December 5th, 2024

खुम्चियो बैंकहरुको व्यवसाय

बैंकिङ खबर/ चालु आर्थिक वर्ष चौथो महिनामा वाणिज्य बैंकहरुको व्यवसाय २ अर्ब ५ करोड रुपैयाँले खुम्चिएको छ । २० बैंकमध्ये १४ बैंकले व्यवसाय बढाउँदा ६ बैंकको खुम्चिएको हो ।

असोज मसान्तसम्म वाणिज्य बैंकहरुले ४६ खर्ब ८१ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेकामा कात्तिक मसान्तमा आइपुग्दा व्यवसाय ४६ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ । ब्याजदर निरन्तर घट्दै आइरहे पनि आर्थिक गतिविधि सुस्त भएकाले माग बढ्न नसक्दा कात्तिकमा वाणिज्य बैंकहरुको कर्जा खुम्चिएको हो।

कात्तिकमा सबैभन्दा धेरै कर्जा खुम्चिनेमा एनआईसी एसिया बैंक छ। यो बैंकको लगानी एक महिनामै ९ अर्ब ६२ करोड रुपैयाँ खुम्चिएको छ। असोज मसान्तसम्म २ खर्ब ७१ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको एनआईसी एसियाको व्यवसायको आकार कात्तिक मसान्तमा आइपुग्दा २ खर्ब ६१ अर्ब ६ लाखमा झरेको छ। कात्तिकमा एनआईसी एसियाको निक्षेप पनि घटेको छ।

स्टान्डर्ड चार्टर्ड बैंकको कर्जा २ अर्ब ७४ करोडले खुम्चिएको छ। प्रभु बैंकको १ अर्ब ७९ करोड, राष्ट्रिय वाणिज्य बैंकको कर्जा १ अर्ब ५० करोड, कृषि विकास बैंकको १ अर्ब १४ करोड र नेपाल एसबिआई बैंकको १ अर्ब ६ करोडले कर्जा खुम्चिएको छ।

कात्तिकमा एनएमबि बैंकले सबैभन्दा धेरै २ अर्ब २७ करोड रुपैयाँ लगानी विस्तार गरेको छ। एनएमबिले असोज मसान्तसम्म २ खर्ब १६ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेकामा कात्तिक मसान्तमा आइपुग्दा २ खर्ब १८ अर्ब ७० करोड पुगेको छ।

यस्तै ग्लोबल आइएमई बैंकले २ अर्ब १३ करोड रुपैयाँले कर्जा बढाएको छ। ग्लोबल आइएमईले असोज मसान्तमा ४ खर्ब ८८ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेकामा कात्तिक मसान्तसम्म आइपुग्दा उसको व्यवसायको आकार ४ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।

सानिमाले १ अर्ब ७४ करोड, नेपाल बैंकले १ अर्ब ७५ करोड, सिद्धार्थले १ अर्ब २४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब १२ करोड, प्राइम कमर्सियलले १ अर्ब ४ करोड, हिमालयनले ९१ करोड, एभरेष्टले ९५ करोड, माछापुच्छ्रेले ८३ करोड, नबिलले ७६ करोड, लक्ष्मी सनराइजले ५७ करोड, कुमारीले ३५ करोड र सिटिजन्सले १४ करोड रुपैयाँले व्यवसाय बढाएका छन्।

कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप १८ अर्ब ५५ करोड रुपैयाँले खुम्चिएको छ। असोज मसान्तमा ५९ खर्ब २२ अर्ब रहेको निक्षेप कात्तिक मसान्तमा आइपुग्दा ५९ खर्ब ३ अर्बमा झरेको छ।

निक्षेप एनआईसी एसियाको २५ अर्ब ७४ करोड, हिमालयन बैंकको १३ अर्ब ४३ करोड, एनएमबिको ७ अर्ब ३९ करोड, प्रभुको ५ अर्ब १ करोड, ग्लोबल आइएमईको ३ अर्ब १ करोड र नबिलको २ अर्ब ८६ करोड रुपैयाँले घटेको छ।

कात्तिकमा ११ वटा वाणिज्य बैंकहरुको निक्षेप संकलन घट्दा ९ बैंकले भने बढाएका छन। निक्षेप संकलनमा स्टान्डर्ड चार्टर्ड बैंक एग्रेसिभ देखिएको छ। यो बैंकले कात्तिकमा १२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप बढाएको छ।

राष्ट्रिय वाणिज्य बैंकले ९ अर्ब ८८ करोड, एभरेष्ट बैंकले ५ अर्ब १७ करोड, नेपाल एसबिआई बैंकले ४ अर्ब ९६ करोड, नेपाल बैंकले ३ अर्ब ९७ करोड र सानिमा बैंकले १ अर्ब ७४ करोड रुपैयाँ निक्षेप बढाएका छन्।