बैंकिङ खबर/ एफवान सफ्टको कारण सिटिजन्स बैंकबाट साढे ३ करोड चोरी भएको खुलासा भएको छ । सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको उक्त रकम चोरी भएको खुलेको छ ।
सिटिजन्स बैंकको सफ्टवेयर एफ वान सफ्टलेनै बनाएको हो । त्यसपछि एफवान सफ्टले नै सिटिजन्स बैंकको दरबारमार्ग स्थित शाखामा खाता खोलेको थियो । उक्त सफ्टवेयर ह्याक गरेर एफ वान सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रुपैयाँ चोरी भएको खुलेको हो ।
चोरी प्रकरणमा २४ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय ठगीको कसुरमा मुद्दा दायर भएको छ । यो प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय साइबर ब्यूरोले गरेको थियो । प्रतिवादी बनाइएका २४ जनामध्ये नौजना पक्राउ गर्न सफल भएको ब्यूरोले जनाएको छ ।
पक्राउ पर्नेहरूमा ललितपुरको त्रिगुण रत्न बज्रचार्य, सिरहाका राहुल ठाकुर, सिरहाकै पुरुषोतम साह, सप्तरीका कृष्णरमण राउत, सप्तरीकै संजिवकुमार शर्मा, उदयपुरका कमल थापा मगर, उदयपुरकै दीपक थापा मगर, सुनसरीका सन्देश राई र सुनसरीकै सागरकुमार साह छन् ।
बाँकी १५ जना भने फरार छन् । उनीहरूलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । ह्याक गरिएको रकम उनीहरुको खातामा ट्रान्फर गरेर त्यहाँबाट विदेश लगिएको खुलेको ब्यूराले जनाएको छ । ह्याकरको समूहले विदेशमा बसेर ह्याक गर्ने र नेपालीहरुलाई प्रयोग गरेर उक्त रकम विभिन्न माध्यबाट विदेश लाने गरेको खुलेको हो ।
२४ जनाको खातामा रकम ट्रान्सफर गरेपछि त्यहाँबाट दोस्रो लेअरमा करिब ५ सय जनाको बैंक खाता प्रयोग गरिएको छ । विभिन्न लेअरमा बसेर ह्याकरको समूहले नेपालीलाई प्रयोग गरेर रकम बाहिर लगेको भेटिएको छ । १ अक्टोबर २०२४ देखि ४ अक्टोबर २०२४ सम्म पटक–पटक ह्याक गरेर एफ वान सफ्टको खाताको रकम निकालिएको थियो।