बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकिङ तथा वित्तीय सेवा सम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्रको प्रयोगबारे थप स्पष्ट पारेको छ । राष्ट्र बैंकले बिहीबार बैंक खाताका लागि राष्ट्रिय परिचयपत्रका बारेमा एकीकृत निर्देशन जारी गरेको थियो ।
राष्ट्र बैंकले शुक्रबार थप स्पष्ट पार्दै निम्न बुँदामा स्पष्ट पारेको छ ।
बैंकिङ तथा वित्तीय सेवासम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्रको प्रयोगबारे थप स्पष्ट पारिएको सम्बन्धमा नेपाल सरकारबाट मिति २०८१ असार १० गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनामा मिति २०८१ माघ १ गते देखि बैंकिङ तथा वित्तीय सेवासम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्रको प्रयोग गर्नुपर्ने उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन आवश्यक रहेको ।
यसै सन्दर्भमा राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था गरेको जानकारी प्राप्त भएको छ ।
साथै, काठमाडौं उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविर (कार्यालय) मार्फत समेत त्यस्तो परिचयपत्र प्रदान हुँदै आएको छ ।
यो कार्यलाई सहजीकरण गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले Citizen Portal(https://citizenportal. donidcr.gov.np/en/check-national–id-number बाट राष्ट्रिय परिचय नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्थासमेत गरेको छ ।
उक्त पोर्टलमार्फत राष्ट्रिय परिचय नम्बरको जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको छ ।