बैंकिङ खबर/ प्रविधिको विकाससँगै बैंकिङ क्षेत्रमा पनि चुनौतीहरु थपिँदै गएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा हुने साइबर क्राइम पनि त्यस्तै चुनौतीमध्येको एक हो। अविकसित र विकासशील देश मात्र नभई विकसित देशमा पनि साइबर डकैतीका घटना सार्वजनिक हुँदै आएका छन्।
बैंकिङ प्रणाली ह्याक गरेर नक्कली एटिएमबाट बैंक डकैती, स्विफ्ट सर्भर ह्याक गरेर एक ठाउँबाट अर्को ठाउँ वा एक मुलुकबाट अर्को मुलकमा पैसा पठाएर डकैती जस्ता घटनाहरु घट्दै आएका छन् । चार महिनाअघि मात्रै सिटिजन्स बैंक इन्टरनेसनलको खाताबाट ३ करोड ५१ लाख ५० हजार ३७२ रुपैयाँ चोरी भयो । बैंकमा रहेको एफ वान सफ्ट इन्टरनेसनल प्रा.लि.को खाताबाट सो रकम ह्याक गरी चोरी गरिएको थियो । तीन दिन लगाएर असोज १५ देखि १८ गतेको बिचमा ह्याकरले खाताबाट रकम चोरेका थिए । जुन घटनाको सुइँको न त बैंकले पायो, न त खातावाल एफ वान सफ्टले नै ।
सँगै, घटना थाहा पाएपछि पनि लामो समय गुपचुप बनाउन खोजियो । कारण थियो, रकम चोरी भएको खातावालले नै सिटिजन्स बैंकको सिस्टमको जिम्मा लिएको थियो । एफवान सफ्टले नै बनाएको सिस्टमको सुरक्षा प्रणाली ब्रेक गरेर ह्याकरले रकम अन्य खातामा ट्रान्सफर गरेका थिए ।
घटना भएको ५ दिनपछि असोज २० मा मात्रै एफवानसफ्टले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको थियो । जुन घटनालाई प्रहरीले समेत गोप्यरुपमै छानबिन थाल्यो । एफवानसफ्ट, सिटिजन्स बैंक, नेपाल राष्ट्र बैंक र प्रहरीबिचको सहमतिमा घटनालाई गोप्य राखिएको थियो । तर, जिल्ला अदालत काठमाडौंमा २४ जनालाई प्रतिवादी बनाउँदै अभियोग दर्ता भएसँगै घटना बाहिरिएको हो ।
एफवान सफ्टको खाताबाट रकम चोरी भएको घटना थाँती रहेकै बखत अर्को वाणिज्य बैंक एनएमबि बैंकमा अनौठो घटना देखिएको छ । बैंकका खाता रहेका थुप्रैको खाताबाट एकै पटक रकम हराएको छ । अहिले उक्त घटनालाई थामथुम पार्न बैंकले खातावालको खातामा रकम मिलान गरेको छ तर, त्यसरी हराएको करोडौँ रकम भने बैंकले फिर्ता ल्याउन सकेको छैन ।
बैंकको सिस्टममा एकै पटक गडबडी भएपछि हुँदै नभएको खातामा पनि पैसा देखिएको थियो भने भएकाको खाताबाट पैसा हराएको थियो । आफ्नो खातामा आकस्मिक ढंगबाट लाखौं पैसा आएपछि केही खातावालले अन्य बैंकका खातामा पैसा ट्रान्सफर गरे भने केहीले खर्च गरेर सकाए । बैंक नेतृत्व सिस्टम अपग्रेड गर्दा समस्या आएको भन्दै पन्छिने प्रयासमा छ ।
पटक पटक ह्याकको धम्की
नेपालका बैंकहरुलाई पटक–पटक ह्याक गर्ने धम्की आउने गरेको छ । केही वर्ष अघि राष्ट्रिय वाणिज्य बैंकलगायतका बैंकलाई सिष्टम ह्याक गर्ने धम्की आएको थियो । २०७४ कात्तिक ३ मा एनआईसी एसिया बैंकको स्विफ्ट कोड ह्याक गरी उत्तर कोरियाली ह्याकर समूह ‘लजारुस ग्रुप’ ले ४६ करोड ५६ लाख ५० हजार ५० रुपैयाँ विदेशका विभिन्न बैंकमा ट्रान्सफर गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको थियो। केही रकम ह्याकरको हातमा परिसकेको थियो । तर, ट्रान्सफर गरिएका बैंकसँग द्विपक्षीय छलफलपछि बाँकी रकम एनआईसी एसियाकै खातामा फिर्ता आयो ।
प्रहरीको विशेष अपरेसन
