
बैंकिङ खबर/ बैंकवित्तीय संस्थामा बढ्दो खराब कर्जा र अधिक तरलता रहेपनि राष्ट्र बैंकको तथ्यांकले भने सुधारोन्मुख देखाएको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह बढ्न थालेको छ । चालू आर्थिक वर्षको शुरूवातदेखि सुस्त रहेको कर्जा प्रवाह दोस्रो त्रैमासमा केही बढेको देखिएको हो ।
पहिलो त्रैमास (साउनदेखि असोजसम्म)मा बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर न्यून हुँदा पनि कर्जा प्रवाह बढ्न सकेको थिएन । पहिलो त्रैमासपछि बैंकहरूले केही मात्रामा कर्जा प्रवाह बढाएका छन् ।
पहिलो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाहरूबाट ५२ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । कात्तिकमा कर्जा प्रवाह घटेर ५२ खर्ब ८९ अर्बमा खुम्चिएको थियो । तर, मंसिरमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह ४४ अर्बले बढाएर ५३ खर्ब ३३ अर्ब पु¥याएका छन् । दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाहरूले दोस्रो त्रैमासबाट केही लय समाउन थालेको देखिन्छ ।
चालू आवको शुरूवाति महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको ५१ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा ५ महिनामा ५३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पुसको अन्तिमसम्म यस्तो कर्जा प्रवाह ५३ खर्ब ८७ अर्ब पुगिसेकेको छ ।
चालू आर्थिक वर्षको शुरूवातिदेखि नै बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७८.८० प्रतिशत थियो । भदौमा कर्जा निक्षेप अनुपात घटेर ७८.२६ प्रतिशतमा झरेको थियो । असोजमा केही बढेर ७८.३६ प्रतिशत पुगेको थियो । कात्तिकमा पुन सीडी रेसियो ७८.२६ प्रतिशतमा झरेको थियो । मंसिरमा सीडी रेसियो केही बढेर ७८.५४ प्रतिशत रहेको थियो । जुन पुसको अन्तिम सातासम्म आइपुग्दा ७९.२० प्रतिशत पुगेको छ ।
राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशतसम्म राख्न पाउने व्यवस्था गरेको छ । अर्थात्, बैंकहरूले १०० प्रतिशत मौज्दातमा ९० प्रतिशत कर्जा लगानी गर्न पाउने सुविधा दिएको छ ।
निजी क्षेत्रमा प्रवाह भएको कर्जामध्ये बैंक तथा वित्तीय संस्थाहरूले सबैभन्दा बढी रियल स्टेटमा लगानी गरेका छन् ।पाँच महिनाको अवधिमा सबैभन्दा बढी २ खर्ब ७७ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ कर्जा रियल स्टेटमा प्रवाह भएको छ । त्यस्तै, हायर पर्चेज कर्जामा पनि बैंक तथा वित्तीय संस्थाहरूले लगानी बढाएका छन् । मंसिर महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूबाट १ खर्ब २६ अर्ब ६३ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । शेयर धितो कर्जामा पनि बैंक तथा वित्तीय संस्थाहरूको १ खर्ब ७ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी भएको छ ।
वाणिज्य बैंकहरूले शेयर धितो कर्जामा ८६ अर्ब ३३ करोड रुपैयाँ लगानी गरिसकेका छन् । शेयर धितो कर्जामा पनि सबैभन्दा ग्लोबल आईएमई बैंक र नबिल बैंक अगाडि देखिएका छन् ।नबिल बैंकले चालू आर्थिक वर्षको ५ महिनामा ११ अर्ब ३९ करोड ५० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकले ११ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ यस्तो कर्जामा लगानी गरेको छ ।
हायर पर्चेज कर्जा अर्थात् सवारी कर्जामा वाणिज्य बैंकहरूले १ खर्ब ११ अर्ब ५८ करोड २० लाख रुपैयाँ प्रवाह गरेका छन् । सवारी कर्जामा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले १५ अर्ब ७३ करोड ६२ लाख प्रवाह गरेको छ । त्यस्तै, नबिल बैंकले ११ अर्ब ५७ करोड ७७ लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेका छन् ।रियल स्टेट कर्जामा वाणिज्य बैंकहरूले २ खर्ब ३४ अर्ब ५ करोड ७३ लाख रुपैयाँ लगानी गरेका छन् । रियल स्टेटमा सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले २४ अर्ब ८२ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, नबिल बैंकले ५ महिनामा २४ अर्ब ६ करोड २७ लाख रुपैयाँ रियल स्टेटमा लगानी गरेको छ ।
मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको नाफा पनि बढेको छ ।पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ३३ अर्ब ९७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ३० अर्ब ९१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए, जुन चालू आर्थिक वर्षमा केही बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कुल खुद नाफामध्ये वाणिज्य बैंकहरूले मात्रै ३० अर्ब ५९ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । त्यस्तै, विकास बैंकहरूले २ अर्ब ८३ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् भने फाइनान्स कम्पनीहरूले मंसिर महिनासम्म ५४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।




