
बैंकिङ खबर/ कोशी प्रदेशमा २०८१ असार मसान्तमा यस प्रदेशमा वाणिज्य बैंकका ७५४, विकास बैंकका १९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका ८५२ गरी जम्मा १,८३७ शाखा पुगेका छन् । २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १३.३८ प्रतिशतले वृद्धि भई ४ खर्ब ७७ अर्ब र प्रवाह गरेको कर्जा ३.८१ प्रतिशतले वृद्धि भई ५ खर्ब ७८ अर्ब पुगेको छ ।
२०८१ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा परिचालन गरेको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ६.५३ प्रतिशत, बचत निक्षेपको अंश ४४.२७ प्रतिशत, मुद्दती निक्षेपको अंश ४३.१९ प्रतिशत र अन्य निक्षेपको अंश ६.०१ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा कोशी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १३२.३० प्रतिशत रहेकोमा २०८१ असार मसान्तमा यस्तो अनुपात १२१.१४ प्रतिशत रहेको छ ।
सेवा क्षेत्रमा ३ खर्ब ७९ अर्ब कर्जा प्रवाह
आर्थिक वर्ष २०८०-८१ मा कोशी प्रदेशमा होटलहरुको औसत अकुपेन्सी दर ४१.८० प्रतिशत रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ३.९१ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा उक्त होटलहरुको औसत अकुपेन्सी दर ३६.२९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा यस प्रदेशका होटलहरूमा आन्तरिक पर्यटकको संख्या ४.७७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ५९.३२ प्रतिशतले बढेको थियो ।
आ.व. २०७९-८० को तुलनामा आर्थिक वर्ष २०८०-८१ मा कोशी प्रदेशमा समग्र जहाज उडान संख्या ६.२८ प्रतिशतले कमी आएकोछ । २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा सहकारी संस्थाको कुल पुँजी ५.८९ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तमा सहकारी संस्थाको पुँजी ६.०५ प्रतिशतले वृद्धि भएको थियो ।
आ.व. २०८०-८१ मा यस प्रदेशमा कुल ४० हजार ८ सय ५६ सवारी साधन दर्ता भएका छन् जुन आ.व. २०७९-८० को तुलनामा ३३.७५ प्रतिशतले बढी हो। २०८१ असार मसान्तमा कोशी प्रदेशमा सरकारी-सामुदायिक विद्यालय, संस्थागत-निजी र प्राविधिक शिक्षालयको संख्या कुल ७ हजार ९७ रहेको छ । २०८१ असार मसान्तसम्म कोशी प्रदेशमा सरकारी र निजी गरी कुल अस्पताल संख्या १६२ रहेका छन्। २०८० असार मसान्तमा यस्ता अस्पतालको संख्या १६४ रहेको थियो । २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तसम्म यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा ३.२८ प्रतिशतले बढ्न गई ३ खर्ब ७९ अर्ब पुगेको छ ।
विद्युत उत्पादन क्षमता ६५३.५५ मेगावाट
कोशी प्रदेशमा सञ्चालित विद्युत आयोजनाहरुको कुल उत्पादन क्षमता ६५३.५५ मेगावाट रहेको छ । समीक्षा आर्थिक वर्षमा कोशी प्रदेशमा निर्माण सम्पन्न ६ वटा जलविद्युत र एक सोलार गरी ७ वटा आयोजनाको विद्युत उत्पादन क्षमता १६८.५ मेगावाट रहेको छ । कोशी प्रदेशमा सञ्चालित जलविद्युत आयोजनामध्ये सोलुखुम्बु जिल्लामा सञ्चालित जलविद्युत आयोजनाहरुको सबैभन्दा बढी २४५.४ मे.वा. विद्युत उत्पादन क्षमता रहेको छ ।
यस प्रदेशका जिल्लाहरुमध्ये इलाममा १६ वटा, संखुवासभामा ८ वटा, सोलुखुम्बुमा ७ वटा, पाँचथर र ताप्लेजुङमा ५-५ वटा, खोटाङ र भोजपुरमा ३-३ वटा तेह्रथुम र ओखलढुङ्गामा १-१ वटा जलविद्युत आयोजना रहेका छन्भने झापा र मोरङमा १-१ वटा सोलार विद्युत आयोजना रहेका छन्।
