
बैंकिङ खबर/ पछिल्लो समय बैंकवित्तीय संस्थाको खराब कर्जा झन् पछि झन् बढ्न थालेको छ । असोज मसान्तमा तीनवटा वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात ५ प्रतिशतमाथि थियो । केही बाहेक धेरैजसो बैंकहरूको ५ प्रतिशत कट्ने देखिएको छ ।
हालै मात्र बैंकर्स संघमा बैंकका सीईओहरुले खराब कर्जा कति पुग्छ भन्ने छलफल गरेका छन् । छलफलका अन्य विषय भएपनि खराब कर्जाको विषयमा छलफल थियो । छलफलमा सीईओहरुले केही बाहेक सबै बैंकको खराब कर्जा ५ प्रतिशत पुस मसान्तमा कट्ने बताएका छन् । चैत मसान्तमा ६ प्रतिशत पुग्ने र असारसम्म ७ प्रतिशत खराब कर्जा अनुपात पुग्नेमा सीईओहरु एकमत देखिएका थिए ।
बैंकर्स संघमा सीईओहरुबीच पुस मसान्तमा मिलाउने ब्यालेन्ससिटभन्दा पनि वास्तविक नै ल्याउने भन्नेमा छलफल भएको थियो । राष्ट्र बैंकले निर्माण व्यवसायीहरूलाई दिएको सहुलियत निरन्तरता दिएको छैन । जसले गर्दा निर्माण व्यवसायीमा गएको कर्जाले खराब कर्जा थप बढाउने छ । यसबाहेक निर्माण व्यवसायीलाई ऋण तिर्न राष्ट्र बैंकले दिएको सहुलियतले सक्ने व्यवसायीले समेत ऋण नतिर्ने प्रवृत्ति देखिएको बैंकरहरु बताउँछन् ।
असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकहरूको औसत खराब कर्जा अनुपात ४.२८ प्रतिशत छ । बैंकरहरुका अनुसार वास्तविक रूपमा ब्यालेन्ससिट देखाएमा खराब कर्जा अनुपात नै अहिले नै औसतमा करिब १० प्रतिशतभन्दा माथि रहेको बताउँछन् ।
पेट्रोल खन्याएर ज्यान मार्ने प्रयास
केही दिन अघि मात्रै ऋण उठाउन जाँदा एक बैंकका कर्मचारीमाथि पेट्रोल छर्किएर जलाउने प्रयास भयो । एनआईसी एशिया बैंक रौतहट शाखाका कर्मचारीमाथि जलाउने प्रयास भएको हो ।
चन्द्रनिगाहपुर शाखाका प्रबन्धक लक्ष्मण गिरीले ईलाका प्रहरी कार्यालय गरुडामा दिएको जाहेरी अनुसार बैंकको महागढीमाई शाखाका शाखा इन्चार्ज विकास श्रेष्ठ र एक्सपिरियन्स एंकर जयदीप कुशवाहामाथि ऋणीले पेट्रोल खन्याएर ज्यान लिने प्रयास गरेका हुन् । बैंकको महागढीमाई शाखाबाट ऋण लिएका नारायण सहनीको किस्ता अनियमित भएपछि यहि पुस ४ गते श्रेष्ठ र कुशवाहा कानून अनुुसार धितो सम्पत्ति लिलाम बिक्री गर्ने कारवाही अघि बढाउन गरुडा नगरपालिका–३ मलाही टोल पुगेका थिए । तर, कानून अनुसार प्रक्रिया अघि बढाउन पुगेका उनीहरुमाथि ऋणी समूहले दूव्र्यवहार गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।
