२०.६० प्रतिशत बोनस सेयर वितरणका लागि फेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएको छ । सञ्चालक समितिको निर्णय अनुसार बैंकले आर्थिक वर्ष २०७२/७३ सम्मको सञ्चित मुनाफाबाट उक्त अनुपातमा बोनस सेयर दिन लागेको हो । उक्त बोनस सेयर बैंकको नवौंं बार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ । बोनस वितरणपश्चात फेवाको चुक्तापुँजी एक अर्ब १९ करोड ९९ लाख सत्तरी हजार रुपैयाँ पुग्ने छ ।
फेवा विकास बैंक लिमिटेडले आ.व. २०७३/७४ को पहिलो त्रैमासमा निक्षेप १२ अर्ब १२ करोड रुपैयाँ र कर्जा १० अर्ब ५८ करोड रुपैयाँ पुर्याएको छ । निष्कृय कर्जा पनि अन्त्यन्त न्युन रहेको बैंकले जनाएको छ । बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साथै, न्यून आय भएका व्यक्तिलाई बैंकले विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।
बैंकले ग्राहकको निक्षेप प्रतिफललाई ध्यानदिदै ९९ दिने मुद्धतीमा वार्षिक ८.३ प्रतिशत निक्षेप वजारमा ल्याएको छ । यो योजना बैंकको केन्द्रीय कार्यालय सहित २९ वटा शाखा मार्फत प्राप्त गर्न सकिने छ ।
फेवा विकास बैंकले पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडसँग गाभ्ने र गाभिने सम्बन्धमा नेपाल राष्ट्रबैकमा निवेदन दिएको थियो । नेपाल राष्ट्र बैंकबाट सहमती पत्र आइसकेको बैंकले जनाएको छ । मर्जर पश्चात बैंकको नेटवर्थ, शाखा सञ्जाल, व्यवसायको बजार अंश तथा ठुला परियोजनामा लगानीको पहुच र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुन गई ग्राहकहरुले थप सेवा सहित सरल र सहज रुपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।