December 4th, 2024

निष्क्रिय कर्जाले थिचिँदै बैंकिङ क्षेत्र

बैंकिङ खबर/ राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो दुई आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जाको ग्राफ निरन्तर उकालो लागेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाहरुले ६६ खर्ब ६२ अर्ब २६ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ खर्ब ८७ अर्ब ९७ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जसमध्ये औसत ४.४२ प्रतिशत निष्क्रिय कर्जा छ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकहरुले ५९ खर्ब १४ अर्ब ३४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ९३ अर्ब ९२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने निष्क्रिय कर्जा औसत ३.६६ प्रतिशत थियो।

यस वर्ष पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरुले ५९ खर्ब २५ अर्ब ७३ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ४६ खर्ब ७३ अर्ब ७२ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसत ४.२८ प्रतिशत निष्क्रिय कर्जा थियो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म निक्षेप संकलन ५२ खर्ब २१ अर्ब ८४ करोड ३० लाख रुपैयाँ र कर्जा प्रवाह ४४ खर्ब १८ अर्ब ९९ करोड १० लाख रुपैयाँ थियो । गत वर्ष निष्क्रिय कर्जा औसत ३.६१ प्रतिशत थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म विकास बैंकहरुको निष्क्रिय कर्जा ४.३७ प्रतिशत छ । यो अवधिसम्म विकास बैंकहरुले ६ खर्ब २ अर्ब सात करोड ८० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी पाँँच खर्ब ११ अर्ब ५४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले ५ खर्ब ७७ अर्ब ६७ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ८१ अर्ब ५८ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। गत वर्ष निष्क्रिय कर्जा औसत ३.१९ प्रतिशत थियो।

फाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म निष्क्रिय कर्जा १०.८४ प्रतिशत पुगेको छ । पहिलो त्रैमाससम्म १ खर्ब ३३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब दुई अर्ब ७१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुले १ खर्ब १४ अर्ब ८२ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। जसमध्ये औसत ८.३७ प्रतिशत निष्क्रिय कर्जा थियो।