Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

चार महिनामा कुन बैंकको नाफा कति ? (सूचीसहित)

२०८१ मंसिर २६ गते

बैंकिङ खबर/ चालू आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुको नाफा २० अर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले २२ अर्ब ९९ करोड रुपैयाँ नाफा कमाउँदा वाणिज्य बैंकहरुले मात्रै २० अर्ब बढीको नाफा गरेका हुन्।

असोज महिनामा १६ अर्ब ६ करोड नाफा कमाएका २० वटा वाणिज्य बैंकहरुले कात्तिक मसान्तमा आइपुग्दा २० अर्ब ६० करोड रुपैयाँ बराबरको नाफा कमाएका छन्। कात्तिक महिनामा मात्रै बैंकहरुले ४ अर्ब ५४ करोड रुपैयाँको नाफा आर्जन गरेका हुन्।

गत वर्ष कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले २० अर्ब ५६ करोड नाफा कमाएकोमा यो वर्ष पनि कात्तिकसम्म २० अर्ब ६० करोड रुपैयाँमात्रै नाफा कमाएका हुन्। गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष बैंकहरुको नाफा ४ करोड मात्रै बढी देखिएको हो।

यो अवधिमा नबिल बैंक नै धेरै नाफा कमाउनेमा पहिलो नम्बरमा छ। नबिल बैंकले कात्तिक मसान्तसम्म २ अर्ब १६ करोड नाफा कमाउँदा ग्लोबल आइएमई बैंक १ अर्ब ९४ करोडसहित नाफामा दोस्रो नम्बरमा आएको छ।

योबाहेक राष्ट्रिय वाणिज्य बैंक, एनआईएमबी बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, एनएमबी र प्रभु बैंकसहित १० वटा बैंक नाफाका आधारमा अर्बको क्लबमा देखिएका हुन्।

योबाहेकका १० बैंकहरु भने नाफामा करोडमै सीमित छन्। करोडमा नाफा कमाउनेहरुमा नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र कृषि विकास बैंक छन्।

गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म पनि नाफामा ऋणात्मक भएका यी बैंकले चालू आवको सोही अवधिमा पनि नाफामा सुधार गर्न सकेका छैनन्। कृषि विकास बैंकको नाफा चालू आवमा पनि २७ करोड रुपैयाँले ऋणात्मक देखिएको छ।

वाणिज्य बैंकहरुले गत वर्षबाट कर्जा असुलीमा समस्या, खराब कर्जाको उच्च वृद्धि, कर्जा प्रवाहमा सुस्ततालगायतका समस्याहरु झेल्दै आएका छन्। 

चार महिनामा कुन बैंकले कति कमाए नाफा?  

बैंक ४ महिनाको नाफा (रु)
नेपाल बैंक ६६ करोड
राष्ट्रिय वाणिज्य बैंक १ अर्ब २० करोड    
नबिल २ अर्ब १६ करोड
एनआईएमबी १ अर्ब ८६ करोड 
स्ट्यान्डर्ड चार्टर्ड     ९८ करोड
हिमालयन बैंक   १ अर्ब ५० करोड
नेपाल एसबीआई बैंक ६० करोड
एभरेष्ट बैंक १ अर्ब ८ करोड 
एनआईसी एसिया १ अर्ब ३७ करोड
माछापुच्छ्रे ६७ करोड
कुमारी ८८ करोड 
लक्ष्मी सनराइज ५१ करोड 
सिद्धार्थ ३३ करोड 
कृषि विकास बैंक २७ करोड (ऋणात्मक)
ग्लोबल आईएमई बैंक १ अर्ब ९४ करोड
सिटिजन्स ५८ करोड
प्राइम १ अर्ब ५३ करोड
एनएमबी १ अर्ब २३ करोड 
प्रभु १ अर्ब ५ करोड 
सानिमा   ७७ करोड