बैंकिङ खबर/ सर्लाहीको हरिवन नगरपालिका वडा नं ११ मा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाले गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । हरीवन नगरपालिका वडा नं ११ मा रहेको ग्रामीण स्वयंसेवक समाजको सभाहलमा १ दिने कार्यक्रम हरीवन नगरपालिका वडा नं ११ का वडाध्यक्ष शेख महबुव रेजाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरेको हो ।
समूहमा आबद्ध रहेका महिलाहरुलाई वित्तीय सक्षम बनाउन, न्यूनतम बचतलाई कसरी बचाउने र भविष्यमा आइपर्ने आर्थिक समस्याको समाधान कसरी गर्ने, समुहमा देखा परेको समस्या, सुधारको लागि चालिएको कदम र संस्थाकोतर्फबाट गर्नुपर्ने आवश्यक सहयोग तथा गुनासो लगायतका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम संचालन गरिएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड हरीवनका शाखा प्रमुख चुडामणी ढुंगानाले जानकारी दिए ।
१०२ जना महिला तथा अभिभावकहरुले सहभागिता जनाएको कार्यक्रममा हरीवन स्टेशनका अनुगमन अधिकृत मानप्रसाद फुयाल, चन्द्रनिगापुर स्टेशनका अनुगमन अधिकृत बसीर मिया, बरथगवा शाखाका शाखा प्रमुख टीका कुमारी कार्की र बयलवास शाखाका शाखा प्रमुख राधाकृष्ण परीयार लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागिहरुलाई वित्तीय साक्षरताको परिचय, यसको आवश्यकता, वित्तीय लक्ष्य निर्धारण सम्बन्धि कसरी आम्दानी बढाउने, बचत भनेको के हो ?, कसरी बचत गर्ने, कति बचत गर्ने, बचत किन र केका लागि गर्ने, बचत गर्दाका फाइदाहरु, जोखिम, असर, जोखिम सामना गर्ने उपायहरु, ऋण लिने कारणहरु, संस्थाले ऋण लगानी गर्दा र सदस्यले ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरु साथै पछिल्लो समयमा लघुवित्तप्रति फैलिएका नकारात्मक टीकाटिप्पणी जस्ता विषयहरुमा छलफल भएको थियो ।
यस्तै, उक्त कार्यक्रममा बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, वीमा, वित्तीय साक्षरताको महत्व, इसेवा, मोबाइल एसएमएस सेवा लगायतका विषयमा छलफल गरिएको थियो । हरीवन ११ स्थित संस्थाले बैंकहरुमा पहुँच हुन नसक्ने विपन्न वर्गलाई घरमै पुगेर कर्जा दिँदै आएको, समय–समयमा तालिमहरु प्रदान गर्दै आएको, उनिहरुको आर्थिक अवस्थामा सुधार, दैवी प्रकोपमा परेकाहरुलाई राहत उपलब्ध, उपचार खर्च, सुत्केरी स्याहार खर्च लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको संस्थाका शाखा प्रमुख ढुंगानाले बताए ।
कार्यक्रममा हरीवन नगरपालिका वडा न ११ का वडाअध्यक्षले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्था सुधार गर्न र पछिल्लो समयमा बजारमा आएका बैक तथा लघुवित्त संस्थाहरुप्रति फैलाइएका भ्रामक समाचार र गतिविधिहरुमा नलाग्न समेत सहभागिहरुलाइ अनुरोध गरे ।
संस्थाले यसअघि पनि समूहका सदस्यहरुका लागि वित्तीय साक्षरता र सीपमूलक तालिम दिँदै आएको जनाएको छ । पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिला तालिम मार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको तथा अहिले देशमा अराजक समुहहरु बढेको र ती समुहहरुले धमिलो पानीमा माछा मार्ने प्रयास गरेको स्टेशनका अनुगमन अधिकृत मान प्रसाद फुयालले बताए ।
यसैबीच कार्यक्रममा सहभागिहरुले आजको ज्ञानले आय आर्जन गर्न र भबिस्यमा आईपर्ने समस्याको समाधानका लागि बचत गर्नु अत्यावश्यक रहेको बताएका थिए ।
संस्थाका अनुगमन अधिकृत मानप्रसाद फुयाल र बसीर मियाले धन्यवाद ज्ञापन गर्दै सहभागीबाट उठेका जिज्ञासा तथा गुनासोहरुको सम्बोधन गरेका थिए ।
त्यस्तै शाखा कार्यालय बरथहवाको शाखा प्रमुखले हिजोको दिनमा रु.५ हजारबाट सुरुवात गरिएको कर्जा हाल सदस्यहरुले गरेका व्यवसाय र आवश्यकताको मध्यनजर गर्दै ७ लाख सम्मको कर्जा लगानी गर्न पाउँदाको अनुभव सुनाएका थिए ।
कार्यक्रममा सहभागी बयलबासका शाखा प्रमुखले वित्तीय संस्थाबाट उपभोग गरिएको कर्जाको सम्बन्धित शिर्षकमा नै लगानी गर्न सके मात्र भविष्यमा सफल बन्न सकिने बताए भने कार्यक्रमको संचालन यसै संस्थाका शाखा प्रमुख चुडामणी ढुंगानाले गरेका थिए ।