December 9th, 2024

बैंकहरुको नाफा २५ अर्ब, कुनको कति ?


बैंकिङ खबर/ चालु आर्थिक वर्षको कात्तिक महिनासम्म बैंकहरुले करिब २५ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। बैंक तथा वित्त कम्पनीहरुले कुल २४ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्। नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार उक्त अवधिमा वाणिज्य बैंकहरुले २२ अर्ब २९ करोड, विकास बैंकहरुले २ अर्ब ३ करोड र वित्त कम्पनीहरुले ६५ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।

वाणिज्य बैंकतर्फ सबैभन्दा बढी नबिल बैंकले खुद नाफा कमाउँदा एनआईसी एसिया बैंकको खुद नाफा सबैभन्दा कम छ। चालु वर्षको नबिल बैंकले २ अर्ब ६९ करोड कमाउँदा एनआईसी एसिया बैंकले ३८ करोड ८१ लाख रुपैयाँमात्रै कमाउन सकेको हो। साथै, उक्त अवधिमा कृषि विकास बैंकको खुद नाफा २२ करोड रुपैयाँ नकरात्मक रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

यस्तै, समीक्षा अवधिमा वाणिज्य बैंकहरुमा ग्लोबल आइएमई बैंकले २ अर्ब ११ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ८२ करोड, प्राइम कर्मसियलले १ अर्ब ६२ करोड, कुमारीले १ अर्ब ५९ करोड, एभरेष्टले १ अर्ब ५० करोड, एनएमबीले १ अर्ब ४८ करोड, प्रभुले १ अर्ब २३ करोड, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब १३ करोड, लक्ष्मी सनराइजले १ अर्ब ६ करोड र नेपाल एसबिआइ बैंकले १ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। बाँकी ६ वाणिज्य बैंकले १ अर्ब रुपैयाँभन्दा कम खुद नाफा कमाएका छन्।

विकास बैंकहरुतर्फ भने चालु वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले ४२ करोड २४ लाख रुपैयाँ कमाउँदा मितेरी विकास बैंकले ५६ लाख रुपैयाँमात्रै कमाएको छ। साथै, वित्त कम्पनीहरुतर्फ समीक्षा अवधिमा सबैभन्दा धेरै प्रोगेसिप फाइनान्सले १५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाउँदा नेपाल फाइनान्सले ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।