
बैंकिङ खबर/ नेपालका सबै स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएको छ । बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा सञ्चालनमा आएसँगै देशका स्थानीय तहमा बैंकिङ सुविधा पुगेको हो । संघीय संरचना निमार्ण भएको ८ वर्षपछि गत असोजमा ७५३औं स्थानीय तहमा एभरेष्ट बैंकले शाखा सञ्चालनमा ल्याएको थियो ।
भौगोलिक रूपमा विकट साइपाल गाउँपालिकामा संघीय संरचना निमार्ण भएको ८ वर्षपछि एभरेष्ट बैंकले सेवा दिनेछ । बैंकले गत असोजमै शाखा सञ्चालनमा ल्याएको थियो । यद्यपि, उक्त शाखाको उद्घाटन भने सोमबार गरिएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोली हेलिकप्टरमार्फत उक्त शाखा उद्घाटन गर्न पुगेको थियो ।

बैंकिङ इतिहासमा महत्वपूर्ण अवसर
साईपालको धलौनमा एभरेष्ट बैंकको शाखा उद्घाटन गर्दै गभर्नर अधिकारीले बैंकको शाखा स्थापनासंगै नेपालका विकट स्थानहरूमा वित्तीय पहूँच विस्तार गर्ने सरकारको लक्ष्य पूरा भएको बताए । बैंकको शाखा स्थापनाको घडीलाई ऐतिहासिक अवसरका रुपमा लिएको उनको भनाइ थियो ।
यो मेरा लागि र साईपालका जनताका लागि ऐतिहासिक अवसर हो, गभर्नर अधिकारीले भने, ‘साईपालमा बैंकको शाखा स्थापनासंगै नेपालका विकट स्थानहरूमा वित्तीय पहुँच विस्तार गर्ने सरकारको लक्ष्य पूरा भएको छ । गभर्नर अधिकारीले स्थानीय नागरिकहरूलाई खाता खोलेर बैंकमार्फत कारोवार गर्न आग्रह गरे ।

एभरेष्ट बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्यले देशकै विकट र बैकिङ सुविधाबाट बञ्चित साईपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा स्थापना गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे । अध्यक्ष बैद्यले साईपालमा शाखा सञ्चालन गर्नु चुनौतीपूर्ण भएपनि त्यो चुनौती स्वीकार गर्दै एभरेष्ट बैंकले शाखा स्थापना गरेको बताए ।
‘यो मेरो र एभरेष्ट बैंकका लागि महत्वपूर्ण अवसर हो’, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, ‘जहाँ कुनै बैंकले सेवा विस्तार गर्न सकेको थिएन, त्यहाँ एभरेष्ट बैंक पुगेको छ । यो हाम्रा लागि गर्वको कुरा हो ।’ साईपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बैंकको शाखा स्थापना गरेकोमा एभरेष्ट बैंकका अध्यक्ष र गभर्नरलाई धन्यवाद दिए । अध्यक्ष बोहराले एभरेष्ट बैंकको शाखा स्थापनाले साईपालका जनताको आर्थिक विकास र समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
वित्तीय साक्षरताको लक्ष्य समेट्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले मुलुक संघीयतामा गएपछि २०७४ साल असार महिनासम्ममा सबै ७५३ स्थानीय तहमा ‘क’ वर्गको बैंक पु¥याउने घोषणा गरेको थियो । सोमबार ‘क’ वर्गको वाणिज्य बैंक एभरेष्ट बैंकले बझाङ जिल्लाको साईपाल गाउँपालिकामा नयाँ शाखा उद्घाटन गरेसँगै यो लक्ष्य पुरा भएको छ ।
२०७५असार मसान्तभित्रै सबै स्थानीय तहमा शाखा खोल्न राष्ट्र बैंकले दिएको निर्देशनअनुसार वाणिज्य बैंकहरु राजी भए पनि भौगोलिक विकटताका कारण सम्भव भएको थिएन । राष्ट्र बैंकले दिएको निर्देशनअनुसार शाखा खोल्न बैंकहरु हौसिएका पनि थिए तर कतिपय स्थानीय तहमा बैंक शाखा खोल्न आवश्यक पर्ने न्यूनतम् पूर्वाधारसमेत नभएका कारण सम्भव भएन ।
शाखा खोल्नका लागि अध्ययनका क्रममा कतिपय स्थानीय तहमा प्रहरी चौकी, सडक सञ्जालको अभाव त कतिपय स्थानीय तहमा शाखा खोल्नका लागि उपयुक्त घरसमेत भेट्न नसकेका कारण राष्ट्र बैंकको योजना पूरा हुन सकेको थिएन ।
उनीहरुको आनाकानीका कारण साईपाल गाउँपालिकाका स्थानीय निकाय,सर्वसाधारण, व्यापारी तथा उद्यमी विगत ६ वर्षदेखि बैंकिङ पहुँचबाट बञ्चित थिए । यसअघि साईपाल गाउँपालिकाले पनि त्यहाँ बैंक नभएका कारण आफ्नो सम्पर्क कार्यालय सदरमुकाममा राखेर काम गर्दै आएको थियो ।
नेपाल राष्ट्र बैंकले साईपाल गाउँपालिकामा शाखा स्थापनाका लागि एभरेष्ट बैंकलाई पटक– पटक अनुरोध गर्दै आएको थियो । साईपाल गाउँपालिकाकाअनुसार पालिकाबाट सदरमुकाम पुग्न मात्रै दुई दिन लाग्छ । अझ बैंकिङ कारोबारका लागि त जान आउन मात्रै चार दिन छुट्यानु पर्दछ । तर सोमबार उक्त बैंकको शाखा कार्यालय स्थापना भएपछि यस्तो बाध्यता हटेको छ भने राष्ट्र बैंकको लक्ष्य पनि पूरा भएको छ ।
बढ्दै वित्तीय पहुँच

