बैंकिङ खबर/वाणिज्य बैंकहरुको खुद निष्क्रिय कर्जा अनुपात (नेट एनपीएल) १.४८ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको प्रमुख वित्तीय सूचक सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कुल निष्क्रिय कर्जा अनुपात ४.२८ प्रतिशत छ । तर, उनीहरुको खुद निष्क्रिय कर्जा अनुपात भने १.४८ प्रतिशत मात्रै देखिएको छ ।
बैंकहरुले निष्क्रिय कर्जाबापत तोकिएको सीमामा कर्जा नोक्सानी व्यवस्था अर्थात् प्रोभिजनिङ राख्ने गर्छन् । त्यसरी प्रोभिजनिङ राखिएको रकमलाई हटाएर नेट एनपीएल निकालिएको हो ।
हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । राष्ट्र बैंकले गत आवको दोस्रो त्रैमास अर्थात् पुस मसान्तदेखि वाणिज्य बैंकहरुको नेट एनपीएल गणना गर्न सुरु गरेको थियो । त्यसबेला बाणिज्य बैंकहरुको नेट एनपीएल १.१३ प्रतिशत थियो । गत चैत मसान्तमा भने त्यो १.१४ प्रतिशत र असार मसान्तमा १.०६ प्रतिशत थियो ।
अहिले असोज मसान्तम्म आउँदा त्यो थप बढेर १.४८ प्रतिशत पुगेको हो । बैंकहरुको निष्क्रिय कर्जा अनुपात बढ्दै गएपछि खुद निष्क्रीय कर्जा अनुपात पनि बढेको हो ।
विशेषगरी पछिल्लो समय देखिएका आर्थिक शिथिलताका कारण बैंकहरुका केही कर्जाहरु असुल हुन सकेको छैनन् । सोही कारण गत आवदेखि बैंकहरुमा निष्क्रिय कर्जा अनुपात बढ्दै गएको छ । गत असारमा बैंकहरुले निष्क्रिय कर्जा अनुपात केही घटाएपनि असोजसम्म आउँदो त्यो पुनः बढेको छ । त्यसले खुद निष्क्रीय कर्जा अनुपात पनि बढाएको देखिन्छ ।
निष्क्रीय कर्जा अनुपात र खुद निष्क्रिय कर्जा अनुपात जति कम हुन्छ, त्यति नै राम्रो मानिन्छ । तथ्यांकअनुसार सबैभन्दा कम खुद निष्क्रिय कर्जा नेपाल एसबीआई बैंकको देखिएको छ ।
उक्त बैंकको खुद निष्क्रिय कर्जा ०.२८ प्रतिशत छ । दोस्रो नम्बरमा भने एभरेष्ट बैंक रहेको छ, उक्त बैंकको खुद निष्क्रिय कर्जा ०।३३ प्रतिशत छ । तेस्रो स्थानमा भने स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । समीक्षा अवधिमा उक्त बैंकको खुद निष्क्रीय कर्जा अनुपात ०.७३ प्रतिशत छ ।
समीक्षा अवधिमा सबैभन्दा धेरै खुद निष्क्रिय कर्जा अनुपात भने सिटिजन्स बैंकको छ । उक्त बैंकमा कुल निष्क्रिय कर्जा अनुपात ५.४१ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा अनुपात भने २.३९ प्रतिशतमा कायम भएको छ । अन्य बैंकको तुलनामा सिटीजन्स बैंकले प्रवाह गरेको कर्जामा धेरै जोखिम भएको देखिन्छ ।