
बैंकिङ खबर/ राष्ट्र बैंकले माघ १५ गते मंगलबार बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट रकम झिक्न लागेको हो । यस अघि माघ १३ गते केन्द्रीय बैंकले ४० अर्ब तरलता खिचेको थियो । अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन राष्ट्र बैंकले नियमित रुपमा तरलता प्रशोचन गर्दै आएको छ ।
केन्द्रीय बैंकले जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो २ बजे अनलाइन बोलकबोल हुने जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यसको सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन ६ गते हुनेछ । बोलकबोलबाट यसको ब्याज निर्धारण हुनेछ ।



