December 13th, 2024

बैंकहरुको लाभांश दर खुम्चिँदै

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको लाभांश दर खुम्चिँदै गएको छ । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा धेरैजसो बैंकहरुको लाभांश दर घट्दो क्रममा छ । हाल नेपालमा २० वटा वाणिज्य बैंकहरु सञ्चालनमा रहेका छन् ।

ति मध्ये एक दर्जन वाणिज्य बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् । जसमा दुई वटा वाणिज्य बैंकले लाभांश नदिने भएका छन् भने १० बैंकले लाभांश दिने घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंक बाहेक अन्य सबै बैंकको लाभांश दर घटेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा ११.८४ प्रतिशत लाभांश दिएको यस बैंकले आव २०८०/८१ मा त्यसको दोब्बर भन्दा बढी लाभांश दिने घोषणा गरेको छ । यस आवमा बैंकले २५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको यो लाभांश साधारण सभाबाट समेत पारित भइसकेको छ ।

हालसम्म घोषणा गरेका अन्य बैंकहरुको लाभांश दर निरन्तर घट्दो छ । नबिल बैंकको पछिल्लो पाँच वर्षको लाभांश दर हेर्ने हो भने तीन तिहाइले घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा यस बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो । आव २०७७/७८ मा ३८ प्रतिशत लाभांश दिएको नबिल बैंकको त्यस यता भने निरन्तर लाभांश दर घटिरहेको छ । आव २०७८/७९ मा ३० प्रतिशत लाभांश दिएको नबिल बैंकले २०७९/८० मा ११ प्रतिशत र २०८०/८१ मा १० प्रतिशत मात्रै लाभांश दिएको छ ।

अन्य पाँच वाणिज्य बैंकहरुको लाभांश दर घटेपनि लगानीकर्ताहरूको हात खाली भने पारेका छैन । आर्थिक वर्ष २०७६/७७ र आव २०७७/७८ मा सिद्धार्थ बैंकले क्रमशः १५-१५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयताका तीन आव २०७८/७९, २०७९/८० र २०८०/८१ मा क्रमशः १३.१६ प्रतिशत, ४.२१ प्रतिशत र ४ प्रतिशत लाभांश दिएको छ ।

पछिल्लो पाँच आर्थिक वर्षमा नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक र सानिमा बैंकले लगानीकर्ताको हात खाली नराखेका हुन् ।

पछिल्लो पाँच वर्षमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का लगानीकर्ताहरूले लाभांश हात पार्न सकेका छैनन् । यस बैंकले लगानीकर्ताहरूको सधैँ हात खाली पार्दै आएको छ ।

आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ को अवधिमा कुनै आवमा पनि यस बैंकले लाभांश दिएको छैन । २०८०/८१ मा लाभांश दिन या नदिने भन्नेबारे यस बैंकले हालसम्म घोषणा गरेको छैन । तर, यस आवको वित्तीय विवरण हेर्दा यस बैंकको लाभांश क्षमता ऋणात्मक छ । जसले गर्दा यस बैंकका लगानीकर्ताले लाभांश नपाउने देखिन्छ ।

कृषि विकास बैंकको लाभांश क्षमता १७.३७ प्रतिशत छ । आर्थिक वर्ष २०७९/८० मा भने यस बैंकले लाभांश वितरण गरेको थिएन । जबकी त्यसबेला यस बैंकको लाभांश क्षमता ९.२४ प्रतिशत रहेको थियो ।

त्यस्तै, नेपाल बैंकको लाभांश क्षमता ५.२४ प्रतिशत रहेको छ । गत वर्ष पनि यस बैंकले लाभांश वितरण गरेको थिएन । गत वर्ष पनि लाभांश वितरण नगरेको प्रभु बैंकको लाभांश क्षमता ५.२ प्रतिशत रहेको छ ।