March 2nd, 2025

गभर्नर अधिकारीको कार्यकाल ३६ दिन बाँकीः फागुन २५ गतेबाट बिदामा बस्दै

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन अब ३६ दिन बाँकी छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २५ अनुसार सरकारले गभर्नर नियुक्त गर्ने हो भने अधिकारीको अवधि अब ६ दिन मात्र बाँकी छ । ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नेछ,’ राष्ट्र बैंक ऐन २०५८ को दफा २५ मा भनिएको छ ।

यही व्यवस्थाअनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगावै नयाँ गभर्नर नियुक्त गरी सार्वजनिक सूचना निकाल्नुपर्ने हुन्छ । ऐनको यही व्यवस्थाअनुसार फागुन २५ गतेबाट गभर्नर अधिकारी बिदामा बस्नुपर्नेछ । अधिकारी २०७६ चैत २५ गते केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएका थिए ।ऐनअनुसार नै गभर्नर नियुक्त गर्ने हो भने मन्त्रिपरिषद्ले सोमबार अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समिति गठन गर्नेछ ।

ऐनको दफा १५ मा अर्थमन्त्री अध्यक्ष रहनेगरी सदस्यमा पूर्व गभर्नरहरूमध्येबाट एकजना र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट एक जना गरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था छ ।

यही व्यवस्था अनुसार सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले गभर्नर सिफारिस समिति गठन गर्न सक्छ । यही फागुन २५ गतेबाट गभर्नर बिदामा बस्ने तयारी भएको स्रोतले बताएको छ । तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल २०७६ चैत ५ गते सकिएको थियो ।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिसद्ले चैत १७ गते मात्र गभर्नर सिफारिस समिति गठन गरेको थियो । सो समयमा अर्थमन्त्री डा.युवराज खतिवडा थिए । खतिवडाको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।

सो समितिले चैत २४ गते मन्त्रिपरिषद्मा तीन जना तत्कालीन डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, महाप्रसाद अधिकारी र पूर्वअर्थसचिव राजन खनालको नाम सिफारिस गरेको थियो । सोही दिन मन्त्रिपरिषद्ले अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो ।

गभर्नरको अवधि सकिँदै गर्दा विभिन्न व्यक्तिहरुको चर्चा चलेको छ । हालका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिमिल्सिना र बमबहादुर मिश्र, तित्कालीन डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, राष्ट्र बैंकका दुई कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र डा. गुणाकर भट्ट गभर्नरको चर्चामा छन् । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना, लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील भट्ट, प्रभु बैंकका सीईओ अशोक शेरचन गभर्नरका आकांक्षी देखिएका छन् ।