डा.दिबाकर वशिष्ठ
जोखिम भनेको अपेक्षित प्रतिफल भन्दा वास्तविक प्रतिफल भिन्न हुन सक्ने अवस्था हो । उपभोक्ताको इच्छा, चाहना, वस्तुको मुल्य, प्रतिस्पर्धा जस्ता कुरामा नियमित परिवर्तन भइरहन्छ जसले जोखिम बढाउँदछ । प्रतिफल भनेको जोखिम बहन गरेवापत प्राप्त हुने पुरस्कार भएकोले बैंकिङ व्यावसाय गर्नुपूर्व जोखिम निर्धारण अपरिहार्य छ र व्यवसाय गरी सकेपछि यसको अनुगमनबाट समस्या देखिए बेलैमा सुधार जरुरी छ ।
विश्व परिवेश र नेपालकै प्राक्टिस अनुसार पनि बैंकिङ क्षेत्रले जोखिम आफैले नराखी बीमामार्फत अरुलाई पन्छाउने वा ट्रान्सफर गर्ने प्रवृति बढ्दो छ । बैंकिङ जोखिम भनेको बंैकको व्यावसाय, आर्थिक अवस्था र शाखामा आइपर्ने संकट हो । यस्ता बैंकिङ क्षेत्रमा आइपर्ने जोखिमहरुमा कर्जा, बजार, कार्यसंचालन, तरलता, शाख, कम्प्लायन्स र व्याजदर सम्बन्धी जोखिमहरु छन् । जसको प्रभावकारी व्यवस्थापन र सुधार हुन सकेन भने बैंकिङ क्षेत्रले जोखिम व्यर्होनुपर्दछ । जोखिम जुनसुकै भएपनि कम आँकलन गर्न सकिँदैन । यस्ता जोखिमहरु बैक तथा वित्तिय संस्थाहरुको आन्तरिक नियन्त्रण प्रणाली र नियमकानूनको कार्यान्वयनको अभावसँग सम्बन्धित छन् । चेकको कारोबारले लेनदेन र आर्थिक कारोबारलाई सहज त बनाएको छ, तर पछिल्लो समय यसको बढ्दो दुरूपयोगले जटिलता पनि थपिएको छ ।
बदनियतका साथ चेकको प्रयोग गर्दा आर्थिक अपराधमा वृद्धि हुनाका साथै समाजमा बंैकिङ प्रणालीप्रति पनि अविश्वास पैदा हुन गएको देखिन्छ । जसबाट नेपालमा बंैकिङ कसुर र चेक अनादरका मुद्दाहरूमा व्यापक वृद्धि भएको देखिन्छ ।
बैंकिङ क्षेत्रले सबल र सक्षम लगानीकर्ता आकर्षित गरी यसबाट उत्पन्न हुने जोखिम व्यवस्थापन गर्ने क्षमता राख्नुपर्दछ । पछिल्लो समय बैंकिङ क्षेत्रमा एकातर्फ जोखिम पहिचान, अनुगमन र यसको व्यवस्थापनमा चूनौति बढेको छ भने अर्कोतर्फ बैंकिङ क्षेत्रको नाफा कम भइरहेको, निष्कृय कर्जा अनुपात र गैरबंैकिङ सम्पत्ति बढिरहेको अवस्था छ । तसर्थ पनि हरेक जोखिमको पहिचान गर्ने, व्यवसायको नियमित अनुगमन र जोखिम देखिएमा समयमा नै त्यसको प्रभावकारी व्यवस्थापनमा बैंकिङ क्षेत्र चुक्नु हुँदैन ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन नं.०५।०८० ले समेत जोखिम व्यवस्थापन गर्ने संस्थाले सामना गर्नुपर्ने जोखिमको पहिचान, मापन, अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङका लागि सुदृढ जोखिम व्यवस्थापन संरचना तयार गरी कार्यान्वयनमा ल्याउनुपर्नेछ भनेको छ ।