अझ यतिसम्म कि बैंकका कर्मचारीमाथि पेट्रोल खन्याएर ज्यान मार्ने प्रयास गरेको पनि जाहेरीमा उल्लेख छ । ‘ऋणी नारायण सहनी, ऋणीको श्रीमती चमेली सहनी, बिनोद सहनी र सिकेन्द्र सहनीले बैंकका कर्मचारीहरुलाई गालिगलौज गरी, हातपात गरी पेट्रोल खनाई लाइटर लिएर ज्यान मार्ने गरी आक्रमण गरेको, बैंकका कर्मचारीहरु विकास श्रेष्ठ र जयदीप कुशवाहा सो स्थानबाट भागेर ज्यान जोगाइ प्रहरी कार्यालय गरुडामा पुगेकोमा निज नारायण सहनी, चमेली सहनी, बिनोद सहनी र सिकेन्द्र सहनी उपर प्रचलित कानून बमोजिम कारवाही गरि पाउँ भनी निवेदन पेश गरिएको छ’, जाहेरीमा उल्लेख छ ।
लहानमा प्रदर्शन
कृषि विकास बैंक लहान शाखाले करोडौंको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले गएको घण्टौंसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग समेत अवरूद्ध पारे ।
आन्दोलनकारीले कृषि विकास बैंक कार्यालयमा ढुंगामुढा गरेका थिए । यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको छ । आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार र चार राउन्ड हवाई फायर गर्नुपरेको सिरहा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए । उनले झडपमा १० जना बढी प्रहरी घाइते भएको र आन्दोलनकारी के–कति घाइते भएका यकिन नभएको बताए ।
प्रहरी प्रवक्ता पासवानका अनुसार केही आन्दोलनकारी पक्राउ परेका छन् । उनीहरूलाई इलाका प्रशासन कार्यालय लहानमा राखेर ‘भेरिफाइ’ गर्ने काम भइरहेको छ । स्थिति सामान्य भएपछि चार घण्टापछि दिउँसोदेखि राजमार्ग सञ्चालनमा आएको थियो ।
स्थानीय किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्ग टाँसिएकै सवा सात धुर जग्गा धितो राखी २०७७ साल फागुन १५ गते ३० लाख रुपैयाँ ‘ओडी’ ऋण लिएका थिए । झण्डै चार वर्षअघि लिएको उक्त ऋणको सावाँ र ब्याज गरी हालसम्म १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिरिसक्दा पनि सस्तैमा जग्गा लिलाम भएकाले अन्यायमा परेकाले आन्दोलन गर्नुपरेको ऋणी यादवले बताए ।
यसभन्दा अगाडि पुस ११ गते ऋणी यादवको साथमा स्थानीयले यस कृषि बैंकमा तालाबन्दी गरेका थिए । सोही दिन आन्दोलनकारी र बैंकबीच वार्ता भएर आठ घण्टापछि साँझ तालाबन्दी खुलेको थियो । सो वार्तामा लिलाम भएका जग्गा तत्कालै बैंकले मालपोतलाई पत्राचार गरी रोक्का गर्ने र कानूनी प्रक्रिया मिलाएर जग्गा फिर्ता गरी धनीको नाममा कायम गर्ने सहमति भएको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विकास शारदा बताउँछन् ।
अध्यक्ष शारदाले भने,‘दुई पक्षबीच भएको सहमति पालना नहुँदा आन्दोलन चर्कियो । यहाँ बैंकले ऋण स्वीकृत गर्ने बेलामा जग्गाको मूल्यांकन ८० लाख गरेर ३० लाख रुपैयाँ ऋण स्वीकृत गरेको देखिन्छ, तर चार वर्षपछि जग्गाको भाउ बढ्नुको सट्टा घटाएर ६५ लाख रुपैयाँ मूल्यांकन गरी ३५ लाखमा लिलामी गरिनुले कुनै न कुनै खोट देखिन्छ ।’
