Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एक वर्षमा बैंकका ३ हजार बढी कर्मचारीले छाडे जागिर

२०८१ फाल्गुन ६ गते

बैंकिङ खबर/ नेपालमा पछिल्लो एक वर्षको अवधिमा वाणिज्य बैंकहरुमा कार्यरत तीन हजार बढी कर्मचारीले जागिर छाडेका छन् । बैंकर्स संघका अनुसार २०७९/८० मा ४४ हजार ९ सय ६२ जना रहेको कर्मचारी संख्या २०८०/ ८१ मा ३३ सय ५९ ले घटेर जम्मा ४१ हजार ६ सय ३ जनामा सीमित भएको छ ।

बैंकहरुको खराब कर्जा बढ्दा बैंकका कर्मचारीलाई तार्गेट पु¥याउनै कठिन छ । मुलतः नगद जम्मा गर्ने र जम्मा भएको रकमलाई ऋण लगानी गर्ने बैंकहरुको तार्गेट रहेको हुन्छ ।

प्राइभेट बैंकहरुमा एउटा बैंकको ग्राहक अर्कोमा नजाओस् भनेर ग्राहकलाई छिटो छरितो सेवा दिनुपर्छ । छिटो छरितो सेवा दिने बहानामा कर्मचारीहरु बढी नै खटिनुपर्ने हुन्छ । नाफा कमाउनु प्राइभेट बैंकलाई अनिवार्य हुन्छ । नभए बैंक घाटामा जान्छ, अनि तलब र बोनस पाउँदैनन् ।

बैंकका कर्मचारीलाई माथिबाट डिपोजिट भएन, यति पुर्याउनु पर्यो, लोन भएन, यति बढाउनु पर्यो भनेर दिनरात प्रेसर आउने गर्छ । ऋणीले लिएको साँवा ब्याज उठाउन हम्मेहम्मे पर्दा बैंकरमाथि तनाव बढ्दै गएको बैंकका कर्मचारीहरु बताउँछन् ।

भनसुनबाट ऋण लगेकाहरुको धितो छैन । जसका कारण सहजै ऋण असुल हुन सक्दैन । बैंकको पेलानमा परेकाहरु सहन नसकी राजीनामा दिने, अन्य पेसा व्यवसाय गर्ने र नभए विदेश पलायन हुनु प्रमुख कारण बनेको छ । अहिले बैंकका काम गर्ने रुची गर्ने मात्रै होइन बैंकमा जागिर गरिरहेका व्यक्तिसमेत टिक्ने क्रम घट्दो छ । प्रायः ३० वर्षभन्दा कम उमेर समूहका कर्मचारीहरुले राजीनामा गर्दै विदेश जाने चाहना राख्न थालेकोे विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरु नै बताउँछन् ।

वार्षिक १५ लाख रुपैयाँसम्मको सुविधा प्राप्त गर्ने अधिकृत तहका कर्मचारीले पनि राजीनामा गर्दै विदेशी जान खोजेका छन् । बैंकरहरुका अनुसार गत वर्षमात्रै बैंकमा काम गरिरहेका ६–७ सय जना कर्मचारी जागिर छाडेर विदेशिएका छन् ।

बैंक वित्तीय संस्थाले विगतमा कर्जा लगानी गर्न दबाब दिएको अहिले व्यवसायीक वातावरण विग्रेको अवस्थामा जसरी पनि कर्जा असूल गर्न टार्गेट दिँदा काम गर्न समस्या भएको कर्मचारीहरु बताउँछन् । अर्कोकुरा मर्जरपछि अर्को बैंकबाट आएका संस्थालाई व्यवस्थापनले बढी पेल्न थालेको छ । यसरी व्यवस्थापनको पेलाइ खाएर बस्नुभन्दा जागिरै छाडेर विदेशिनेहरु धेरै छन् ।

बैंकर्स संघले गरेको ‘कर्मचारी सर्वेक्षण’को नतिजाले बैंकिङ क्षेत्रको तलब तथा सेवासुविधामा पुर्णसन्तुष्ट रहेका कर्मचारीको अनुपात पछिल्लो २ वर्षमा करिब साढे ५ प्रतिशत बिन्दुले घटेको छ ।

सन् २०२२ मा वाणिज्य बैंकहरुको कर्मचारीमध्ये २३.३९ प्रतिशत कर्मचारी तलब तथा सेवा सुविधामा पुर्णसन्तुष्ट रहेको उक्त सर्वेक्षणले देखाएको छ । २०२४ मा आउँदा तलब तथा सेवासुविधामा पुर्णसन्तुष्ट हुने कर्मचारीको अनुपात १८ प्रतिशतमात्रै रहेको सर्वेक्षणको नतिजा छ ।

यस्तै बैंकहरुका कर्मचारीमा तलबप्रति असन्तुष्ट रहेका कर्मचारीको अनुपात ३ प्रतिशत बिन्दुले बढेको छ । सन् २०२२ मा २१.०७ प्रतिशत कर्मचारी तलबप्रति असन्तुष्ट रहेकोमा २०२४ मा उक्त अनुपात बढेर २४.१० प्रतिशत पुगेको सर्वेक्षणले देखाएको छ । आंशिक सन्तुष्ट रहेका कर्मचारीको अनुपात ५५.५४ प्रतिशतबाट बढेर ५७.९० प्रतिशत पुगेको हो ।

