाल मालीले लघुवित्तले प्रवाह गर्ने सेवा, कर्जा, बचत, कर्जा बीमा, सुत्केरी स्याहार, शाखाको प्रगति विवरण र नेपाली समाजमा लघुवित्त कार्यक्रमको आवश्यकता तथा महत्वमाथि प्रकाश पार्दै आफ्नो प्रस्तुति राखेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि सम्झना चौधरीले गरिब तथा विपन्न, न्यून आय भएको समुदायमा लघुवित्त कार्यक्रमले वित्तीय पहँचमा ठूलो योगदान गर्नुका साथै महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान, लघुवित्तविरुद्ध संघर्ष समितिले पारेको भ्रमको घोर निन्दा गर्दै बैंक वित्तीय संस्थाबाट लिएको कर्जा सरकारले मिनाहा नगर्ने विषयमा प्रष्ट पार्दै यस्ता सिपमुलक तालिम कार्यक्रमले सुनमा सुगन्ध थपेको हुँदा नियमित प्रभावकारी तालिम सञ्चालन गर्न समेत आग्रह गरिन् । अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सम्पूर्ण सहभागीहरुलाई शुभकामना दिइ आफ्नो मन्तब्य टुंग्याएकी थिइन् ।
सोही कार्यक्रममा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट जिल्ला प्रहरी कार्यालयको प्रतिनिधिलाई १० थान ट्राफिक सेफटी बेल्ट वितरण गरेको छ भने मिति २०८१/११/२५ गते संस्थाको वार्षिक उत्सव रहेको र सोको उपलक्ष्यमा स्टेशन कार्यालय सुनवलमा भब्य कार्यक्रम राखेको छ र सोही वार्षिककोत्सवको उपलक्ष्यमा नवलपरासी जिल्लाको सुनवल नगरपालिकाभित्र रहेको इलाका प्रहरी कार्यालय सुनवललाई कुर्सी तथा फोहोरदानी र रामग्राम नगरपालिका तथा पल्हिनान्दन गाउँपालिकाभित्र रहेको विभिन्न ईलाका प्रहरी कार्यालय तथा विभिन्न चौकी गरी ३० थान ट्राफिक सेफटी बेल्ट वितरण गर्ने भनि शाखाको लेखापाल तथा कार्यक्रम संचालक सैलेन्द्र चौधरीले जानकारी दिए ।