
बैंकिङ खबर/ सन्जय मल्होत्रा फेबुअर १४, १९६८ मा राजस्थान, भारतमा जन्मिएका थिए । ५६ वर्षको उमेरमा, उनले भारतको वित्तीय प्रणालीमा सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका छन् ।
नरेन्द्र मोदी नेतृत्वको भारतीय मन्त्रिपरिषद्ले राजस्व सचिव मल्होत्रालाई भारतीय आरबीआईको २६ औँ गभर्नरमा नियुक्त गरेको हो। आरबीआईमा गभर्नरको कार्यकाल तीन वर्ष हुने प्रावधान छ ।
सन् १९९० मा राजस्थानबाट भारतीय प्रशासनिक सेवा (आईएएस) नियुक्त भएका मल्होत्रा भारतीय केन्द्रीय सरकारको वित्त मन्त्रालयका राजश्व सचिव हुन् । आईआईटी कानपुरबाट कम्प्युटर साइन्समा स्नातक र संयुक्त राज्य अमेरिकाको प्रिन्सटन विश्वविद्यालयबाट पब्लिक पोलिसीमा स्नातकोत्तर गरेका छन्।
आफ्नो ३३ वर्षे करियरमा मल्होत्राले ऊर्जा, वित्त, कर, सूचना प्रविधि र खानीलगायत विभिन्न क्षेत्रहरूमा सेवा गरेका छन्। राजश्व सचिव हुनुअघि उनले भारतीय वित्त मन्त्रालयअन्तर्गतको वित्तीय सेवा विभागमा सचिवको पद सम्हालेका थिए।
ब्लूमबर्गको रिपोर्ट अनुसार भारतीय वित्तमन्त्री निर्मला सितारमणसँग बलियो सहकार्य रहेकोले मल्होत्राले मौद्रिक र वित्तीय नीतिहरूलाई एकसाथ अघि बढाउने अपेक्षा गरिएको छ ।
मौद्रिक नीतिका विषयमा मौन रहे पनि मल्होत्राले कर प्रणालीलाई सरलीकरण गरेर लगानी बढाउने पक्षमा वकालत गर्ने गरेका छन् । उनी निजी क्षेत्रसँग पनि उदार मानिन्छन् । इन्फोसिस लिमिटेड जस्ता प्रमुख फर्महरूसँग चलिरहेको करसम्बन्धी मुद्दाको सम्बन्धमा उनले राजस्व अधिकारीलाई आर्थिक विकासमा ध्यान केन्द्रित गर्न र व्यवसायीलाई करसम्बन्धी नोटिस जारी गर्दा विवेकशील हुन भनेका थिए ।