
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले गैर बैंकिङ सम्पत्ति सकार, नोक्सानी व्यवस्था र लिलाम बिक्री सम्बन्धी नयाँ ब्यवस्थाहरु जारी गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो ।
यस्ता छन् नयाँ व्यवस्था
(१) इजाजतपत्रप्राप्त संस्थाले कुनै कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्नेछ । संस्थाले कर्जा असुल गर्ने सिलसिलामा धितो लिलामी गर्दा लिलाम बिक्री नभएमा आफैले सकार गर्नु पर्नेछ । सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्न ज्ञघ अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकम मध्ये जुन कम हुन्छ सोही मूल्यमा मूल्याङ्कन गर्नुपर्नेछ ।
यदि धितोको बजार मूल्य कर्जाको लेना रकम भन्दा कम भएमा कम भएजति रकम सोही आर्थिक वर्षमा नाफा-नोक्सान हिसावमा खर्च लेख्ने व्यहोरा लेखा नीतिमा उल्लेख गर्नु पर्नेछ । तर, यसरी मूल्याङ्कन गर्दा त्यस्तो गैर बैंकिङ सम्पत्ति वापतको रकम सम्पूर्ण रुपमा हिसाब मिलान नभएसम्म लेना रकममध्येको ब्याज रकमलाई नाफा-नोक्सान हिसाबमा आम्दानी जनाउन पाइने छैन र त्यस्तो रकमलाई गैर बैंकिङ सम्पत्ति वापतको नोक्सानी व्यवस्थामा सार्नु पर्नेछ ।
(२) इजाजतपत्रप्राप्त संस्थाले सकार गरेको गैर बैंकिङ सम्पत्तिमा सकार गरेकै मितिदेखि शत प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।
(३) गैरबैंकिङ सम्पत्ति बिक्री भएको अवस्थामा त्यस्तो सम्पत्तिका लागि सिर्जना गरिएको नोक्सानी व्यवस्थाको आवश्यक हिसाबमिलान गर्नु पर्नेछ ।
(४) इजाजतपत्रप्राप्त संस्थाले धितो सुरक्षणलाई गैर बैंकिङ सम्पत्तिको रुपमा सकार गर्दा तथा सकार गरेको गैर बैंकिङ सम्पत्ति लिलाम बिक्री गर्ने सम्बन्धमा देहाय बमोजिम गर्नुपर्नेछ:
(क) रु. १० लाख भन्दा बढी कर्जा रकम बक्यौता रहेको ग्राहकको सुरक्षण सम्पत्तिलाई गैर बैंकिङ्ग सम्पत्तिको रुपमा सकार गर्दा सम्बन्धित पक्षलाई अनिवार्यरुपमा कालोसूचीमा समावेश गर्नु पर्नेछ । तर, रु. १० लाखसम्मको कर्जाको हकमा सम्बन्धित बैंक वा वित्तीय संस्थाले नै निर्णय गरी कालोसूचीमा समावेश गर्न सक्नेछ ।
(ख) आफ्नो संस्थाको नाममा रहेको गैर बैंकिङ सम्पत्तिको लिलाम गर्नुपूर्व स्वतन्त्र मूल्याङ्कनकर्ताबाट यथार्थपरक मूल्याङ्कन गराउनु पर्नेछ । तर, एउटै मूल्याङ्कनकर्ताबाट लगातार एकपटक भन्दा बढी सोही सम्पत्तिको मूल्याङ्कन गराउन पाइने छैन ।
(ग) धितो सुरक्षण-गैरबैंकिङ सम्पत्ति लिलाम सम्बन्धमा इजाजतपत्रप्राप्त संस्थाले पारदर्शी र स्पष्ट व्यवस्था गरी बैंक तथा वित्तीय संस्थाको हित संरक्षण हुने गरी बिक्री गर्नु पर्नेछ ।
(घ) यसरी गैर बैंकिङ सम्पत्ति सकार गरी लिंदा लिलाम हुन नसकेको सुरक्षणबापत राखिएको सम्पूर्ण सम्पत्तिलाई नै लिनु पर्नेछ, आंशिक रुपमा मात्र लिन पाइने छैन ।
(ङ) यसरी सकार गरी लिएको सम्पत्तिलाई यथासम्भव छिटो बिक्री गर्नु पर्नेछ । इजाजतपत्रप्राप्त संस्थाको आफ्नै प्रयोजनलाई आवश्यक भएमा सो को उपयोगका लागि सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंकलाई समेत जानकारी गराउनु पर्नेछ ।
(च) गैरबैंकिङ सम्पत्तिको रुपमा बैंक-वित्तीय संस्थाले सकार गरेको सम्पत्ति धितो सुरक्षण धनी (गैरबैंकिङ सम्पत्तिमा आउनु अघिको धनी) लाई फिर्ता गर्दा गैर बैंकिङ सम्पत्ति लेखाङ्कन गर्दाको मूल्य वा फिर्ता गर्दाको समयमा रहेको बक्यौता रकम (साँवा र ब्याजको जोड) मध्ये जुन बढी हुन्छ सो रकममा नघट्ने गरी सम्बन्धित संस्था र सम्बन्धित सुरक्षण धनीबीचको आपसी वार्ताद्वारा सम्बन्धित सुरक्षण धनीलाई मात्र धितो-सुरक्षण फिर्ता गर्न भने यो निर्देशनले बाधा पुर्याएको मानिने छैन ।




