बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पछिल्लो समय सिमेन्ट, रड जस्ता उद्योग फस्टाइरहेको भन्दै यसले बैंकहरूमा ऋणको माग बढाएको बताएका छन् । उनले यो माग अर्थतन्त्रलाई चलायमान बनाउन सकारात्मक मान्नुपर्ने बताए ।
नेपाल राष्ट्र बैंकमा सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले पछिल्लो समय आर्थिक गतिविधिहरू केही सुधारिएको भए पनि सोचेअनुरूपको प्रगति नभएको पनि स्पष्ट पारे ।
गर्भनर अधिकारीले भने, ‘मंसिरको रिपोर्टले पनि आर्थिक गतिविधिहरू केही सन्तोषजनक रहेको देखाएको छ । सार्वजनिक र निजी क्षेत्रबाट भएका प्रयासहरूलाई राष्ट्र बैंकले आर्थिक सहयोग प्रदान गरेको छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्याएको छ ।’
उनले पछिल्लो समय राज्यमा औद्योगिक क्षेत्रको विकास हुँदै गएको दाबी गरेका छन् । गर्भनर अधिकारीले केही क्षेत्रमा संकटको चर्चा भए पनि नेपालले अन्तर्राष्ट्रिय स्तरमा ‘कन्ट्री रेटिङ’लाई कायम राखेको उल्लेख गरे ।
‘यो नेपालका लागि एउटा सफलता हो’, उनले भने । उनले योजनाहरू समयमा सुरु गरेर सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए । मन्त्रालय र विभागहरू थप सक्रिय भएर काम गर्नुपर्ने उनको सुझाव छ । गर्भनर अधिकारीले आर्थिक सुधारका लागि प्रयासहरू जारी रहेको र थप समय लाग्ने बताए । ‘ठ्याक्कै जादुको छडी जस्तो केही छैन । योजनाहरूलाई समयमै कार्यान्वयन गर्नु आवश्यक छ’, उनले भने ।