November 22nd, 2024

क्रेडिट रेटिङः बैंकलाई प्रत्यक्ष फाइदा

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले विदेशबाट ल्याउने ऋणको ब्याजदर १.५ प्रतिशतसम्म घट्ने भएको छ । नेपालले ‘सार्वभौम क्रेडिट रिपोर्ट’ प्राप्त गरेसँगै यो अवस्था बनेको हो ।

नेपालको क्रेडिट रेटिङ गरेको फेच एजेन्सीका लागि नेपाली सल्लाहकार स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत गोरखशम्शेर राणाका अनुसार जोखिम प्रिमियम घट्दा यस्तो ब्याजदर घट्ने भएको हो ।

अहिले विदेशी वित्तीय संस्थाले नेपालको बैंक तथा वित्तीय संस्थालाई ऋण दिँदा ४.५ प्रतिशतसम्म जोखिम प्रिमियम थप्ने गरेको उनी बताउँछन् । रेटिङ नहुँदासम्म ऋणदाताले ऋण दिँदा सबैभन्दा तल्लो रेटिङ अर्थात् सी रेटिङका आधारमा प्रिमियम लगाउँदै आएका थिए ।

अहिले प्राप्त भएको रिपोर्टमा डबल–बी माइनस रेटिङ पाएपछि यसको प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय संस्थालाई पर्ने भएको हो ।