बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको अन्तिम तयारीमा पुगेको छ । राष्ट्र बैंकका अनुसार मौद्रिक नीति अर्धवार्षिक समीक्षाको मस्यौदा तयार भइसकेको छ । अब उक्त मस्यौदा व्यवस्थापन समिति र सञ्चालक समितिबाट स्वीकृत भएपछि सार्वजनिक हुनेछ ।
राष्ट्र बैंकका अनुसार मौद्रिक नीति अर्धवार्षिक समीक्षा समयसीमा भित्रै ल्याउने गरी आन्तरिक तयारी भइरहेको छ । नेपाल राष्ट्र बैंक मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को व्यवस्थाअनुसार मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनसम्म सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ । जसअनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन १५ गतेभित्र ल्याइसक्नुपर्नेछ ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत २५ गते सकिँदैछ । यो अर्धवार्षिक समीक्षा नै उनको कार्यकालको अन्तिम समीक्षा हो । आफ्नो कार्यकालको अन्तिम समीक्षा भएकाले पनि गभर्नर अधिकारीले यसपटक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा लचिलो ल्याउने सम्भावना रहेको बताइएको छ ।