December 27th, 2024

सम्पत्ति शुद्धीकरण : यी हुन् ध्यान दिनुपर्ने मुख्य – मुख्य बुँदाहरु

बैंकिङ खबर/ सम्पत्ति शुद्धीकरण भन्नाले गैरकानूनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्यलाई बुझिन्छ । अर्को शब्द मा गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ ।

यो वित्तीय कारोबारको त्यस्तो पाटो हो जसमा सामान्यतयाः कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ ।

अर्को शब्दमा भन्नुपर्दा सम्पत्ति शुद्धीकरण वित्तीय कारोबारको त्यस्तो पक्ष हो, जसमा आफूले अवैध वा कसूर गरी कमाएको सम्पत्तिको वास्तविक उत्पत्ति र स्रोत लुकाउने एवं छिपाउने र विभिन्न वित्तीय कारोबारको माध्यमबाट नयाँ कानूनी स्रोत सिर्जना गर्ने प्रयास गरी त्यस्तो सम्पत्तिलाई शुद्ध बनाउने प्रयत्न भएको हुन्छ । सम्पत्ति शुद्धिकरणको अपराध आफैँमा अपराध सम्बद्ध कसुर नभएर, मूल कसुरको सहउत्पादन हो ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था वित्तीय कारवाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स, एफ.टी.एफ.) ले सम्पत्ति शुद्धीकरणलाई अपराधजस्तो नराम्रो स्रोतबाट प्राप्त आमदानीलाई छिपाउन गरिने प्रक्रिय भनी परिभाषित गरेको छ ।

त्यस्तै, सम्पत्ति शुद्धीकरणलाई वित्तीय कारोबारलाई गैरकानुनी आर्जनको परिचय, स्रोत वा गन्तव्यलाई छिपाउने व्यवहार भनी व्याख्या गरेको छ । मतलब, गैरकानूनी वा आपराधिक धन्दाबाट प्राप्त आयलाई कानूनसम्मत सम्पत्तिमा रुपान्तरण गरी बैधानिक गर्ने क्रियाकलाप नै सम्पत्ति शुद्धीकरण हो । सम्पत्ति शुद्धीकरणमा त्यस्तो आयको उत्पत्ति, वास्तविक स्रोत र प्राप्तीको स्थान लुकाइएको एवं छिपाएको र कृत्रिम तर कानूनी स्रोत सिर्जना गरिएको अवस्था रहन्छ ।

कुनै पनि व्यक्तिले गैरकानूनी आयलाई सम्पत्तिमा रुपान्तरण गरी सम्भाव्य कारबाहीबाट बच्न र त्यस्तो सम्पत्ति शुद्ध बनाई सोको मालिक बन्न गरिने प्रयासलाई नै अर्को शब्दमा सम्पत्ति शुद्धीकरण भनिन्छ । समग्रमा भन्नुपर्दा, गैर कानूनी एवं आपराधिक कार्यबाट कमाएको आयलाई समयको अन्तरालमा वैध सम्पत्ति वा “सेतो धन” मा रुपान्तरण गरी कानूनी एवं वैधानिक बनाई समाजमा सभ्य नागरिकको रुपमा स्थापित हुने प्रयास नै सम्पत्ति शुद्धीकरण हो ।

ध्यान दिनुपर्ने मुख्य बुँदाहरु

– कानुनले नगर्नु भनेको काम गर्नु हुँदैन । गैरकानुनी काम गरे अपराध ठहरिन्छ ।

– घुस लिनु दिनु, कर छल्नु, ठग्नु, चोर्नु जस्ता काम गैरकानुनी कार्य
हुन् ।

– गैरकानुनी काम गरेर कमाएको धन–सम्पत्ति कालो धन हो ।

– कालो धनलाई कानुनी देखाउने कामलाई सम्पत्ति शुद्धीकरण  भनिन्छ ।

– यस्तो काम बैंक तथा वित्तीय संस्थामा रकम राख्ने, झिक्ने, घर जग्गा मोटर सुन चाँदी किन्ने बेच्ने, लगानी गर्ने जस्ता काम गरेर फत्ते गर्ने गरिन्छ ।

– सम्पत्ति शुद्धीकरणलाई रोक्न जहाँ र जहिले पनि स्रोत खोजिन्छ ।

– बैंक वित्तीय संस्थामा निक्षेप राख्दा, घर, जग्गा वा सुन चाँदी किन्दा स्रोत खोल्नु पर्छ ।

– कालो धन कुनै पनि बेला देशले जफत गर्न सक्दछ ।

– जरिवाना हुन सक्छ र जेल जाने अवस्था समेत रहन्छ ।

– धन सकिएर टाट पल्टिए पनि सजाय अवश्य हुन्छ ।

– विदेश गए पनि यसबाट उम्कन पाउँदैन ।

-कालो धन कमाउनेलाई कारवाही हुन सके सही काम गर्ने, मेहनत र परिश्रम गर्नेको हित हुनेछ ।

– गलत मान्छेहरु कारवाहीमा पर्नेछन् ।

– आर्थिक कारोबार पारदर्शी भई आर्थिक अनुशासन कायम हुनेछ ।

– मेहनत र परिश्रम गर्ने संस्कृतिको विकास हुनेछ ।

– मुलुक शान्ति, विकास र सम्मृद्धिको मार्गमा अघि बढ्नेछ ।