बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले आफ्नो वेबसाइटमा मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो।
केन्द्रीय बैंकले वार्षिक मौद्रिक नीतिपछि त्रैमासिक र अर्धवार्षिक समीक्षा पनि ल्याउने गर्छ। त्रैमासिक र अर्धवार्षिक मौद्रिक सीमक्षा भने त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने गरिन्छ। सोहीबमोजिम केन्द्रीय बैंकले आज समीक्षा ल्याएको हो।
मौद्रिक समीक्षा ल्याउन राष्ट्र बैंकको बोर्ड (सञ्चालक समिति)को बैठक साढे ८ बजेबाट बसेको थियो। बैठकमा सकिनासाथ मौद्रिक समीक्षा सार्वजनिक गरिएको हो।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक समीक्षा तयार पारेर बुधबार व्यवस्थापन समितिमा पठाएको थियो। व्यवस्थापन समितिमा पनि समीक्षाबारे छलफल भएपछि सञ्चालक समितिमा पठाइएको थियो।
राष्ट्र बैंकले समीक्षा जारी गर्दै विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई .३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखेकाे छ ।
केन्द्रीय बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको जनाएको छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको मौद्रिक नीतिमा उल्लेख छ । राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामा कुनै नीतिगत परिवर्तन भने गरेको छैन ।
विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको नीतिमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक औसत मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र रहने अनुमान केन्द्रीय बैंकले गरेकाे छ ।
आर्थिक वर्ष २०८१/८२ मा विस्तृत मुद्राप्रदाय १२.० प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १३.३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले वृद्धि भएको छ ।
FIRST-QUARTER-REVIEW-81-82-final-draft-after-board-1