January 6th, 2025

चेक अनादर मुद्दाः अब थुनामा राख्दा सिधा खर्च सरकारले बेहोर्नुपर्ने

बैंकिङ खबर/ सर्वाेच्च अदालतले व्यक्तिवादी फौजदारी मुद्दामा प्रतिवादीलाई थुनामा राख्दा सिधा(खाना) खर्चसमेत सरकारले नै बेहोर्नुपर्ने फैसला सुनाएको छ । यसअघि चेक बाउन्सजस्ता मुद्दामा व्यक्ति थुनामा राख्नु परेमा सिधा खर्च जाहेरवालाले तिर्नुपर्ने थियो । सर्वाेच्च अदालतले चेक अनादर सम्बन्धी मुद्दामा थुनामा रहेको व्यक्तिको हकमा सरकारले नै सिधाको व्यवस्था गर्नुपर्ने भनी व्याख्या गरेको हो ।

सर्वाेच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । बन्दी प्रत्यक्षीकरणको रिटमार्फत सर्वाेच्च अदालत आइपुगेको चेक अनादरसम्बन्धी एक मुद्दामा सर्वाेच्चले दुनियाँवादी फौजदारी मुद्दामा पनि कैद सजाय सुनाइएको भए कैद गर्दा लाग्ने सिधा खर्चसमेत सरकारले नै बेहोर्नुपर्ने फैसला सुनाएको हो ।

यो फैसलासँगै अब फिरादबाट दर्ता हुने व्यक्तिवादी फौजदारी मुद्दामा पनि अदालतबाट कैद सजाय सुनाइएमा कैद गर्दा लाग्ने सिधा खर्चबापतको दैनिक ३ सय रुपैयाँ सरकारले नै बेहोर्नुपर्ने भएको हो । चेक अनादर लगायतमा हुन सक्ने यस्ता व्यक्तिवादी फौजदारी मुद्दामा यसअघि फिरादी वा वादीले नै सिधा खर्चबापतको रकम बुझाएर प्रतिवादी वा प्रत्यर्थीलाई थुनामा पठाउने गरिएको थियो ।

आफूलाई कानुनविपरीत गैरकानुनी थुनामा राखिएको भन्दै चेक अनादर मुद्दाका एक प्रतिवादीले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएपछि उक्त रिटमा सर्वाेच्चले यस्तो व्याख्या गरेको हो ।