फाइनान्सबाहेक विहीबार कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ४५.१७ अंकले घटेको छ भने जलविद्युत् समूह २६.७५ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक र अन्य क्रमशः ९.३२, २.५८, ५.२३ र ६.९४ अंकले घटेका छन् । फाइनान्स समूह भने सामान्य ०.७ अंकले बढेका छ ।
बुधबारको तुलनामा कारोबार भने बढेको छ । बुधबार पौने ५१ करोडको कारोबार भएको बजारमा विहीबार ६० करोडको कारोबार भएको छ । दिनभरिमा १३४ वटा कम्पनीको सात लाख तीन हजार एक सय ६४ कित्ता सेयर चार हजार पाँच सय एक पटक कारोबार हुँदा कुल ६० करोड २५ लाख २८ हजार नौ सय १५ रुपैयाँ पुँजी परिचालन भएको छ ।
बजार घटेपनि शिखर इन्स्योरेन्स कम्पनीको १६ करोड ५५ लाख ७४ हजार ७६ रुपैयाँको कारोबार भएको छ । एभरेष्ट बैंकको तीन करोड ६६ लाख रुपैयाँको कारोबार हुँदा छिमेक लघुवित्तको तीन करोड २४ लाखको कारोबार भएको छ । सिद्धार्थ बैंकको दुई करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । बैंक अफ काठमाण्डू लुम्बिनी, मेगा बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, सगरमाथा फाइनान्स, नेशनल लाइफ इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
विहीबार सबैभन्दा धेरै एनबि इन्स्योरेन्सका सेयरधनीले ८ प्रतिशतका दरले सम्पत्ति बढाउँदा पोखरा फाइनान्सका सेयरधनीले ७.५७ र जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले ६.०५ प्रतिशतका दरले कमाएका छन् । कञ्चन डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास बैंक, राष्ट्रिय बीमा कम्पनी, बुटवल पावर कम्पनी, एनएमबि माइक्रोफाइनान्स, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ लगायतका सेयरधनीले पनि कमाएका छन् ।
अरुण फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ८.४९ प्रतिशतका दरले गुमाएका छन् भने अपि पावर कम्पनी र विजय लघुवित्तका सेयरधनीले क्रमशः ५.७० र ५.४७ प्रतिशतका दरले गुमाएका छन् । नागबेली लघुवित्त, समिट माइक्रोफाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, जलविद्युत लगानी तथा विकास कोष, कर्णाली डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, बरुण हाइड्रोपावर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।