बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरु कठिन परिस्थितिमा बाँचेको बताएका छन् । नेपाल बैंकर्स संघको साधारणसभामा मन्तव्य राख्दै उनले ऋणको साँवा ब्याज नउठ्दा समस्या भएको बताए। उनले भने,‘हामीले काम गर्दा प्रशस्त चुनौती छन् । बैंकिङ क्षेत्र झन् चुनौतीमा छ । संवेदनशीलता तपाईंहरूलाई थाहै होला ।’ कोरोनालगायत विश्वव्यापी समस्यामा पनि नेपाली बैंकिङ क्षेत्र खरो बनेर उभिएको उनले बताए ।
उनले भने,‘हाम्रा नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि सघाउने खालका छन् । बैंकिङ क्षेत्रप्रति हामीले गौरव गर्नुपर्छ । बैंकिङ अभ्यास निकै पारदर्शी छ । पछिल्लो समय बैंकभन्दा बाहिरको समस्याले चुनौती थपेको हो । पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको छ । तर, प्रोभिजनले बलियो बनाएको छ । प्रोभिजनले बैंकलाई बचाउँछ । ऋणको साँवा ब्याज उठेको छैन, हामी यो कठिन परिस्थितिमा बाँचेका छौं । तर, प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचेको छ ।’
उनले थपे, ‘बैंकको लाभांश क्षमता राष्ट्र बैंकको कारणले होइन, बैंक आफ्नै कारणले दिन नसकेको हो । जो इफिसियन्ट छ उसले लाभांश बाँड्यो । प्रोभिजनका कारण लाभांश क्षमता घटेको होइन । कसैले २६ प्रतिशत, कसैले शून्य लाभांश बाँडे । हामीले गर्दा लाभांश घट्ने भए उसले पनि सक्दैनथ्यो । हिजो कर्जा बढाउँदा ध्यान पु¥याएको भए आज लाभांश बाँड्नै नसक्ने अवस्था आउँदैन थियो ।’
नीति प्रेडिक्टेबल हुनुपर्छ । नीति फेरिन्छ एउटै रहँदैन । आवश्यकता आधारमा नीति फेरिन्छ । नीति अनुमानयोग्य छ कि छैन भन्ने कुराले महत्त्व राख्छ । सधै एउटै रेट रहन्छ भन्ने छैन । उनले भने, ‘बैंकिङ क्षेत्रलाई बाह्य क्षेत्रबाट दबाब आयो । ऋण नतिरे पनि हुन्छ भन्ने हल्लाका कारण तल्लो तहबाट काम हुन सकेन । बैंकको नाफमाथि प्रश्न उठ्दा पनि असहज भयो । नाफाबिना बैंक चल्न सक्दैन । पुँजी लगानी गरेपछि प्रतिफल त चाहिन्छ ।’ प्रोभिजन र रिडेम्सन रिजर्भलगायतले बैंकलाई बचाएको उनले बताए ।