चलनचल्तीअनुसार एक करोड ४५ लाखमा बिक्री हुने जग्गा ३५ लाख रुपैयाँमा लिलाम गरिदिएको पीडित यादवले बताए । उनले भने, ‘गाउँको १० कठ्ठा जग्गा बेचेर बजारमा जग्गा किनी घर बनायौं, तर त्यो बैंकले लिलाम गर्दा बेघर भयौं । सोझो मान्छे जसरी पनि ठगिनेरहेछ । हामीलाई सरकारले न्याय गर्नुपर्छ ।’
यता कृषि विकास बैंक लहान शाखाले यस विषयमा सहजीकरण गरिदिन राष्ट्र बैंकको जनकपुर कार्यालयलाई अनुरोध गरेको जनकपुरस्थित राष्ट्र बैंकका कार्यालय प्रमुख माधव दङ्गालले बताए । उनले ऋणीलाई कानूनी प्रक्रियाबाट समस्या समाधान खोज्न आग्रह गरे ।
उनले भने,‘हामीलाई प्राप्त सूचनाअनुसार २०७९ सालदेखि ऋणीले सावाँ ब्याज नबुझाएको र सम्बन्धित बैंकले चारपटक सूचना निकाली जग्गा लिलाम सकार गरेको बुझिन्छ । ग्राहकलाई प्रक्रिया नमिलेको वा चित्त नबुझेको भए कानूनसम्मत रूपमा आउनुभयो भने राष्ट्र बैंकले सहजीकरण गर्नुपर्छ, हामी त्यो गर्छौं ।’
सिद्धार्थ बैंक जनकपुरमा लफडा
सिद्धार्थ बैंक जनकपुरको मिल्स एरियास्थित शाखा प्रबन्धक अरन बलम्पाकीसँग प्रहरीले सोधपुछ गरेको छ । जनकपुर उपमहानगरपालिका– ८ बस्ने ऋृणी सुध्रिकादेवी कुर्मीले बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि प्रहरीले बिहीबार उनीसँग सोधपुछ गरेको हो ।
ऋणी कुर्मीले केही वर्षअघि ऋृण लिँदा धितोबापत राखेको जनकपुर– ८ कै साढे ८ धुर जग्गा बलम्पाकीले जानकारीबिनै लिलामी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले सोधपुछ गरेको हो ।
यता बैंकले विज्ञप्ति जारी गर्दै बैंकले ऋणीहरूसँगको कर्जा असुली प्रक्रिया प्रचलित कानूनी पद्धति र बैंकिङ अभ्यास अनुसार नै सम्पन्न गरेको बताएको हो ।
बैंककाअनुसार, जनकपुर र क्षीरेश्वर शाखाबाट कर्जा लिएका ऋणीहरूले लामो समयसम्म भुक्तानी नगरेपछि मौखिक र लिखित पत्राचार गर्दै ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । ऋण चुक्ता नगरेपछि कानूनी प्रक्रिया अनुसार धितो लिलामी गरी स्वीकृत बोलपत्रदाताको नाममा नामसारी गरिएको हो ।
यस प्रक्रियामा असहमति जनाउँदै केही व्यक्तिहरूले जनकपुर शाखा कार्यालयमा धर्ना र नाराबाजी गरे, जसले बैंकको सेवा अवरुद्ध भएको थियो । सुरक्षाका लागि बैंकले स्थानीय निकायसँग समन्वय गर्दै शाखा प्रबन्धक र अन्य कर्मचारीलाई छलफलका लागि प्रहरी कार्यालयमा पठाएको थियो ।
त्रासमा बैंकवित्तका कर्मचारी
बढ्दो खराब कर्जाका कारण बैंकवित्तका कर्मचारीहरु अहिले तनाबमा छन् । अर्कोतर्फ खराब कर्जा उठानका लागि ताकेतामा जाँदा बैंकका कर्मचारीमाथि हातपात नै हुने गरेका घटनाहरु सार्वजनिक हुन थालेका छन् । यता बैंकरले कर्जा समयमा उठाउन नसक्दा उसको कार्यक्षमता माथि नै प्रश्न समेत उठ्ने गरेको छ ।
