January 29th, 2025

बैंकहरुमा कर्जाको माग नहुनुका प्रमुख कारणहरु

बैंकिङ खबर/ वाणिज्य बैंकहरुमा कर्जाको माग हुन नसक्दा लगानीयोग्य रकम थुप्रिँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा ६ खर्बभन्दा बढी लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ । बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले हप्तैपछि तरलता खिच्दै आएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार पुस मसान्तसम्म बैंकिङ प्रणालीमा ५ खर्ब ९७ अर्ब ६४ करोड रुपैयाँ तरलता मौज्दात छ। अघिल्लो वर्षको सोही अवधिमा प्रणालीमा १ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ तरलता मौज्दात थियो। गत वर्षको तुलनामा चालु आर्थिकको ६ महिनामा बैंकिङ प्रणालीमा २०५.८५ प्रतिशतले लगानीयोग्य रकम बढेको राष्ट्र बैंकले तथ्यांक छ ।

चालु आर्थिक वर्षको पुसमा वाणिज्य बैंकहरूले ६० अर्ब रुपैयाँले कर्जा विस्तार गरेका छन् । माघ पहिलो साता सकिँदासम्म यो रकम बढेर ५४ खर्ब १० अर्ब पुगेको छ । नेपालमा बैंकिङ क्षेत्रमा कर्जाको माग नहुनुका विभिन्न कारणहरू हुन सक्छन्। तीमध्ये केही प्रमुख कारणहरू निम्नानुसार छन् ।

विश्वास तथा मनोबलको कमी

पछिल्लो समय बैंकहरुबाट कर्जा प्रवाह बढ्न नसक्नुका प्रमुख कारणमा विश्वास तथा मनोबलको कमीलाई लिन सकिन्छ । अर्थतन्त्रको चक्र विश्वासले चल्ने गर्छ । तर, अहिले वित्तीय बजारमा एकले अर्कालाई विश्वास नगर्ने अवस्थाको सिर्जना भएको छ ।

बैंकहरूले ब्याजदर घटाए पनि फेरि अर्को महिना बढाउने हो कि भन्ने शंका ऋणीमा छ । यो अवस्थाको सिर्जना बैंकरले नै गरेका हुन् । किनकी ब्याजदरको अस्थिर नीतिले ऋणीहरू आजित छन् । ७ प्रतिशत ब्याजमा लिएको ऋण १४ प्रतिशतसम्म पुगेका अनुभवहरू व्यवसायीमा पर्याप्त छन् । नियामकको अस्थिर नीति पनि यसको एउटा महत्वपूर्ण कारण हो ।

नेपाल साना तथा मझौला व्यवसायी संघका धर्मनन्द श्रेष्ठले पछिल्लो समय ऋण लिएर विदेश पलायन हुने स्थिति सिर्जना भएको बताउँछन् । बैंकहरुले विश्वास दिलाउन नसक्दा कर्जा प्रवाह बढ्न नसकेको उनको अनुभव छ ।

उनी भन्छन्,‘बैंकहरुले नीति परिवर्तन गरेर ब्याज १०/२० प्रतिशतसम्म पुर्याउँछन् । विश्वास दिलाउनै अहिले १ करोड रुपैयाँ ऋण लिएर विदेश जाने स्थिति छ ।’ नेपालको आर्थिक क्षेत्र चलायमान हुन नसकेको उनी बताउँछन् ।

ऋणको भारी

व्यवसायीहरूलाई अहिले समस्या भनेको ऋणको छ । विगतमा लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्न ऋणीहरूलाई समस्या भइरहेको छ । नियमित किस्ता भुक्तानी गर्न समस्या भइरहेको बेला ऋणीले थप ऋण लिन चाहिरहेका छैनन् ।

धितो

अर्को समस्या भनेको ऋणीले लिएको ऋण तिर्न नसक्दा धितो लिलाम भएको छ । आफूसँग पर्याप्त सम्पत्ति तथा धितो नभएकोले पनि व्यवसायीहरूले व्यवसाय विस्तार तथा नयाँ व्यवसायका लागि ऋण लिन सकिरहेका छैनन् । यो अवस्थामा घट्दो वा बढ्दो ब्याजदरले ऋणीलाई कुनै महत्त्व राख्दैन ।

व्यापार व्यवसायमा कमी

अहिले बजारमा नयाँ व्यवसाय थालनी भएको तथा उद्योगीले नयाँ उद्योग खोलेको समाचार तथा सूचना बिरलै सुनिन्छन् । जब बजारमा नयाँ लगानीकर्ता भित्रिन्छन्, उनीहरूले लिने भनेको बैंकबाट ऋण नै हो । बैंकबाट ऋण लिएर नै व्यवसाय सुरु गर्छन् । तर, अहिले बजारमा नयाँ व्यवसाय आउन सकेका छैनन् । यस्तै बजारका अधिकांश सटरहरु खाली छन् ।

लगानीका लागि अवसरहरू पनि सीमित छन् । सरकारले लगानी सम्मेलन र पूर्वाधार सम्मेलन गरेपनि त्यसले एउटा निचोड निकाल्न सकेको छैन । विदेशी लगानीकर्ताहरू भित्रिन सकेका छैनन् । देशमा भएका विदेशी लगानीकर्तालाई पनि अनेक किसिमबाट दुःख दिने काम भइरहेको व्यवसायीहरूले गुनासो छ ।