संस्थागत सुशासन र सुदृढ जोखिम व्यवस्थापनबीच प्रभावकारी सम्बन्ध स्थापित हुने गरी जोखिम व्यवस्थापनप्रति संस्थाले पूर्ण प्रतिबद्धता व्यक्त गर्नु पर्नेछ भनिएको पाइन्छ । बैंक तथा वित्तीय क्षेत्रले व्यवसायिक रुपमा संचालन गरेका ग्राहक उन्मुख सेवाहरु प्रविधिको विकास र विस्तारसँगै दिन प्रतिदिन बढ्दै गएको छ । तर त्यसको असर उपभोक्ता, ग्राहक वा ऋणीमा के परिरहेको छ भन्ने कुराको पृष्ठपोषण कमजोर छ । जोखिमको सबै भन्दा ठूलो वाहक कर्मचारी नै भएको हुँदा निरन्तरको जोखिमको पहिचान, अनुगमन एवम् सुपरीवेक्षण एवं आन्तरिक नियन्त्रणले मात्र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिन्छ ।
बैंकिङ क्षेत्र आर्थिक दृष्टिकोणले संवेदनशिल क्षेत्र हो । बैंक तथा वित्तिय संस्थाले अन्तराष्ट्रिय रुपमा आर्थिक कारोवार गरेको हुन्छ । विश्वभरी फैलिएको प्रविधिले नयाँ प्रकृतिका अपराध र जालसाजी बढिरहेको हुँदा आन्तरिक नियन्त्रण प्रणालीलाई यस क्षेत्रले सुदृढ गर्नुपर्दछ । अन्यथा संचालन जोखिम भयभय हुने देखिन्छ ।
संचालन जोखिम अन्य जोखिमहरु भन्दा जटिल छ किनकी हामीले ग्राहकलाई राम्रोसँग पहिचान गर्न सकिरहेका छैनौ । यसको मात्रात्मक आँकलन गर्न पनि सकिँदैन । ग्राहक पनि सञ्चालन जोखिमका स्रोत भएको हुँदा यसबाट पर्न सक्ने जोखिमका बारेमा विश्लेषण गर्नु अपरिहार्य छ । कर्मचारी, उच्च व्यवस्थापन, सञ्चालक, सेवा आपूर्तिकर्ता, ग्राहक आदिले सञ्चालन जोखिम ल्याउँछन् ।
प्रडक्ट तथा सेवा र वस्तु तथा सेवा वितरण गर्ने माध्यमका कारण पनि सञ्चालक जोखिम बढेर जान्छ । सूचना तथा प्रविधिले पनि सञ्चालन जोखिम बढाउँछ । नीति र कार्यविधिका कारण पनि सञ्चालन जोखिम निम्तिन्छ । बाह्य कारणले पनि
सञ्चालन जोखिम बढाउँछ । ग्राहकको कारोबार र गतिविधिबारे निरन्तर रूपमा अनुगमन गर्नुपर्दछ । ग्राहकसँग सम्बन्धित विवरण र पहिचान कागजात नियमित रूपमा अद्यावधिक गर्दै जानुपर्दछ, जुन फलोअप भित्रनै पर्दछ ।ग्राहक नभइ बैंकले व्यवसाय गर्न सक्दैन तर ग्राहकले व्यवसाय सँगसँगै जोखिम पनि लिएर आएका हुन्छन् ।
ग्राहकको प्रोफाइलअनुसार जोखिमको स्तर भने कम र बढी हुन सक्दछ । त्यसैले बैंकको संयन्त्रले ग्राहकको सही रूपमा फलोअप अथवा पहिचान गर्न सक्नुपर्दछ । त्यसो त पछिल्लो समेत वैंकिग क्षेत्रको ब्याजदर निरन्तर घटेको छ, तर कर्जा लगानी बढ्न सकेको छैन । बैंकहरुले औषत ६ प्रतिशतमा निक्षेप संकलन गरी ३ प्रतिशतमा राष्ट्र बंैकमा राख्न बाध्य छन् । वित्तीय क्षेत्रमा करिव ७ खर्ब भन्दा बढी लगानीयोग्य रकम छ ।