ऋणीले तिर्न छाडे साँवा र ब्याज
बैंक तथा वित्तीय संस्थामा ऋणीले लगेका ऋणको साँवा र ब्याज असुल हुने क्रम उच्च दरमा घटेको छ । पछिल्लो समय क्षमता हुने व्यक्तिले पनि साँवा र ब्याज तिर्न छाडेका छन् । मंसिर मसान्तसम्म साँवा ब्याज तिर्नेको संख्या अपेक्षा गरेभन्दा पनि घटेको छ ।
चालु पुँजी कर्जा सम्बन्धी मापदण्ड कार्यान्वयनमा आउनुको साथै कर चुक्ता प्रमाणपत्रका आधारमा मात्रै व्यक्तिगत प्रकृतिको कर्जा दिने क्रम सुरु भएपछि कर्जाको माग सुस्त भएको बैंकरहरु बताउँछन् ।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकको साँवा र ब्याज तिर्नु नपर्ने गरी विवादित बयान दिएपछि क्षमता भएका व्यक्तिहरुले समेत बैंकको साँवा र ब्याज नतिरेको बैंकरहरु बताउँछन् । साँवा र ब्याज उठ्ने क्रम सुस्त हुँदा बैंकको निष्क्रिय कर्जा निरन्तर बढीरहेको बैंकरहरुको भनाइ छ ।
चुनौतीपूर्ण बन्दै कर्जा असुली
बैंकहरुमा देखिएको अधिक तरलता र वृद्धि भइरहेको खराब कर्जा व्यवस्थापन बैंकहरुलाई प्रमुख चुनौती बनेको छ । ऋण असुलीमा पनि बैंकहरुलाई ठूलो चुनौती देखिएको छ ।
जुन अहिले टाउको दुखाइको विषय बनेको छ । बैंकहरुले कर्जा असुली गर्न नसक्दा दिन प्रतिदिन बैंकहरुको खराब कर्जामा पनि वृद्धि हुने देखिएको छ । तीन चार वर्ष पहिला १ प्रतिशत रहेको बैंकहरुको एनपीए पछिल्लो समय अधिकांश बैंकहरुको ४ प्रतिशत माथि पुगेको छ ।
बैंकहरुमा एनपीए वृद्धि हुँदै जानु बैंकहरुको लागि ठूलो चुनौती हो । यसले खराब कर्जा वृद्धि हुँदा ऋण असुलीमा समस्या छ । बैंकहरुमा विगतमा प्रवाह भएको कर्जाबाट नियमित सावाँब्याज उठ्न नसक्दा निष्क्रिय कर्जा बढ्दै गएको हो ।
कर्जा असुलीमा रहेका प्रमुख समस्या तथा चुनौती
अर्थतन्त्रमा आर्थिक मन्दी बढ्दै जाँदा कर्जा असुली चुनौतीपूर्ण बन्दै गएको छ ।
विभिन्न व्यवसायीहरुको आर्थिक मन्दीको कारणले अपेक्षित आम्दानी नबढ्दा सोही अनुसारको कर्जा असुलीमा समस्या सिर्जना भएको छ ।
केही सामाजिक अभियन्ताहरुले बैंकको कर्जा भुक्तानी गर्नु पर्दैन भन्ने जस्ता भ्रमहरु फैलाउँदा कर्जा असुलीको कार्य चुनौतीपूर्ण रहेको छ ।
हाइपोथेकेशन कर्जा असुलीको लागि सम्पत्ति व्यवस्थापन कम्पनीको अभाव हुँदा कर्जा असुली चुनौतीपूर्ण रहेको छ।
आन्तरिक ऋण, सम्बन्धित पार्टी ऋणको कर्जा असुली चुनौतीपूर्ण बन्दै गएको छ ।
कर्जा असुलीका विभिन्न मुद्दाहरु ऋण असुली न्यायाधीकरणमा लामो समयसम्म विचाराधीन रहनु ।
लिलामी प्रक्रिया जटिल हुनु आदि जस्ता समस्याको कारणले पछिल्लो समयमा कर्जा असुलीको कार्य चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।