कोशी प्रदेशको प्रदेश गौरवको आयोजनाको रुपमा रहेको विराटचोक–घिनाघाट सडक आयोजनाको आ.व. २०८०-८१ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा २०८१ असार मसान्तसम्म प्याकेज १ (११ किलोमिटर) को भौतिक तथा वित्तीय प्रगति क्रमशः ८८.० प्रतिशत र ९०.० प्रतिशत रहेको तथा प्याकेज–३ (२ किलोमिटर) को भौतिक तथा वित्तीय प्रगति क्रमशः १०० प्रतिशत र ९९ प्रतिशत रहेकोको छ भने प्याकेज–२ (९ किलोमिटर) को निर्माण सम्पन्न भएको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०-८१ मा कोशी प्रदेशको आर्थिक वृद्धि ३.५१ प्रतिशत रहने अनुमान रहेको छ । गत आर्थिक वर्षको आर्थिक वृद्धि २.१३ प्रतिशत भएको संशोधित अनुमान रहेको छ । आर्थिक वर्ष २०८०-८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक कार्यालयको अनुमान रहेको छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५.८८ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०-८१ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३२.८० प्रतिशत, उद्योग क्षेत्रको १६.३२ प्रतिशत र सेवा क्षेत्रको ५०.८८ प्रतिशत योगदान रहने अनुमान रहेको छ ।
कृषि उत्पादन वृद्धि, कृषि क्षेत्रमा प्रवाहित कर्जा घट्यो
आर्थिक वर्ष २०७९-८० को तुलनामा आर्थिक वर्ष २०८०-८१ मा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.५५ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसार लगायत बालीले ढाकेको क्षेत्रफल घटेकोले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको देखिन्छ । यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन १.१३ प्रतिशतले वृद्धि भएको छ ।
विशेष गरी खाद्य बाली अन्तर्गत धान ७.४५ प्रतिशत तथा कोदो ०.८६ प्रतिशतले बढेकाले समग्र कृषि बालीको उत्पादन वृद्धि भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा तरकारीको उत्पादन १.९८ प्रतिशत, चियाको उत्पादन ०.०१ प्रतिशत, कफीको उत्पादन १.२३ प्रतिशत तथा महको उत्पादन ०.२८ प्रतिशतले बढेको छ भने फलफूलको उत्पादन ०.९४ प्रतिशत र मसलाको उत्पादन ८.०३ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०८०-८१ मा यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३७.३ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३६.७४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०-८१ मा कोशी प्रदेशमा कुल सिञ्चित क्षेत्रफल १.५२ प्रतिशतले विस्तार भएको छ ।
२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा २.१० प्रतिशतले घटेर ५९ अर्ब ९० करोड ७४ लाख ४१ हजार पुगेको छ । २०८१ असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश १०.१२ प्रतिशत रहेको छ ।
उद्योगहरुको औसत क्षमता उपयोग ५२.७ प्रतिशत
आर्थिक वर्ष २०८०-८१ मा यस प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५२.७ प्रतिशत रहेको छ । अर्थिक वर्ष २०७९-८० मा उक्त उद्योगहरूको औसत क्षमता उपयोग ५१.१ प्रतिशत रहेकोथियो । उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा टायर तथा ट्यूव उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१.३ प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.४ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०-८१ मा यस अध्ययनमा समेटिएका उद्योगहरुको उत्पादनमध्ये गार्मेण्टको उत्पादन सबैभन्दा बढी २०२.१ प्रतिशतले बढेको छ भने घरेलु धातुका सामानको उत्पादन सबैभन्दा बढी ४५.७ प्रतिशतले घटेको छ ।
यस अध्ययनमा समेटिएका कोशी प्रदेशका ४३ वटा उद्योगहरुमा गत आ.व. २०७९-८० मा १८ हजार ४६१ जना श्रमिक कार्यरत रहेकोमा समीक्षा आर्थिक वर्षमा ती उद्योगहरुमा जम्मा १६ हजार ९५८ जना श्रमिक कार्यरत रहेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ८.१ प्रतिशतले कम हो । २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कुल औद्योगिक कर्जा ८.११ प्रतिशतले बढेर १ खर्ब ३९ अर्ब कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा ६.६४ प्रतिशतले बढेको थियो ।




