December 6th, 2016

नेप्से ९.९१ अंकले बढ्दा कारोबारमा पनि सुधार : कमाउने र गुमाउने कोको ?

stockमंगलबार सेयर बजार बढेको छ । बजार खुलेको सवा एक घण्टाभित्रमा १५५९ सम्म पुगेको बजार त्यसको एक घण्टा पनि नबित्दै १५३६ अंकमा झरेको थियो । त्यसपछि निरन्तर उकालो लागेको बजार १५५४.५१ अंकमा पुगेर बन्द भएको छ । दिनभरिमा नेप्से परिसूचक ९.९१अंकले बढेको हो । 

जलविद्युत् समूहबाहेक मंगलबार कारोबार भएका सबै समूह उकालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १७७.९८ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः ६.०१, ५२.५२, २.२९, ५.४२, २.३३ र ०.५७ अंकले बढेका छन् । जलविद्युत् भने ६.०५ अंकले घटेको छ । 

बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । सोमबार ६४ करोड ७७ लाख रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ७७ करोडको कारोबार भएको छ । दिनभरिमा १३६ वटा कम्पनीको नौ लाख ४० हजार चार सय २१ कित्ता सेयर पाँच हजार सात पटक खरिदविक्री हुँदा कुल ७७ करोड १८ लाख १९ हजार तीन सय एक रुपैयाँ पुँजी परिचालन भएको हो । 

मंगलबार पनि सिद्धार्थ बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको आठ करोड ७४ लाख ५९ हजार सात सय ८३ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको पाँच करोड ९३ लाख, फस्र्ट माइक्रोफाइनान्स प्रोमोटरको पाँच करोड ४४ लाख र स्टान्डर्ड चार्टर्ड बैंकको पाँच करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । एभरेष्ट बैंकको साढे चार करोडको कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सवा चार करोडभन्दा माथिको कारोबार भएकोा छ । बैंक अफ काठमाण्डू लुम्बिनी र मेगा बैंकको साढे दुई करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको पनि दुई करोडमाथिको कारोबार भएको छ । नेपाल बंगलादेश बैंकको डेढ करोडको कारोबार भएको छ । 

अरुण फाइनान्सका सेयरधनीले मंगलबार १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने मेरो माइक्रोफाइनान्स, सृजना फाइनान्स र रिलायबल फाइनान्सका सेयरधनीले क्रमशः ७.६४, ५.७७ र ५.६६ प्रतिशतका दरले कमाएका छन् । नेपाल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.९१ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने युनाइटेड फाइनान्सका सेयरधनीले ८.३८ प्रतिशतका दरले गुमाएका छन् । मिरमिरे माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, बरुण हाइड्रोपावर र महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ७.७२, ७.१८, ५.५९, ५.४१ र ५.३३ प्रतिशतका दरले गुमाएका छन् । लुम्बिनी फाइनान्स, नागबेली लघुवित्त, बुटवल पावर कम्पनी लगायतका सेयरधनीले पनि गुमाएका छन् ।