November 24th, 2024

मौद्रिक नीतिको समीक्षा यही साताभित्र ल्याउने राष्ट्र बैंककाे तयारी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा यही साताभित्र ल्याउने तयारी गरेकाे छ। बैंकले हरेक आर्थिक वर्षको सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनैपर्छ।

केन्द्रीय बैंकले हरेक त्रैमासिक र अर्धवार्षिक मौद्रिक समीक्षा पनि ल्याउनुपर्छ। त्रैमासिक र अर्धवार्षिक मौद्रिक सीमक्षा भने त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने गरिन्छ।

राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलका अनुसार अहिले आर्थिक अनुसन्धान विभागमा मौद्रिक समीक्षा तयार गर्ने काम भइरहेको छ।

समीक्षा यही साताभित्रै आउने तयारी गरिएकाे छ। अहिले अर्थतन्त्र पनि सकारात्मक नै आउन सक्ने जानकारहरु बताउँछन्। बैंकमा तरलता थुप्रिँदै गएको र कर्जा प्रवाहले गति लिन नसकेकोले तरलता व्यवस्थापनका लागि पनि थप केही सहज व्यवस्था आउन सक्ने उनीहरुको भनाइ छ।

शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको सीमा हटुन पर्ने र कर्जामा लगाइएको जोखिम भार १०० प्रतिशतमा झार्नुपर्ने लगानीकर्ताको माग छ। यो माग पनि मौद्रिक समीक्षामार्फत सम्बोधन हुने अपेक्षा लगानीकर्ताहरुको छ।