बैंकिङ खबर÷नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते सकिँदैछ । कार्यकाल सकिन एक महिना अगावै गभर्नर अधिकारी अनिवार्य बिदा ‘फोर्स लिभ’ बस्न लागेका छन् ।
सरकारले २०७६ चैत २४ गते अधिकारीलाई ५ वर्षको लागि राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको थियो।
सरकारी तथा निजी संघसंस्थामा सामान्यतया कार्यकाल सकिनु एक महिनाअघि बिदा बस्ने चलन छ । ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नेछ,’ राष्ट्र बैंक ऐन २०५८ को दफा २५ मा भनिएको छ ।
यही व्यवस्थाअनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगावै नयाँ गभर्नर नियुक्त गरी सार्वजनिक सूचना निकाल्नुपर्ने हुन्छ । ऐनको यही व्यवस्थाअनुसार फागुन २५ गतेबाट गभर्नर अधिकारी बिदामा बस्नुपर्नेछ । अधिकारी २०७६ चैत २५ गते केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएका थिए । ऐनअनुसार नै गभर्नर नियुक्त गर्ने हो भने मन्त्रिपरिषद्ले सोमबार अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समिति गठन गर्नेछ ।
ऐनको दफा १५ मा अर्थमन्त्री अध्यक्ष रहनेगरी सदस्यमा पूर्व गभर्नरहरूमध्येबाट एकजना र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट एक जना गरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था छ । यही व्यवस्था अनुसार सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले गभर्नर सिफारिस समिति गठन गर्न सक्छ । यही फागुन २५ गतेबाट गभर्नर बिदामा बस्ने तयारी भएको स्रोतले बताएको छ । तत्कालीन गभर्नर डा.चिरञ्जीवी नेपालको कार्यकाल २०७६ चैत ५ गते सकिएको थियो ।
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिसद्ले चैत १७ गते मात्र गभर्नर सिफारिस समिति गठन गरेको थियो । सो समयमा अर्थमन्त्री डा.युवराज खतिवडा थिए । खतिवडाको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।
सो समितिले चैत २४ गते मन्त्रिपरिषद्मा तीन जना तत्कालीन डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, महाप्रसाद अधिकारी र पूर्वअर्थसचिव राजन खनालको नाम सिफारिस गरेको थियो । सोही दिन मन्त्रिपरिषद्ले अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो ।
अधिकारी अघिका केही गभर्नर र अन्य सार्वजनिक नियुक्त पाएका केही संस्था प्रमुख कार्यकाल समाप्त हुन एक महिनाअघि बिदा बस्ने गरेका थिए । तर, गभर्नर अधिकारी भने कार्यकाल सकिनुअघिको एक महिने बिदाभन्दा राष्ट्र बैंकले नै व्यवस्था गरेको वार्षिक अनिवार्य बिदा बस्न लागेका सूचना अधिकारी डा. भागवत आचार्यको भनाइ छ ।
गभर्नर अधिकारी चैत ५ देखि १५ गतेसम्म फोर्स लिभमा बस्नेछन् भने चैत २२ देखि राष्ट्र बैंकबाट बिदा हुँदै छन्। आफ्नो कार्यकाल समाप्त हुनु २ दिनअगावै गभर्नर अधिकारी राष्ट्र बैंकबाट सार्वजनिक बिदाका कारण बिदा हुन लागेका हुन्। चैत २४ गते आइतबार रामनवमी परेको हुँदा उक्त दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।
को-को छन् आंकाक्षी ?
राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर सिफारिस गर्दा एक जना डेपुटी गभर्नर सिफरिस गर्नैपर्ने भएकाले हाल रहेका दुई डेपुटी गभर्नर स्वतः आकांक्षी छन् । उनीहरूबाहेक विभिन्न बैंकका बहालवाला प्रमुख कार्यकारी अधिकृत (सीइओ), राष्ट्र बैंककै केही पूर्वकार्यकारी निर्देशकहरू तथा केही पूर्वप्रशासकहरू केन्द्रीय बैंकको १८औँ गभर्नरको दौडमा देखिन्छन्। वरीयताका आधारमा गभर्नरको लाइनमा डा.नीलम ढुंगाना आकांक्षी छन् । अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र पनि गभर्नरको दौडमा छन्।
यस्तै राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठ पनि गभर्नरको दौडमा छन् ।यस्तै, ग भर्नर पदमा अर्का बलिया प्रतिस्पर्धीको रूपमा राष्ट्र बैंककै कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्ट मानिन्छन्। यीबाहेक गभर्नर पदका आकांक्षीमा राष्ट्र बैंककै क्याडर तथा हाल सञ्चालक सदस्य रविन्द्र पाण्डे पनि छन्। यस्तै,गभर्नर पदका आकांक्षीमा नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि रहेका छन्।
यस्तै, नेकपा एमालेनिकट कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ पनि गभर्नरका लागि चर्चामा छन्। माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाको नाम पर्ने संभावना पनि छ। उनी कांग्रेस संस्थापनका अत्यन्तै नजिक मानिन्छन्। त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष विश्व पौडेलको संभावना रहेको छ। यस्तै लगानी बोर्डका पूर्वकार्यकारी प्रमुख सुशील भट्ट पनि गभर्नरका लागि सम्भावित व्यक्ति मानिन्छन्।
यसबाहेक पूर्वअर्थसचिव रामेश्वर खनाल, राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक रमण नेपाल तथा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री पनि सम्भावित उम्मेदवार मानिएका छन्। पूर्वमुख्यसचिवको नाम आउँदा तरंग पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको नाम पनि गभर्नरको आंकाक्षीमा रहेको छ ।
२०७४ सालमा जम्माजम्मी ४ महिना केही दिन मुख्यसचिव रहेका उनी विभिन्न विरोधकाबीच जसरी मुख्यसचिव बने तथा सचिव हुँदा पनि जसरी आफ्नै विभागीय मन्त्रीलाई नै हटाए । त्यसबाट उनको शक्तिको अन्दाज गर्न सकिन्छ । पूर्वअर्थसचिव खनाल सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने उपाय खोज्ने जिम्मेवारीसहित गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका संयोजक छन्। इमानदार र कुशल कर्मचारीका रूपमा चिनिएका खनालको योग्यताले केन्द्रीय बैंकलाई र समग्र अर्थतन्त्रलाई फाइदा नै हुने भएपनि उनी कडा प्रशासकका रुपमा चिनिएका कारण निजी क्षेत्रले उनलाई गभर्नर नबनाउन दबाब दिनसक्ने आंकलन छ ।