बैंकिङ खबर/ पछिल्लो समय बैंकवित्तीय संस्थाको खराब कर्जा झन् पछि झन् बढ्न थालेको छ । असोज मसान्तमा तीनवटा वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात ५ प्रतिशतमाथि थियो । केही बाहेक धेरैजसो बैंकहरूको ५ प्रतिशत कट्ने देखिएको छ ।
बैंकहरुबीचको खराब कर्जा बढेसँगै बैंक र ऋणीहरुबीचको विवाद पनि चुलिँदै गएको छ । सम्झौता अनुसार ऋणीहरुले ऋण नतिर्दा बैंकहरु धमाधम मुद्दा दायर गर्न थालेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पुस महिनामा मात्रै ऋण असुली न्यायाधिकरणमा १०२ वटा मुद्दा दर्ता भएका छन् । यी मुद्दाबाट अर्बौं कर्जा असुल गर्नुपर्ने ऋण असुली न्यायधिकरणको तथ्यांकमा उल्लेख छ ।
पुस महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा धेरै मुद्दा दर्ता गरेको छ। बैंकले ३७ वटा मुद्दा दर्ता गरेको छ, जसमार्फत बैंकले कुल ३२ करोड ५२ लाख २८ हजार ६ सय ७५.११ रुपैयाँ असुल गर्नु पर्नेछ । एनआइसी एशिया बैंकले विभिन्न संस्थाहरू र व्यक्तिहरू विरुद्ध मुद्दा दर्ता गरेको छ। जसमा शुभम ट्रेडर्स, ए वान पोल्टी एण्ड लाइभस्टक प्रालि, गौतम इन्टरप्राइजेज, सन्कल्प केपीएस ट्रेडिङ्ग लगायत रहेका छन् ।
त्यसैगरी, कुमारी बैंकले २४ वटा मुद्दा दर्ता गरेको छ । जसबाट बैंकले १६ करोड ३५ लाख रुपैयाँ रकम उठाउनु पर्नेछ। त्यस्तै, ग्लोबल आइएमई बैंकले ८ वटा, नबिल बैंकले ४ वटा र माछापुच्छ्रे बैंकले १ वटा मुद्दा दायर गरेका छन्। चालु वर्षको सार्न महिनामा ५६, भदौ महिनामा ७६, असोज महिनामा ३२, कार्तिक महिनामा ४६, मंसिर ७० र पुस महिनामा १०३ वटा मुद्दा दर्ता भएको छ । यसरी चालु वर्षको ६ महिनामै बैंक तथा ऋणीहरुले ३८२ वटा मुद्दा दर्ता गरिसकेका छन् ।