बैंकिङ खबर/ पछिल्लो समय बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कर्जाबाट नियमितरुपमा सावाँ व्याज उठाउन नसक्दा वित्तीय संरचना नैं बिग्रने अवस्था आइपुगेको छ ।
एक वर्षदेखि किस्ता तिर्ने भाका नाघेको कर्जालाई खराब कर्जाको रूपमा जनाइन्छ । १३ बैंकिङ संस्थाका यस्तो खराब कर्जा ७ प्रतिशतदेखि ३४.८१ प्रतिशतसम्म पुगेको छ। खराब कर्जा उच्च दरमा हुनेमा विकास बैंक र वित्त कम्पनीहरू छन्।
नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्सको खराब कर्जा सबैभन्दा धेरै छ । यिनको खराब कर्जा क्रमशः ३४.८१ प्रतिशत र ३४.६४ प्रतिशत छ । समृद्धि फाइनान्सको खराब कर्जा २३.४७ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको १४.७७ प्रतिशत, पोखरा फाइनान्सको १४.४४ प्रतिशत छ।
गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको १३.५६ प्रतिशत, एक्सेल डेभलपमेन्टको ११.७३ प्रतिशत, सिन्धु विकास बैंकको ११.२९ प्रतिशत छ।त्यस्तै, नेपाल फाइनान्सको १०.३६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ८.७१ प्रतिशत, रिलायन्स फाइनान्सको ८.५८ प्रतिशत खराब कर्जा छ । प्रोग्रेशिभ फाइनान्सको खराब कर्जा ७.४७ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको भने ७.२७ प्रतिशत खराब कर्जा रहेको पहिलो त्रैमासको वित्तीय विवरणबाट देखिन्छ ।
धितो समेत लिलाम हुन सकेन
विगतमा प्रवाह गरेको ठूलो परिमाणको कर्जा उठ्न नसक्दा त्यस्तो कर्जाको लागि प्रयोग गरेको धितो लिलाम गर्नुपर्ने र लिलामको लागि पटक–पटक सार्वजनिक सुचना जारी गर्दा पनि त्यस्तो धितो लिलाम हुन नसकेपछि धितोकोरुपमा रहेको उक्त सम्पती आफैले गैर बैंकिङ सम्पतीकोरुपमा स्वीकार गर्न बैंकहरु तथा फाइनान्स कम्पनीहरु बाध्य भएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको कात्र्तिक मसान्तसम्ममा कुल कुल ६६ खर्ब ४४ अर्ब २३ करोड १० लाख रुपैंयाँ निक्षेप संकलन गरी ५२ खर्ब ८० अर्ब २८ करोड ८० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा ३८ अर्ब २६ करोड १० लाख रुपैंयाँ बराबरको गैर बैंकिङ सम्पत्ती देखिएको छ ।
गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल ५९ खर्ब १२ अर्ब ७९ करोड ४० लाख रुपैंयाँ निक्षेप संकलन गरी ४९ खर्ब ७६ अर्ब ४७ करोड ७० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा २१ अर्ब ९१ करोड ६० लाख रुपैंयाँ बराबरको गैर बैंकिङ सम्पती देखिएको थियो।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले चालु आवको कात्तिक मसान्तसम्ममा कुल एक खर्ब ३३ अर्ब ७२ करोड ६० लाख रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब दुई अर्ब एक करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा दुई अर्ब २६ करोड १० लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पती देखिएको छ ।
गत आवको सोही अवधिमा भने फाईनान्स कम्पनीहरुले कुल एक खर्ब १४ अर्ब तीन करोड ६० लाख रुपैंयाँ निक्षेप संकलन गरी ९३ अर्ब ९६ करोड ६० लाख रुपैंयाँ बराबरको कर्जा प्रवाह गर्दा एक अर्ब ३१ करोड २० लाख रुपैयाँ बराबरको रकम गैर बैंकिङ सम्पत्ती देखिएको थियो।