बैंकिङ खबर/ दुई तिहाई बढी होटल तथा रेष्टुरेन्ट अझै ऋणको दायराबाट बाहिर रहेको एक सर्वेक्षणले देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेष्टुरेण्ट सर्वेक्षणले ७१.६ प्रतिशत बराबरका यस्ता संस्थाहरु यो दायराबाट बाहिर देखिएको हो । बाँकी रहेका २८.४ प्रतिशतले मात्रै ऋण लिएका छन् ।
ऋण लिनेको यो संख्या बैंक, वित्तीय संस्था, लघुवित्त संस्था तथा सहकारी संस्था समेतको हो । अहिले बैंकिङ क्षेत्रमा तरलता तथा लगानीयोग्य रकम फालाफाल भइरहेको अवस्था छ । यो तथ्यांक भने २०८० को सर्वेक्षणमा आधारित हो ।
अहिले देशभर आवास तथा भोजन सेवा प्रदान गर्ने जम्मा प्रतिष्ठानको संख्या १ लाख ४२ हजार २२३ रहेका छन् । यो क्षेत्रमा १ लाख ६ हजार ४५९ जना तलबी कर्मचारी सहित ३ लाख ८७ हजार ७४७ जना व्यक्ति आवद्ध रहेको देखिएको छ ।
वार्षिक ३ खर्व २६ अर्ब १ करोड ४ लाख बराबरको वस्तु तथा सेवाको बिक्री गर्ने ती संस्थाको लागत २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
यो अवस्थाले ती संस्थाले गर्ने मूल्य अभिवृद्धि १ खर्व ९ अर्ब २७ करोड १ लाख बराबर रहेको देखिन्छ । उनीहरुले कर्मचारीका लागि जम्मा खर्च करिब रु २० अर्ब ६१ करोड ५० लाख रहेको छ । प्रतिष्ठानहरुसँग सर्भेक्षणको समयमा ५ खर्व ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको तथ्यांक कार्यालयले जनाएको छ ।