बैंकिङ खबर/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ विज्ञ र आन्दोलकारीहरुसँग छलफल गरेर ल्याइएको बताएका छन्। बिहीबारको राष्ट्रिय सभा बैठकमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले विगतमा सहकारी क्षेत्रमा अनियमितता भएको र अबबाट त्यस्तो हुन नदिन अध्यादेश ल्याएको बताए।
सबै सहकारी गलत छैनन् भन्नेकुरा बुझ्न जरुरी रहेको उनको भनाइ थियो। २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने निर्णय भएअनुसार सरकारले चैत्र २० गते सहकारी स्थापना दिवसलाई पारेर देशव्यापी रुपमा मनाउने योजना बनाएको पनि उनले उल्लेख गरे।
उनले फागुन २० सम्म माग दाबी गरेका ८ हजार १५५ जना सहकारी पीडितको १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ बचत रकम फिर्ता गरिसकेको दाबी गरे। पछिल्लो ४ महिनाको बीचमा ८ सय ऋणी सदस्य र बचतकर्ता सदस्यको बीचमा १ अर्ब १० करोड बराबरको हिसाब मिलान गरिएको उनले बताए। उनले १ हजार ऋणी सदस्यबाट ऋण असुल गरिसकेको र ३१ करोड बचत भइसकेको बताए। साथै ७ हजार ऋणी सदस्यहरुको बैंक खाता तथा अचल सम्पत्ति रोक्का गरिएको उनले जानकारी दिए।