December 10th, 2024

कर्जा विस्तारमा बैंकहरु असफल

बैंकिङ खबर/ ब्याजदर निरन्तर घटे पनि कर्जा विस्तार हुन सकेको छैन । द्रुत गतिमा कर्जा प्रवाह गरेर व्यवसाय बढाउन बैंकहरु असफल देखिएका छन् । कर्जा विस्तार अत्यन्त न्यून भएपछि करिब आधा दर्जन बैंकहरुको व्यवसाय खुम्चिएको छ । पछिल्लो ४ महिनामा ६ वटा बैंकको व्यवसाय थप घटेको हो ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार ४ महिनामा ६ वटा वाणिज्य बैंकको कर्जा विस्तार घटेको छ । ब्याजदर धेरै भएको एनआइसी एसियालगायतका बैंकको कर्जा विस्तार प्रभावित भएको देखिन्छ ।

४ महिनाको अवधिमा ३ वटा बैंकको निक्षेप संकलन पनि घटेको छ । तथापि, समग्रमा सबै बैंकहरुको निक्षेप संकलन भने २.५९ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा बैंकहरुले ५९ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

गत असारमा बैंकहरुको निक्षेप संकलन ५७ खर्ब ५४ अर्ब रुपैयाँ थियो । यता, ४ महिना अवधिमा २० वाणिज्य बैंकहरुको कर्जा लगानी पनि २.३८ प्रतिशतले बढेर ४६ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो ४ महिनामा १७ वाणिज्य बैंकको निक्षेप संकलन बढेको छ भने ३ बैंकको घटेको छ । निक्षेप संकलन घट्नेमा एनआइसी एसिया, प्रभु र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

एनआइसी एसिय बैंकले असोजको लागि व्यक्तिगत मुद्दति निक्षेपमा ६.९९ प्रतिशत ब्याजदर दिएको थियो । उक्त अवधिमा यस बैंकको मुद्दति निक्षेपको ब्याजदर ०.७० प्रतिशत घटेको थियो ।

यता, प्रभु बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६.१० ब्याजदर दिएको थियो । असारदेखि कात्तिकसम्ममा यस बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदर १.४० प्रतिशतले घटेको छ ।

त्यस्तै, यसअवधिमा राष्ट्रिय वाणिज्य बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.४२ प्रतिशतले घटेको थियो । मुद्दति निक्षेपको ब्याजदर घटेसँगै यी बैंकहरुको निक्षेप घटेको देखिन्छ । तथापि, ४ महिनाको अवधिमा कृषि विकास बैंक र एभरेष्ट बैंकबाहेक अरु सबै बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटेको छ ।

४ महिनामा आधा दर्जन बैंकको कर्जा प्रवाह घटेको छ । सबैभन्दा धेरै कर्जा प्रवाह घट्नेमा एनआइसी एसिया बैंक रहेको छ । यसको कर्जा विस्तार ८.३२ प्रतिशतले घटेर २ खर्ब ६७ अर्ब रुपैयाँमा सीमित भएको छ ।

असोज मसान्तसम्म यसको बेस रेट ८.७८ प्रतिशत थियो । यो सबैभन्दा धेरै रेट हो । यसअवधिमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । यसले ४ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।