तलब मात्रै नभएर अन्य सेवासुविधामा असन्तुष्ट रहेको कर्मचारीको संख्या पनि बढ्दो छ । अन्य सेवासुविधामा पुर्णसन्तुष्ट कर्मचारी २०२२ मा १८.९७ प्रतिशत रहेकोमा २०२४ मा १३.४४ प्रतिशत मात्रै छ । आंशिक सन्तुष्ट कर्मचारीको अनुपात केही बढेको देखिन्छ । २०२२ मा यस्तो अनुपात ५६.२१ प्रतिशत रहेकोमा २०२४ मा ५८.५६ प्रतिशत पुगेको छ । यस्तै असन्तुष्ट कर्मचारी २४.८३ प्रतिशतबाट बढेर २८ प्रतिशत पुगेको हो ।

बैंकमा करियर सुरक्षित नदेख्ने कर्मचारी बढ्दै

बैंकिङ क्षेत्रमा आफ्नो करियर वृद्धिको अवसर नदेख्ने कर्मचारी अनुपात २ वर्षको अवधिमा करिब ९ प्रतिशत बिन्दुले बढेको छ। बैंकर्स संघको सर्वेक्षण अनुसार २०२२ मा बैंकिङ क्षेत्रमा करियर वृद्धिको अवसर नदेख्ने कर्मचारीको अनुपात २२.९५ प्रतिशत मात्रै थियो । २०२४ मा आउँदा उक्त अनुपात बढेर ३१.७६ प्रतिशत पुगेको छ । त्यहि बैंकिङ क्षेत्रमा करियर वृद्धिको अवसर देख्ने कर्मचारीको अनुपात २०२२ मा ७७.०५ प्रतिशत रहेकोमा २०२४ मा ६८.२४ प्रतिशतमा झरेको छ ।

बैंकिङ क्षेत्रका कर्मचारीले करियर वृद्धिको अवसर नदेखेको मात्रै होइन बैंकको जागिर र करियर नै असुरक्षित रहेको महशुस गर्ने कर्मचारी समेत बढ्दै गएका छन् । यस्तो कर्मचारीको अनुपात २०२२ मा ३९.३० प्रतिशत रहेकोमा २०२४ मा ४३.९६ प्रतिशत पुगेको छ । यस्तै जागिर र करियर सुरक्षित महसुस गर्ने कमीचारी २०२२ मा ६०.७० प्रतिशतबाट २०२४ मा ५६.०४ प्रतिशतमा घटेको छ ।

‘बैंकका कर्मचारीले देश छोड्नु यस क्षेत्रको ठूलो ‘थ्रेट’ हो’

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष सुनिल केसी बैंकका कर्मचारीले देश छोड्नु यस क्षेत्रको ठूलो ‘थ्रेट’ रहेको बताउँछन् । उनी भन्छन्, ‘वित्तीय क्षेत्रमा दक्ष जनशक्ति आगामी दिनमा चुनौतीका रूपमा आउने देखिन्छ । एक दशक अगाडिसम्म नेपालमा एमबीए सकेका दीक्षित युवाको पहिलो रोजाइ बैंकमा जागिर खाने हुन्थ्यो । तर, परिवेश फेरिएको छ ।’

बैंकिङले क्षेत्रले आकर्षक रोजगारीमार्फत नेपालको सामाजिक अर्थतन्त्रको विकासमा ठुलो योगदान पुर्‍याएको थियो । जसले सामाजिक परिवेश र अवस्था नै परिवर्तन गर्न मद्दत गरेको थियो । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य यूएई, कतार, मलेसियाजस्ता मुलुक हुँदा शिक्षित युवाहरूको रोजाइ राम्रो सेवा–सुविधाका कारण बैंकिङ क्षेत्र हुने गरेको थियो । बदलिँदो सामाजिक परिवेशसँगै शिक्षित युवाहरूको पहिलो रोजाइ नेपालमा रोजगारीभन्दा पनि युरोप, अमेरिकामा जस्ता मुलुकमा अवसर खोज्न लागेका उनी बताउँछन् । बैंकिङ क्षेत्रमा राम्रो पदमा कार्यरत कर्मचारीहरुले समेत देश छोड्दा बैंकिङ क्षेत्रले आगामी दिनमा नेतृत्व गर्ने जनशक्ति नै नपाउने हो कि भन्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘जुन बैंकिङको लागि ठुलो ‘थ्रेट’ हो । बैंकिङ क्षेत्रमा थाहा नहुने गरी बढिरहेको मानवीय पुँजीको समस्या सम्बोधन गर्नुपर्ने चुनौती भने छ । यद्यपि नेतृत्व विकासको चुनौतीसँगै नयाँ अवसर सिर्जना पनि गर्नेछ ।’