यसरी तरलता वृद्धिभै रहने तर लगानी नहुने हो भने भविष्यमा कतै लिक्विडिटी ट्रयाप (ब्याजदर माइनसमा जाने समस्या) को जोखिम त आउने होइन भन्ने चिन्ता बैंकिङ क्षेत्रलाई परेको हुनुपर्दछ । जापान, डेनमार्क, स्वीडेन, नर्वे, बुल्गेरिया लगायत कै कुरा गर्दा ब्याजदर शुन्यको आसपासमा छ अर्थात् ऋणात्मक देखिन्छ । यसरी बैंकिङ क्षेत्रमा हालै परेको नकारात्मक प्रभाव पनि जोखिम नै हो । अन्तर्राष्ट्रिय घटनाहरुलाई हेर्दा ग्राहकको शंखास्पद कारोवारलाई पहिचान गर्न नसक्दा कतिपय देशका बैंकहरुका सञ्चालक समितिका सदस्यले मात्र होइन, प्रमुख कार्यकारी अधिकृत र अन्य उच्च पदाधिकारीले पदबाट राजीनामा दिन बाध्य हुनुपरेको थियो । यसबाट पाठ सिक्नु जरुरी छ ।
तसर्थ,ग्राहक पहिचान गर्ने कार्यका लागि पर्याप्त मात्रामा संयन्त्र छ छैन भन्ने मूल्यांकन गर्ने कार्यमा बैंकिग क्षेत्र चुक्नु हुँदैन । बंैकका उच्च पदस्थदेखि सबै तहको कर्मचारीले कुनै पनि जोखिमलाई सानो ठान्ने भुल गर्नुहुँदैन । बैंकिङ व्यावसायमा रणनीतिक गल्ती भयो कि भन्नेतर्फ पनि हेक्का राख्नुपर्दछ । सम्पत्ती शुद्धीकरण सम्बन्धी नियमको पालनामा पनि बैंक कहिकतै चुक्नु हँुदैन । यसले पनि बैंकिङ क्षेत्रको शाखलाई आघात पु¥याउँदछ । सम्पत्ती शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको पालना गर्न चुकेकै कारण विभिन्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले भारी रकम जरिवाना गरेको दृष्टान्त नेपालमै छ ।
जोखिम व्यवस्थापनका लागि ग्राहक पहिचान र कारोवारको अनुगमन त्यतिकै महत्वपूर्ण पक्ष हो । नेपालमा पनि मर्जर र प्राप्तिका माध्यमबाट जोडिएका बैंकमा अनेकौं किसिमका घटना जस्तै कर्जा दुरुपयोग र ठगी लगायत घट्दै गएका समाचार प्रकाशित हुँदै आएका छन् । त्यसैले शंका लागेको कारोबार र गतिविधि पहिचान गर्ने, प्रतिवेदन समयमै पेस गर्ने र जोखिम व्यवस्थापन गर्ने संयन्त्रलाई प्रभावकारी बनाउन सकिएमा मात्र संचालन लगायत अन्य जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
आर्थिक मन्दिको कारण ऋणीले ऋण तिर्न ढिलाइ गर्दा वा नतिर्दा बैंकरमाथि तनाव बढ्दै गएको छ । जोखिम व्यवस्थापनको चुनौतिहरुमा कोभिड १९, विश्व आर्थिक मन्दी, व्यक्तिको आम्दानीमा ह्रास, संस्थागत वित्तीय सम्पत्तीमा ह्रास, वित्तीय दायित्व निहित भएको व्यक्तिको अकाल मृत्यु, प्राकृतिक प्रकोप, सुशासनको अभाव, कमजोर आन्तरिक नियन्त्रण, आर्थिक पारदर्शिताको अभाव, बढ्दो राजनीतिक अस्थिरता र हस्तक्षेप, सम्बन्धित ऐन, नियम र कानुन परिपालनाको अभाव, कुशलता र मितव्ययिताको अभाव, लेखा परिक्षणको कैफियत सुधारमा आनाकानी, नियमित सुपरीवेक्षण र अनुगमनको अभाव लगायत छन् ।
वित्तीय क्षेत्रमा जोखिम व्यवस्थापनमा हाल देखिएको प्रमुख समस्यामा जोखिमको मापनको अभाव र अनुगमन तथा नियन्त्रण, जोखिमको पहिचान र अनुगमन अत्यन्तै फितलो हुनु नै हो । एकातर्फ भने अर्कोतर्फ बाह्य र आन्तरिक लेखापरीक्षणको कैफियत सुधारमा देखिएको सुस्तता नै हो ।
