बैंकिङ खबर/ कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको वित्तीय अवस्था धरासायी भइ राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको भोलिपल्टै चलखेल गरी सेयरमूल्यमा अपर सर्किट लगाइएको विषयमा धितोपत्र बोर्डले अनुसन्धान थालेको छ।
राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरी नयाँ निक्षेप संकलन, थप कर्जा प्रवाह तथा नयाँ बचत खाता खोल्न ६ महिनासम्म रोक लगाउँदै शीघ्र सुधारात्मक कारबाही गरेको भोलिपल्टै केही समूहको मिलेमतोमा कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लगाइएको थियो । सोही विषयमा धितोपत्र बोर्ड एक्सनमा उत्रिदै सो दिनको कारोबारको विवरण बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्जसँग मागेको हो ।
धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार बिहीबार नै नेप्सेलाई एक पत्र लेख्दै कर्णाली डेभलपमेन्ट बैंकको शीघ्र सुधारात्मक कारबाही गरेको भोलिपल्टको सेयर कारोबारको विवरण मागिएको जानकारी दिए ।
नेपाल राष्ट्रबैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले २०८१ मंसिर ११ गते एक सूचना प्रकाशित गर्दै कर्णाली डेभलपमेन्ट बैंक लिमीटेडलाई थप निक्षेप लिन तथा कर्जा प्रवाह गर्न र नयाँ निक्षेप खाता खोल्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको बताएको थियो ।
कर्णाली डेभलपमेन्ट बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा यस बैंकले तोकेबमोजिमको न्यूनतम पूँजीकोष अनुपात कायम नहुने, निस्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारण देखाउँदै केन्द्रीय बैंकले कारबाही गरेको भोलिपल्टै सो बैंकको सेयरमूल्यमा अपर सर्किट लगाइएको थियो ।
सो दिन बैंकको २ लाख ५० हजार ४३९ कित्ता २० करोड १३ लाख बढीमा कारोबार भएको थियो । सो दिन ब्रोकर नम्बर ४१ र ७२ बाट कर्णाली डेभलपमेन्ट बैंकको सेयर बढी कारोबार भएको थियो । सो दिन कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा अपर सर्किट लाग्दा ७६.९० रुपैयाँले मूल्य बढी प्रतिकित्ता सेयरमूल्य ८४५.९० रुपैयाँ पुगेको थियो ।