Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

२०८१ पुष २६ गते


बैंकिङ खबर/ नेपालको अर्थतन्त्र विस्तारै लय समाल्दै अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको अवधिको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ रिपोर्टअनुसार आर्थिक सूचकांकहरूमा सुधारको साथै विभिन्न चुनौतीहरूको सामना गर्दै देश अघि बढिरहेको देखिएको हो ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा रेमिट्यान्स (विप्रेषण आप्रवाह) ४.४ प्रतिशतले वृद्धि भई ६ अर्ब ४० अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा चालु खाता १ खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४१ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४ करोडले बचतमा रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विस्तृत मुद्राप्रदाय ३.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ४.८ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा विस्तृत मुद्राप्रदाय ११.२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) २ खर्ब २५ अर्ब ३४ करोड (११.३ प्रतिशत) ले बढेको छ ।

यता, सञ्चित मुद्रा १०.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा सञ्चित मुद्रा १७.४ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । साथै, खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.६६९ अर्ब ७७ करोड रहेको थियो ।

यसअवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ खर्ब ७२ अर्ब ३२ करोड (२.७ प्रतिशत) ले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ७८ अर्ब २९ करोड (३.५ प्रतिशत) ले बढेको छ ।

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा वाणिज्य बैंकहरुको ६ अर्ब ८ अर्ब ५५ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को ७८ अर्ब ८१ करोड गरी कुल ६ खर्ब ८७ अर्ब ३६ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २० खर्ब ८१ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरुको २ खर्ब ३६ अर्ब ८६ करोड गरी कुल रु.२३१८ अर्ब ५३ करोडको अन्तर बैंक कारोबार भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल वस्तु निर्यात १६.५ प्रतिशतले वृद्धि भई ७३ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः २३.७ प्रतिशत र ६८.९ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फ भएको निर्यातमा १.२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, ऊनको गलौँचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ ।