November 24th, 2024

चार महिनामा एक खर्ब १२ अर्ब बढ्यो कर्जा प्रवाह

बैंकिङ खबर/ चालु आवको चार महिना कात्तिकसम्ममा बैंकहरूबाट जाने कर्जा प्रवाह एक खर्ब १२ अर्ब रुपैयाँले बढेको छ। अन्य महिनाको तुलनामा कात्तिकमा भने एक अर्बले कर्जा प्रवाह घटेको बैंकरहरूले बताएका छन् ।

असोज मसान्तसम्म वाणिज्य बैंकहरूले ४६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा कात्तिकमा एक अर्बले घटेर ४६ खर्ब ८१ अर्ब पुगेको छ। गत असार मसान्तसम्ममा वाणिज्य बैंकहरूले ४५ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

त्यसपछि कर्जा प्रवाह क्रमशः बढ्दै आएको छ। कात्तिकमा भने एक अर्बले घटेको हो। गत साउनमा २ अर्बले कर्जा प्रवाह बढेकोमा भदौमा ५४ अर्बले बढेको थियो । असोजमा ५६ अर्बले कर्जा बढेको हो। कात्तिकसम्ममा आउँदा कर्जा प्रवाह ४६ खर्ब ८१ अर्ब पुगेको छ। यो चार महिनाभित्रमा एक खर्ब १२ अर्बले बढेको हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ (२.५ प्रतिशत) ले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ९ अर्ब ३ करोड रुपैयाँ (२.३ प्रतिशत)ले कर्जा बढेको थियो । गत आवको र अहिलेको असोजसम्ममा कर्जा प्रवाह निकै सुस्त वृद्धि भएको छ । असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ खर्ब ७० अर्ब रुपैयाँ (२.६ प्रतिशत) ले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ (२.८ प्रतिशत) ले बढेको थियो । अहिले बैंकिङ प्रणालीमा करिब ७ खर्ब रुपैयाँ तरलता छ । यो रकम लगानी गरेर सरकारले रोजगारी सिर्जना र विकासका काम गर्ने अवसर भए पनि त्यसो हुन सकेको छैन ।