२०७६ भदौ र असोजमा नेपाल प्रहरीले बैंक÷वित्तीय संस्थाको सिस्टम ह्याक गरी रकम निकाल्ने गिरोहको पहिचान गर्न विशेष अपरेसन नै चलाएको थियो। नबिल बैंक, कृषि विकास बैंक, कैलाश विकास बैंक, पानस रेमिटलगायत बैंक÷वित्तीय संस्थाको सिस्टम ह्याक गरी रकम निकाल्ने गरेको भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धान पश्चात नेपालका बैंकको सिस्टममा अनधिकृत प्रवेश गरेर रकम निकाल्ने गिरोहका योजनाकार काले भनिने पिटर मुम्बईमा रहेको सूचना प्रहरीले पाएको थियो। पिटरकै योजनामा कृषि विकास बैंक र पानस रेमिटबाट अनधिकृत रूपमा रकम निकाल्ने १२ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले अपरेसनकै क्रममा पक्राउ गरेको थियो । कृषि विकास बैंक लहान शाखाको ४ करोड ७३ लाख ९६ हजार र पानस रेमिटको १२ लाख रुपैयाँ निकालेको भेटिएको थियो। २०७६ भदौ १५ गते पनि एटीएमका पिन नम्बर ह्याक गरेर एटीएम बुथबाट रकम चोर्ने ६ चिनियाँलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।
विश्वमै जटिलता
प्रविधिले बैंकिङ प्रणालीलाई जति सहज बनाएको छ, त्योभन्दा धेरै जोखिम थपेको देखिन्छ। प्रविधिका स–साना त्रृटिहरुलाई हतियार बनाएर संसारभर नै वर्षेनि विभिन्न आपराधिक समूहहरुले बैंकमाथि आक्रमण गर्ने गरेका छन्। नेपालमा मात्रै होइन विश्वका विकसित मुलुकहरुमा पनि यसले जटिल समस्याको रुप लिएको छ।
सयल क्राइम्स इन्फोर्समेन्ट नेटवर्कले सन् २०१९ मा मात्रै अमेरिकाका वित्तीय संस्थाहरुमा ३ हजार ४ सय ९४ साइबर आक्रमण गरेको थियो। सन् २०१८ मा बेलायतमा १४५ वटा बैंकिङ प्रणाली छेडखानीका घटनाहरु रिपोर्ट गरिएको बेलायतको फाइनान्सियल कन्डक्ट अथोरिटी (एफसीए)ले जनाएको छ । २०१७ मा २५ वटा मात्रै यस्ता घटना रिपोर्ट गरिएका थिए ।
कस्तो छ नेपाली बैंकिङ सिस्टम ?
नेपालका बैंकहरूले बैंकिङ कार्यको लागि प्रयोग गर्ने ‘कोर बैंकिङ सिस्टम’ (सिबिएस) अन्तर्राष्ट्रिय स्तरमा चलेकै सफ्टवेयर प्रयोगमा ल्याएका छन्। अधिकांश बैंकहरूले भारतीय कम्पनी इन्फोसिसले बनाएको फिनाकल सफ्टवेयर प्रयोग गर्ने गरेका छन्।
त्यसैगरी, अमेरिकन कम्पनीबेसमा भारतमा बनेको आइप्याक्स र नेपालमै बनेको पुमोरी सफ्टवेयर प्रयोग हुने गरेको छ। यसबाहेक फाट्टफुट्ट अन्य सफ्टवेयरको प्रयोग भए पनि अधिकांश बैंकहरूले यिनै सफ्टवेयर प्रयोग गर्ने गरेका छन्।
नेपाली बैंकिङ सिस्टममा प्रयोग हुने गरेका सफ्टवेयर नै ह्याक हुने सम्भावना कम रहे पनि पब्लिक डोमेनमार्फत् ह्याकरहरूले डाटा लिक गर्न सक्ने आइटी विज्ञहरू बताउँछन्। नेपालका बैंकहरूमा कार्यरत आइटी विज्ञहरू सिबिएसमा सिधै ह्याकिङ सम्भव नभएको बताउँछन्। तर बैंक तथा वित्तीय संस्थाहरूले आधुनिक बैंकिङका लागि प्रवाहमा थप सेवा र शाखा सञ्जाल सञ्चालनको लागि प्रयोग गरिएको ‘पब्लिक डोमेन’का कारण साइबर सुरक्षा चुनौती थपिँदै गएको छ।
बैंकिङ सिस्टम निकै जोखिममा
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेपालको बैंकिङ सिस्टममा ठूलो अपग्रेडको खाँचो देख्छन् । अहिलेको शैलीले हाम्रो बैंकिङ सिस्टम निकै जोखिममा रहेको देखाउने उनी बताउँछन् ।
‘सूचना प्रविधिमा विश्व धेरै अगाडि बढिसक्यो, एकपछि अर्को गरी सिस्टमहरू विकास भइरहेका छन्, जुन हाम्रो जस्तो देशका निम्ति चुनौतीको विषय हो’, क्षेत्रीले भनेका छन्, ‘हामी पुरानै ढर्राबाट, सस्तो सिस्टमबाट चलाउन खोज्छौं, जसको कारण एकपछि अर्को गरी समस्याहरू देखिन्छन् ।’ अहिले सिटिजन्स वा एनएमबि बैंकमा आएको समस्या सिस्टमको समस्या भएको भन्दै जसतर्फ राष्ट्र बैंकले सचेततापूर्वक कदम चाल्नुपर्ने उनको भनाइ छ ।