त्यसकारण पनि नयाँ व्यवसायी बजारमा छिर्ने हिम्मत गर्न सकिरहेका छैनन् । सरकारले लगानीका लागि नयाँ क्षेत्रहरू पनि पहिचान गर्न सकेको छैन । जब देशमा नयाँ लगानीका क्षेत्रहरू पहिचान हुँदैनन्, व्यवसायीले पनि कुन क्षेत्रमा लगानी गर्ने भनेर भेउ पाउँदैनन् र बैंकबाट कर्जा पनि प्रवाह हुन सक्दैन ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री राजनीतिक अस्थिरताकै कारण आर्थिक नीतिहरु प्रभावित भएको बताउँछन् ।

अहिले साना व्यवसायीलाई प्रशय दिने खालका नीतिको आवश्यक रहेको उनको भनाइ छ । नेपालमा दीगो रुपमा काम गरी अगाडि बढ्ने स्थिति नरहेको उनले प्रष्ट पारे । उनले भने, ‘अहिले हरेक ठाउँका सटरहरु भाडाका लागि खाली छ भनेर लेखेको देख्न सक्छौं । यसले पनि भन्न सकिन्छ कि व्यवसायीहरु व्यवसायबाट पलायन भइसकेको अवस्था छ ।’

लगानीको जोखिम

वर्तमान अर्थतन्त्रको सकस समाधान हुन सकेको छैन । यो समयमा नयाँ व्यापार व्यवसाय सुरु गर्ने आँट व्यवसायीमा देखिँदैन । व्यवसाय सञ्चालन गरिरहेका उद्योगी व्यवसायीले पनि सोचेअनुरूप प्रतिफल पाउन सकेका छैनन् । बैंक तथा वित्तीय संस्थाले पनि सेयरधनीलाई लाभांश दिन सकेका छैनन् ।

प्रतिफल नपाउने डरले पनि व्यवसायीले नयाँ व्यवसाय गर्ने तथा व्यवसाय विस्तार गर्न सकिरहेका छैनन् । अधिकांश ठूला व्यवसायीको लगानी सेयर बजारमा पनि छ । अहिले सेयर बजार पनि घटिरहेको छ । सेयर बजार घट्दा लगानीकर्ताले लगानी गुमाइरहेका छन् । त्यसले पुँजी निर्माणमा असर गरिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव देशको अर्थतन्त्रमा पर्दा आर्थिक गतिविधि चलायमान हुन नसकेका हुन् ।

नीतिगत अस्थिरता

नेपाली वित्तीय बजारको महत्त्वपूर्ण समस्या भनेको नीतिगत अस्थिरता हो । राजनीतिक अस्थिरताले नेपालमा नीतिगत अस्थिरताको समस्या सिर्जना गरिरहेको छ । विभिन्न समय व्यक्तिपिच्छे तथा राजनीतिक दलपिच्छे बन्ने नीतिगत व्यवस्थाले उद्योगी व्यवसायीलाई मारमा पारिरहेको छ ।

एक महिना अगाडि बन्ने नीति एक महिनापछि परिवर्तन हुन्छ । यसले व्यापार व्यवसायमा ठूलो असर गर्छ । नीतिगत अस्थिरताको डरले अहिले व्यवसायीहरूले कर्जाको माग गर्न छोडेको व्यवसायीहरू बताउँछन् । विदेशी लगानीकर्तालाई नीतिगत अस्थिरताले थप नकरात्मक असर पर्ने गर्छ । बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंक पनि पछिल्लो समय नीतिगत अस्थिरतामा रुमल्लिरहेको छ ।

आर्थिक मन्दी

नेपाल राष्ट्र बैंकको तथ्यांकले देशमा आर्थिक सुधार देखाएपनि आर्थिक मन्दी छ । यदि समग्र अर्थतन्त्रमा मन्दी या आर्थिक अस्थिरता भइरहेको छ भने, ग्राहकहरूले कर्जा लिनमा चासो कम गर्छन्। यसको कारण बेरोजगारी दरको वृद्धी, व्यापारिक अवसरहरूको कमी, र भविष्यमा आर्थिक असुरक्षाका डरहरू हुन्।

यसर्थ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे जग्गा धितो नभइ बैंकहरुबाट ऋण नपाउने अवस्था गर्नुपर्ने बताउँछन् ।
अध्यक्ष पाण्डे भन्छन्,‘जबसम्म राष्ट्र बैंकले धितो नभइ लोन दिने सिस्टम हटाउँदैन तबसम्म युवा पुस्ता यहाँ टिक्ने अवस्था छैन ।’ यस्तै नेपालमा रहेका व्यवसायीलाई अहिले टिकाउनै मुस्किल रहेको उनको भनाइ छ ।

विदेशी लगानी नभइ नेपालमा पुँजी र प्रविधिक भित्रिन नसक्ने भन्दै उनले नेपालको अर्थतन्त्र उकास्न विदेशी लगानीको खाँचो रहेको बताए । नेपालको अर्थतन्त्र विकराल अवस्थामा पुगेको उनको भनाइ छ ।

उनी भन्छन्,‘नेपालमा हरेक क्षेत्रमा निराशा मात्रै रहेको छ । जुन देशमा व्यवसाय गर्ने वातवारण हुँदैन त्यो देश विकास सम्भव हुँदैन् । देशको अर्थतन्त्र शिथिल हुँदा बैंकहरु २५, ३० प्रतिशतसम्म फाइदा लिने तर उद्योगी व्यवसायीहरु भने सँधै घाटामा जाने स्थिति रहेको उनको गुनासो छ ।