त्यस्तै नेपाल राष्ट्र बैकको इ.प्रा. निर्देशन नं ५.७५ मा कारोवारमा निहीत जोखिम न्यूनीकरण गर्ने सम्बन्धि व्यवस्थाको बढ्दो उल्लंघनले पनि जोखिम बढिरहेको छ । फलस्वरुप हाल कर्जा सम्बन्धी जोखिमले तीव्रता पाइरहेको देखिन्छ । कालो सूचीमा पर्नेको संख्या एवम् भाका नाघेको कर्जा समेत बढिरहेको अवस्था छ भने तरलता व्यवस्थापनमा समेत चुनौती थपिएको छ । जसले बैंकिङ क्षेत्रलाई कठिन अवस्थामा उभ्याएको देखिन्छ ।
जोखिमलाई न्यूनीकरण गर्न सकिए पनि शून्यमा राखेर व्यवसाय गर्न नसकिने हुनाले यसको उचित व्यवस्थापन गर्दै बैंकिङ क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सकेमा व्यवसायमा सफलता हासिल गर्न सकिने तथा कम्पनी समेत स्वस्थ्य र दिर्घजिवी हुन गइ त्यसबाट बढी प्रतिफल पाउन सकिने पक्षलाई कसैले बिर्सनु हुँदैन ।
वास्तवमा बैंकिङ क्षेत्रमा आन्तरिक नियन्त्रणका लागि बनाइएका नियम कानून, नीति निर्देशिका आफैमा उत्कृष्ट छन् तर यसको कार्यान्वयन, निरन्तर अनुगमन र कर्मचारीलाई दिइने नियमित तालिमको अभाव, अनुभव प्राप्त गर्ने समय नै नदिइ नियमित बैंकको आर्थिक कारोवारमा संलग्न गराउनु, नीति नियम र निर्देशिकाहरुको अध्ययन नगराउनुको साथै नेपाल राष्ट्र बैंकले निरन्तर गरेको बैंकिङ सुपरभिजनले औंल्याएका त्रुटीहरु समेतको कार्यान्वयनको कारण कर्जा जोखिम लगायतका जोखिम तथा बैंकिङ अपराध समेतको वृद्धिले जोखिम व्यवस्थापनमा चुनौती थपिँदै गएकोप्रति सम्बन्धित निकाय समयमै सचेत हुनुपर्ने देखिन्छ ।
कर्जा जोखिम बढ्न नदिन र यसको उचित व्यवस्थापनको लागि नेपाल राष्ट्र बैकको एकीकृत निर्देशन नं २, नेपाल राष्ट्र बैक ऐन र बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ समेत पर्याप्त व्यवस्था गरेको भएता पनि कर्जा लगानी अगाडि गरिने विश्लेषण एवं अध्ययन र कमजोर आन्तरिक नियन्त्रणको साथै ऐन, कानून र नियमको अक्षरंश पालना नगर्दा कर्जा खराब हुँदै गएको अध्ययनले देखाएको हुँदा विश्व वित्तीय संकटलाई देखाएर कर्जा लगानी भएन, कर्जा असुल भएन, बैंकमा वेथिति बढ्यो । नाफा भएन र उत्पादकत्व बढेन भनेर मात्र सुख पाउने अवस्था नरहेकोप्रति कसैको विमति नरहला ।
बैंक तथा वित्तीय संस्था समस्याग्रस्त हुने प्रमुख कारणहरुमा कर्जा प्रवाह हुने बदमासी, सुशासनको पालनाको अभाव, निर्देशनको पालना सम्बन्धी समस्या हो । बैंक तथा वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नाफा प्रदान गर्न धेरै ऐन नियम वा निर्देशिकाको मर्म विपरित गएर पनि काम गर्न सक्ने हुँदा नियमित समस्याको पहिचान, अनुगमन, सुधार र आत्तरिक नियन्त्रण पद्धतिलाई चुस्त र दुरुस्त बनाउनु आजको आवश्यकता हो भन्नुमा अत्युक्ति नहोला ।
लेखक बैंक तथा वित्तीय संस्था सम्बन्धी जानकार हुन् ।