पछिल्लो समय बैंकिङ पहुँच बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या (लघुवित्त वित्तीय संस्था समेत) २०८१ पुसमसान्तमा १०७ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरु (लघुवित्त वित्तीय संस्था समेत) को शाखा संख्या २०८१ असार मसान्तमा ११,५३० रहेकोमा २०८१ पुसमसान्तमा ११,५४५ पुगेको छ ।

झण्डै ७ करोड बचत खाता

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपालमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सम्बद्ध बचत खाताको संख्या ५ करोड ७९ लाख २५ हजार ७९५ पुगेको छ । जुन संख्या पाँच वर्ष अगाडि अर्थात् आर्थिक वर्ष ०७७/७८ को पुससम्म ३ करोड ४६ लाख ७१ हजार ९४९ थियो ।
त्यस्तै समीक्षा अवधिमा नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ६३ लाख ३६ हजार ११७, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २१ लाख १८ हजार ३८४, डेबिट कार्डको संख्या १ करोड ३३ लाख ६३ हजार १७४, क्रेडिक कार्डको संख्या ३ लाख ६ हजार ६०५ र प्रिपेड कार्डको संख्या २ लाख १९ हजार १६४ पुगेको छ । जुन संख्या सहकारी संस्थाका प्रयोगकर्ताबाहेकको हो ।
पाँच वर्षअगाडि अर्थात् आर्थिक वर्ष ०७७/ ७८ को तुलनामा नेपालमा बचत खाता, ऋण खाता, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड लगायतको संख्या ठूलो वृद्धि भएको तथ्यांकले देखाएको छ ।
शीर्षक आ.व. ०७७/७८ पुससम्म आ.व. ०८१/८२ पुससम्म
बचत खाता ३,४६,७१,९४९ ५,७९,२५,७९५
मोबाइल बैंकङ ग्राहक १,२६,८९,४४५ २,६३,३६,११७
इन्टरनेट बैंकिङ ग्राहक १०,९०,३२२ २१,१८,३८४
डेबिट कार्ड संख्या ८०,४९,०५९ १,३३,६३,१७४
क्रेडिट कार्ड संख्या १,७६,४१४ ३,०६,६०५
प्रिपेड कार्ड संख्या ५५,६१७ २,१९,१६४
ऋण खाता १६,०१,९५८ १९,२५,७२४




