January 25th, 2025

चार बैंकको निष्क्रिय कर्जा ५ प्रतिशतमाथि

बैंकिङ खबर/ चार वाणिज्य बैंकको निष्क्रिय कर्जा ५ प्रतिशतमाथि पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (पुस मसान्तसम्म) को वित्तीय विवरण अनुसार कुमारी, नेपाल इनभेष्टमेन्ट, लक्ष्मी सनराइज र प्रभु बैंकको निष्क्रिय कर्जा पाँच प्रतिशत भन्दा माथि पुगेको छ ।

यसैगरी ६ बैंकको निष्क्रिय कर्जा अनुपात पनि ५ प्रतिशत हाराहारीमै छ । नेपाल बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्शियल बैंक र कृषि विकास बैंकको यस्तो अनुपता ४.९० प्रतिशतभन्दा माथि छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, एनआईशी एशिया बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकको निष्क्रिय कर्जा ४ प्रतिशत भन्दा माथि छ ।

एनएमबि बैंक, नेपाल एसबीआई बैंक, र सानिमा बैंकको निष्क्रिय कर्जा ३ प्रतिशतभन्दा माथि हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंक १.७१ प्रतिशत निष्क्रिय कर्जासहित सबैभन्दा कम निष्क्रिय कर्जा भएको दोस्रो बैंकको रुपमा रहेको छ ।

बैंकवित्तले निष्कृय कर्जा लुकाउँदा झन् समस्या आउन सक्छ : नरबहादुर थापा

वरिष्ठ अर्थविद् तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बैंकवित्तले खराब कर्जा अनुपात (एनपीएल) लाई लुकाउन नहुने बताएका छन् । मिडिया इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले पछिल्लो समय नेपालमा पनि खराब कर्जा अनुपात बढ्दै गएको बताए । उनले अहिले खराब कर्जाको अनुपात १५,२० प्रतिशत माथि पुगेपनि बैंकहरुले लुकाउँदा झन् समस्या उत्पन्न हुन सक्ने बताए ।

छिमेकी देश भारतको उदाहरण दिँदै उनले भने, ‘८, १० वर्ष यता भारतमा दुई पटक एनपीएल १४ प्रतिशत माथि पुगेको थियो । बैंकवित्तले भन्न हिचकिच्याएनन् । कार्पेट मुनि एनपिएलको तथ्य लुकाएनन् । ४,५ प्रतिशत भनेर ढाटेनन् । जनतालाई भने । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदी सरकार परिचालित भयो, अर्थमन्त्री परिचालित भए । आरबीआइ परिचालित भयो । सम्बन्धित बोर्ड, कर्मचारी परिचालित भए । १,२ वर्षभित्र १४ प्रतिशत भएको निष्कृय कर्जा अनुपात ४,५ प्रतिशत तल झारे । यो एक किसिमको रोग जस्तै हौ । लुकाउने होइन् । त्यसलाई भन्नुपर्छ ।’

नेपालमा पनि अहिले खराब कर्जा बढ्दो रहेको भन्दै यथार्थता देखाउँदा समयमै समाधान हुने उनले बताए । उनले भने, ‘होइन भने सिमेन्ट जस्तो हुन्छ । यो वित्तीय संस्थामा आउन बेर लाग्दैन ।’