
बैंकिङ खबर/ वाणिज्य बैंकहरुको आधार दर(बेस रेट) क्रमशः घट्दो क्रममा रहेको छ । पछिल्लो १ महिनामै २० वाणिज्य बैंकहरुको औसत आधार दर ०.२१ प्रतिशत विन्दुले घटेको छ । माघ महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ६.८१ प्रतिशत रहेको छ । पुसमा बैंकहरुको औसत बेस रेट ७.०२ प्रतिशत थियो ।
अहिले ३ बैंकको आधार दर ६ प्रतिशतभन्दा मुनि आएको छ । सबैभन्दा कम बेस रेट स्टान्डर्ड चार्टर्ड बैंकको ५.१९ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५.६४ प्रतिशत र एभरेष्ट बैंकको आधार दर ५.६६ प्रतिशत छ । ७ बैंकको आधार दर ७ प्रतिशतभन्दा कम छ । सबैभन्दा धेरै आधार बेस रेट हुनेमा एनआइसी एसिया बैंक रहेको छ । यसको यस्तो रेट ७.७५ प्रतिशत छ ।
बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला कर्जाको माग नबढ्नुमा उद्योगी व्यवसायीको आत्मविश्वास कमी आउनु रहेको बताउँछन् । ‘पछिल्लो समय कर्जाको माग केही बढ्न थालेको छ’ उनले भने, ‘विशेषगरी जलविद्युत र पर्यटन क्षेत्रमा माग विस्तारै बढ्दै गएको, अब कर्जा बढ्छ भन्ने अपेक्षा गरौं ।’
Magh 2081 Poush 2081 Diff (%) Point
SCB 5.19% 5.38% -0.19%
RBB 5.64% 5.85% -0.21%
EBL 5.66% 6.15% -0.49%
NBL 6.27% 6.39% -0.12%
NABIL 6.31% 6.51% -0.20%
NIMB 6.58% 6.80% -0.22%
ADBL 6.78% 6.94% -0.16%
SANIMA 6.90% 7.06% -0.16%
NMB 6.92% 7.15% -0.23%
GBIME 6.95% 7.11% -0.16%
HBL 7.02% 7.30% -0.28%
SBI 7.14% 7.33% -0.19%
MBL 7.14% 7.37% -0.23%
PRVU 7.26% 7.45% -0.19%
KBL 7.28% 7.39% -0.11%
CZBIL 7.30% 7.55% -0.25%
SBL 7.31% 7.34% -0.03%
LSL 7.34% 7.55% -0.21%
PCBL 7.37% 7.64% -0.27%
NICA 7.75% 8.04% -0.29%
Average 6.81% 7.02% -0.21%
के हो बेस रेट (आधार दर) ?
बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर ( बेस रेट) हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्दछ ।
आधार दर भन्दा बढी कुनै पनि बैंक तथा बित्तीय संस्था ले ब्याजदर लिन पाउँदैनन्। कर्जाको ब्याजदर आधार दर (बेस रेट) मा लिङ्क गरेको हुन्छ । आधार दर जहिले पनि तीन-तीन महिनामा घटबढ हुने गर्दछ । यो अटोमेटिक घटबढ हुने हो । यो तल माथी हुनुमा बैंकहरुको हात हुँदैन । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो ।
सामान्यतया कर्जाको विषयमा बेस रेट प्लस एक प्रतिशत भनिएको हुन्छ । मानौं कुनै बेला ८ प्रतिशत बेस रेट छ भने एक प्रतिशत जोड्दा ब्याज ९ प्रतिशत हुन्छ । बेसरेट घटेर ७ मा आयो भने फेरि एक जोडेर ८ प्रतिशत हुनेहुन्छ । त्यसकारण बैंकहरुले निक्षेपमा ब्याजदर घटाउँछन् तर कर्जामा चाही घटाउँदैनन् भन्ने भ्रम झुठो हो ।
बेसरेट आजको आजै तल माथि हुदैन । जतिबेला बजारमा तरलताको अभाव हुन्छ त्यो बेला कर्जा र निक्षेप दुबैतर्फको ब्याज दर बढ्छ । ब्याजदर घट्ने बढ्ने भन्ने विषय निक्षेपमा भरपर्छ । निक्षेप कति सहज हिसावले आउँछ यदी ठुलो हिसावले आयो भने कर्जाको ब्याजदर पनि तल आउने हुन्छ ।
बेसरेट गणना गर्ने विषयमा चार वटा कम्पोनेन्टहरु छन् । त्यसमा सबैभन्दा ठुलो कम्पोनेन्ट Cost Of Fund हो । Cost Of Fund भनेको निक्षेपकर्ताहरुको माझ दिइने ब्याज हो । भोली निक्षेपको अवस्था सहज भयो त्यसको प्रत्यक्ष असर बेस रेटमा पर्छ र बेस रेट तल झर्छ । त्यस्तो हुंदा कर्जाको ब्याजदर पनि स्वतः घट्छ ।
आधार दर गणना गर्ने विधिः
आधार दर गणना गर्दा निम्नानुसारको विधि अपनाउनुपर्छ ।
आधार दर = कोष लागत प्रतिशत + अनिवार्य मौज्दात लागत प्रतिशत + वैधानिक तरलता लागत प्रतिशत + संचालन लागत प्रतिशत ।




